चितवन- बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहामा नेपाल औषधि व्यवसायी संघको ५२औँ केन्द्रीय वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालको अध्यक्षतामा सम्पन्न उक्त गरिमामय तथा ऐतिहासिक साधारण सभाको उद्घाटन सत्रमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएीको हो । साधारण सभामा औषधि व्यवसाय क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा भविष्यको दिशाबारे गहन छलफल गरिएको थियो।
प्रमुख अतिथि ढकालले आफ्नो मन्तव्यमा औषधि व्यवसायलाई मर्यादित, व्यवस्थित र गुणस्तरीय बनाउन सरकार र व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले औषधि आपूर्ति प्रणालीमा पारदर्शिता, नियमन र जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
सभामा संघका केन्द्रीय अध्यक्ष खण्डेलवालले संगठनको विगतको यात्रा, उपलब्धि र भावी कार्यदिशाबारे प्रकाश पार्दै औषधि व्यवसायीहरूको हक–हित संरक्षण, पेशागत मर्यादा र संस्थागत सुदृढीकरणप्रति संघ प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो।
कार्यक्रमको सञ्चालन संघका केन्द्रीय महासचिव श्रीधर खनालले गर्नुभएको थियो। साधारण सभामा देशभरका प्रतिनिधि, औषधि व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यसै अवसरमा शुक्रबार बिहान सौराहामै संघको केन्द्रीय कार्यसमितिको १०औँ बैठक सम्पन्न भएको थियो। बैठकहरूमा संगठनात्मक विषय, नीतिगत प्रस्ताव, आगामी कार्ययोजना तथा विभिन्न समसामयिक मुद्दामा छलफल गरी आवश्यक निर्णयहरू गरिएको थियो ।
साधारण सभाले संघलाई अझ सशक्त, संगठित र जिम्मेवार बनाउँदै औषधि व्यवसाय क्षेत्रलाई समयानुकूल अघि बढाउने विश्वास व्यक्त गरेको छ।
उद्घाटन सभामा कसले के बोले ?
नेपाल औषधि व्यवसायी संघको ५२ औं साधारण सभामा कसले के भने ? (पूर्ण पाठसहित)
नारायण ढकाल
महानिर्देशक, औषधि व्यवस्था विभाग
मञ्चमा आसीन औषधि व्यवसायी संघ विहार प्रदेशबाट आउनुभएका विहारका व्यवसायी संघका प्रतिनिधि, लगायत सम्पूर्ण महानुभावहरू, उपस्थित सम्पूर्ण व्यवसायी साथीहरू, मेरा सहकर्मी, साथै उपस्थित पत्रकार मित्र–बन्धुहरू सबैमा हार्दिक अभिवादन नमस्कार।
म एउटा अनौठो खालको असमञ्जसमा छु। यो एनसीडीएको वास्तवमा सबै खाले कार्यक्रममा सायद छुटाएको पनि छु होला कतिपय, तर प्रायःजसो मुख्य कार्यक्रममा चाहिँ उहाँहरूको एजीएममा मेरो टेनरका बेला हरेकमा पार्टिसिपेट गर्ने मौका पाएको छु। यो अवसर यहाँहरूले दिनु भएकोमा म सधैं आभारी छु।
तर हरेक पटक फेरि उही प्रश्नहरू आउँछन्, तिनै प्रश्नहरू फेरि दोहोर्याएर बोल्नुपर्ने हुन्छ। त्यो चाहिँ एउटा अनौठो खालको असमञ्जस्यता म जहिले पनि फिल गरिराखेको हुन्छु।
अर्को कुरा के छ भने सबै साथीहरू एट हार्ट साह्रै राम्रा हुनुहुन्छ। व्यवसायी मित्रहरू भावनात्मक दृष्टिकोणबाट हेर्दा कुरा गर्दा सौहार्द पनि देखिन्छ।
तर जब हामी प्रोफेसनल सुधारको कुरा गर्छौं, त्यहाँ चाहिँ कसैको पनि पाइला चालेको अवस्था देखिँदैन। यही नै मेरो असमञ्जस्यता हो।
मप्रति पनि यहाँहरूले यस्तै प्रश्न गर्नुहोला। अघि उहाँले कुर्सी पनि नहाँसोस् भन्नुभयो। अब कुर्सी हाँस्नुपर्ने अवस्था किन आयो भने, हामी तपाईंहरूसँगै–सँगै काम गर्ने हो। यत्रो लामो समय भयो औषधि व्यवसायी संघसँग मेरो संगत।
अहिले यहाँ प्रकाशजीलाई देखिरहेको छु। प्रकाशजी त्यतिबेला बागमतीको अध्यक्ष हुनुहुन्थ्यो। मृगेन्द्र मेयरजी त्यतिबेला जनरल सेक्रेटरी हुनुहुन्थ्यो।
म यो प्रसंग किन जोड्दैछु भने पारसमणि बराल अध्यक्ष हुँदा हामीले मिलेर नेपालमा जीएमपी लागू गर्ने भनेर बनाएको जीएमपी आज पनि यही मञ्चबाट बोल्दै गर्दा यहाँहरूले कतिवटाले जीएमपी प्राप्त गर्नुभयो भनेर सोध्दा ठूलो ‘शून्य’ को अवस्था छ।
यो असमञ्जस्यतामा कहिलेकाहीँ म यो मञ्चमा उभिँदा तपाईंहरूले सम्पूर्ण संकटको मोचन भन्नुहुन्छ, तर यस्तो अवस्थामा कसरी संकट मोचन हुन्छ? सुधार त मिलेरै गर्नुपर्ने रहेछ नि। मैले गर्नुपर्ने सुधार मैले गर्नुपर्ने, तपाईंहरूले गर्नुपर्ने सुधार तपाईंहरूले गर्नुपर्ने। यो त सबै मिलेर गर्नुपर्ने विषय रहेछ।
त्यसैले हामी दुवै पक्ष नै संकट मोचनका मुख्य एक्टर हौं। यो कुरा यहाँहरूले मनन गरिदिनुहोस्।
मैले अघिल्लो वर्षको तपाईंहरूको एजीएममा पनि भनेको थिएँ—लास्ट इयर—अब नेक्स्ट इयर आउँदा तपाईंहरूको औषधि व्यवसायी संघका कम्तीमा १५–२० जना त जीएमपी सर्टिफाइड भइसकेका होलान्, जीएमपी लिएको देख्न पाइन्छ होला भनेको थिएँ।
एजीएममा सामान्यतया सबैले शुभकामना दिनुहुन्छ, म पनि आज शुभकामना दिन्छु। तर सौराहामा बसेर देशभरिका व्यवसायीहरू, नेतृत्व गर्ने व्यवसायीहरू जम्मा भएपछि कम्तीमा १० वटा पोइन्ट त निस्किनुपर्यो नि। ती १० वटा पोइन्ट नेक्स्ट इयर म यहाँ ल्याउँछु भन्ने प्लान हुनुपर्यो भने पो बसाइको मजा आउँछ, हैन?
डे–१ देखि बिहान ८ बजेदेखि म अफिसकै काम गर्छु। आज यहाँ आउनु पनि अफिसकै काम हो। तर सुधार भने समुद्रको छालजस्तै छ—छाल आउँछ, नाघ्न खोज्दा आफैं बगाइदिन्छ। फेरि जान्छु, फेरि छाल आउँछ।
किन नाघ्न सकिएको छैन भने हाम्रो माइन्डसेट नै चेन्ज एभर्स छ। परिवर्तन गर्नै नचाहने। सुधार गरेर अगाडि बढ्यौं भने सबै सकिन्छ, हामीले सुसाइड नै गर्नुपर्छ भन्ने खालको सोच छ। यस्तो माइन्डसेटबाट चल्दैन। चेन्ज गर्न रिस्क लिनुपर्छ।
हाम्रो समयमा केही चेन्ज गरौं न यो पेसामा। हामी भारतको उदाहरण लिन्छौं। भारतमा फास्ट चेन्ज भइरहेको छ। हामी पनि त्यहाँ जान्छौं, कति छिटो परिवर्तन भइरहेको छ। नेपाल यस्तो छ भनेर मात्र भनिरहने कि नेपाललाई परिवर्तन गर्ने?
यो पेसालाई मर्यादित पनि बनाउनुपर्यो, सुरक्षित पनि बनाउनुपर्यो। पेसाको सुरक्षा हुनुपर्यो, तर मर्यादा पनि उत्तिकै आवश्यक छ। यी दुई हेडमा राखेर तपाईंहरूले ५–१० वटा पोइन्ट बनाउनुहोस्। नेक्स्ट इयर त्यसलाई मेजर गरौं।
डेफिनेटली प्रवक्ता साथीले भन्नुभयो—हामी ओभरटास्क भएका छौं। काम वर्षेनी बढ्दै गएको छ, तर जनशक्ति उही छ, कानुन उही छ, फर्म्याट उही छ। यी सबैलाई समयानुकूल बनाउनु पर्छ।
दफा ११ को कुरा आज फेरि आयो। यो विषयमा मेरो भोल्युम अफ स्टेटमेन्ट आइसकेको छ। दफा ११ को संशोधन व्यवसायीको मागमै भएको हो। औषधि व्यवस्था विभागले प्रस्ताव गरेको होइन।
संसदले पास गर्दा परिवर्तन हुन सक्छ, किनभने त्यो अथोरिटी उहाँहरूकै हो। तपाईं–हामीले भोट दिएर पठाएका हौं।
अहिले नागरिक सरकार छ। अहिलेका मन्त्रीज्यूले यो प्रब्लेम सोल्भ गरौं भनेर हामी दुवै पक्ष मिलेर अगाडि बढेका छौं। तर व्यवसायीले मागेको धेरै कुरा संशोधनमा परेन।
म कन्फर्म गर्न चाहन्छु—संशोधनको प्रयास विभागबाट अगाडि बढिसकेको छ। सहजीकरण मैले गरिसकेको छु। मेरो कमिटमेन्ट पूरा गर्छु, अब तपाईंहरूले गर्नुपर्यो।
म ग्यारेन्टीका साथ भन्छु—हामी राम्रो इन्टेन्सनले काम गर्ने विभाग हौं। जनशक्ति कम छ, मान्छौं। तर हामी प्रो–पब्लिक र प्रो–स्टेकहोल्डर विभाग हौं।
औषधि उद्योग ४१ बाट ८६ पुगेको छ। रोजगारी डबल भएको छ।
क्वालिटी, सेफ्टी र एफिकेसीको सन्दर्भमा तपाईंहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ। नेपालको १०० प्रतिशत सप्लाइ तपाईंहरूबाटै हुन्छ। औषधिको ह्यान्डलिङ मुख्य रूपमा व्यवसायीले नै गर्नुहुन्छ।
एक्सपायरी डेट एसम्प्सनमा तय गरिन्छ। तर स्टोरमा त्यो कन्डिसन वर्षभरि मेन्टेन हुन्छ? हुँदैन। त्यसपछि औषधिले काम गर्दैन।
झोला बोक्ने पनि हामीमध्येकै मान्छे हुन्। झोले प्रवृत्ति हटाउन उत्तर हामीसँगै छ।
औषधि विभागले भनेको छ—फर्मल च्यानलबाट लिनुहोस्, फर्मल चेनमै बेच्नुहोस्। निगरानी मोडेलले मात्र समाधान हुँदैन, एथिक्समा आधारित सिस्टम चाहिन्छ।
कम्तीमा प्रण गर्नुस्—साँझपख पसल खोलेर बिना प्रेस्क्रिप्सन औषधि नदिनुहोस्। एन्टिबायोटिकको कुरा उठाउनै पर्छ।
सबै औषधि बेच्न नपाइने होइन। हाईली रिजर्भ्ड पाँचवटा इन्जेक्सनमार्फत मात्र दिने औषधि छन्। प्रेस्क्राइबरले पनि सोच्नुपर्छ।
यो पेसा सरस्वतीको पेसा हो—सेवाको पेसा। तर यहाँ लक्ष्मीलाई मुख्य बनाइयो, सरस्वतीलाई बाइ–प्रोडक्ट। त्यसैले पेसा प्रदूषित भयो।
इन्भेन्टरी कन्ट्रोल अत्यन्त कमजोर छ। ८–१० महिना पैसा रिटर्न हुँदैन। यसले सबै चेनलाई बिगारेको छ।
यो एजीएमको क्रक्स यही हो—बेस्ट प्राक्टिस। किन एक महिना वा ४५ दिनको फिक्स पिरियड बनाउन सकिँदैन?
यो फोरममा भएका साथीहरूले सहयोग नगर्ने कारण छैन। त्यसैले वातावरण बनाउनु पर्छ—नेपाली औषधिले काम गर्छ भन्ने वातावरण। “नेपाली औषधिले काम गर्दैन” भन्ने धारणासँग पनि लड्नुपर्छ।
त्यही भन्दै म विदा हुन्छु।
धन्यवाद।
प्रकाशकुमार खण्डेलवाल
अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ
औषधि व्यवसायीहरूको मागप्रति सकारात्मक हुँदै माननीय मन्त्रीज्यू र स्वयं स्वास्थ्य सचिवज्यूको आग्रहमा भएको सहमति कार्यान्वयन गर्न गराउन औषधि व्यवस्था विभागका महानिर्देशकज्यू मार्फत् माग गर्दछु। हाम्रो सूची अहिले पूर्ण भइसकेको छैन, त्यसमा एउटा बुँदा बाँकी छ, त्यसलाई पनि पूर्ण गराउनको लागि म महानिर्देशकज्यू लाई फेरि अनुरोध गर्न चाहन्छु। आदरणीय महानिर्देशकज्यू र विशिष्ट अतिथिज्यू, औषधि व्यवसायी देशको अर्थतन्त्रका प्रमुख सारथि हुन्। अर्थशास्त्रको सिद्धान्तले भन्छ पूँजी परिचालन, क्यापिटल मोबिलाइजेशन, पूँजी परिचालनमा आज औषधि व्यवसायीले गरेको लगानीले नै आज राज्यको स्वास्थ्य सेवा राम्रो भएको सम्भव भएको छ। यसरी हामी आफ्नो व्यवसायिक धर्म र आर्थिक दायित्व पूरा गरिरहँदा राज्यबाट प्रोत्साहन मिल्नुको साटो एकाङ्की सोचको आधारमा निर्णय लिने परिपाटी मुलुकको अर्थतन्त्रमा गम्भीर छ। यसले औषधि व्यवसायीलाई मात्र नभई देशलाई नै आत्मनिर्भर बनाउन सक्छ। बिरामीले सास्ती पाइरहेका छन्। म सरोकारवालासँग बीमाको भुक्तानी तत्काल गरियोस् र विस्थापनको यो अव्यवहारिक नीति सच्याउन जोडदार माग गर्दछु।
सरकारको नीति र प्राथमिकता तथा व्यवसायीहरूको वास्तविकता, आवश्यकता बीचको ग्यापका कारण ठूलो पूँजी अनुत्पादक क्षेत्रमा थुप्रिन गई पूँजी प्यारालाइज हुने स्थिति सिर्जना भएको छ। त्यसैले सरकार तथा सम्बन्धित निकायहरूले स्पष्ट नीति बनाई विद्यमान व्यापार व्यवसायको दायरा र लगानीमा विस्तार हुने वातावरण सिर्जना गर्नुपर्दछ। यथार्थपरक, वस्तुनिष्ठ र व्यवहारिक नीति निर्माणका लागि संघ, राज्य र विभागलाई आवश्यक राय सुझाव दिन संघ सधैँ तत्पर रहेको छ। यो चाहिँ यसैको आधारमा जुन हाम्रो मुलुकको जति चाहिँ उत्पादन क्यापासिटी छ, त्यो उत्पादन क्यापासिटीलाई हामी प्रयोग गर्न सकेका छैनौँ। कुनै हरेक फ्याक्ट्री २४ घण्टा चल्नुपर्ने, त्यसलाई चलाएका छौँ हामी हार्डली ६ घण्टा ७ घण्टा। त्यो पनि कतिपय फ्याक्ट्रीहरू चलेका छैनौँ। त्यसले गर्दा पूँजीहरू जम्मै त्यहाँ स्क्र्याप भइराख्या छ हाम्रो। त त्यसलाई चाहिँ गर्नको लागि यहाँ अरू विदेशबाट पैठारी हुने प्रोडक्टहरू यहीँ निर्माण हुन सकियोस्, त्यस्तो चाहिँ व्यवस्था यहाँ गर्नुपर्ने हुन्छ। तब मात्रै त्यो पूँजीको पूर्ण सदुपयोग हुन जान्छ, अन्यथा हाम्रै मुलुकको पूँजी त यसरी स्क्र्याप भएर विदेशमा त पुगिहाल्छ ।
सार्वजनिक सेवा प्रवाहलाई जटिल बनाएर देशका युवाहरूलाई निराश बनाउँदाको गम्भीर परिणाम मुलुकले बेहोरिसकेको छ। अब पनि उ र जातिको नाममा जनता झुक्याउने शासकहरूको नीति दोहोर्यो भने स्थिति भयावह बन्ने र देश एक अस्थिरताको चक्रब्युहमा फस्ने तर्फ सरोकारवाला पक्षहरू सचेत हुनुपर्दछ। व्यवसायी मित्रहरू, स्वास्थ्य सेवाको अभिन्न अङ्गको रूपमा रहेको औषधि व्यवसायमा हामीले गरेको लगानी जनस्वास्थ्यसँग समयमै जनतालाई उपलब्ध गराउने हाम्रो दायित्व केवल व्यवसाय मात्र नभई सामाजिक र नैतिक जिम्मेवारी पनि हो। राज्यको उपस्थिति होस् वा नहोस्, हामीले हाम्रो व्यवसायिक धर्म कहिल्यै भुल्नु हुँदैन। उच्च नैतिकता कायम राख्दै देश र जनताको सेवामा समर्पित हुन म सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गर्दछु।
भूकम्प, नाकाबन्दी, कोभिड १९ जस्ता विगतका थुप्रै चुनौतीपूर्ण र विषम परिस्थितिहरूमा औषधि व्यवसायीहरूले देखाएको प्रतिबद्धता, साहस र सेवा भाव नेपाली समाजमा प्रशंसनीय गराउन सफल भएकोमा म यस सदस्य व्यवसायीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। संघको सांगठनिक सुदृढीकरण, सदस्यहरूको क्षमता अभिवृद्धि, व्यवसायिक मर्यादा र एकताको प्रवर्द्धनलाई हामीले महत्त्व दिएका छौँ। फार्मेसी अध्ययन गरेका सयौँ युवा व्यवसायी संघको सदस्य बन्नु र नेतृत्वमा समेत आउनु हाम्रा लागि गौरवको विषय हो।
नेपाल औषधि व्यवसायी संघ औषधि थोक र खुद्रा औषधिहरू मात्रको संगठन होइन, यो त सबै खाले औषधिहरूको छाता संस्था हो भन्ने कुरा स्थापित भइसकेको छ। नव युवाहरूको सहभागिता सुहाउँदै बढाउँदै अग्रजको अनुभव र युवाको नयाँपन मिलाउन सकेमा आगामी दिनमा यस संघ अझ सशक्त बन्ने बुझाइ हाम्रो रहेको छ।
औषधिको अवैध कारोबार, म्याद नाघेका औषधि, औषधिको अनाधिकृत बिक्री जस्ता समस्या नियन्त्रणको लागि हामी नियामक निकाय र प्रशासनलाई सहयोग गर्न तयार छौँ। हामी पनि यहाँ यसको लागि महानिर्देशकज्यूलाई म अनुरोध गर्न के चाहन्छु भने तपाईंले यो औषधि दर्ता प्रक्रिया नयाँ नयाँ औषधिहरू हस्पिटलमा चाहिने डाक्टरलाई धेरै किसिमको औषधि चाहिन्छ, तिनीहरू पनि बाध्य भएर त्यो झोलेवालाहरूसँग मगाउनको लागि बाध्य भइरहेको छ। र त्यो एउटा चाहिँ प्यारलल अर्थव्यवस्था भइसक्या छ हामीकहाँ औषधिको। त्यसलाई चाहिँ अब डाक्टरले चाहिन्छ भने तुरुन्तै त्यहाँ दर्ता गराइदिनु पर्यो वा सिफारिस दिएर मगाइदिनु पर्यो, नत्र बजारमा चाहिँ त्यस्तै अनाधिकृत व्यापार धेरै बढिरहेको छ, जसले हाम्रो मुलुकलाई नोक्सानी पुर्याउँछ। त्यो औषधि नक्कली आएको हो कि त्यो ठेगान पनि हुँदैन।
नेपाल औषधि व्यवसायी संघको केन्द्र, प्रदेश र जिल्ला शाखा संयन्त्रमार्फत् संस्थागत र व्यक्तिगत रूपमा व्यवसायीद्वारा विभिन्न सामाजिक क्रियाकलाप र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने गरिएको छ। विशेष गरी संघको स्थापना दिवसको अवसरमा देशभर स्वास्थ्य शिविर कार्यक्रम, सरसफाई तथा वृक्षारोपण कार्यक्रम जस्ता परोपकारी कार्यहरू गरिरहेका छन्। त्यसका साथै व्यक्ति, समूह र संघ संस्थाहरूलाई निःशुल्क रूपमा औषधि, स्टेशनरी सामान, टेष्ट किट, फष्ट एड किट लगायतका लाखौँका सामग्रीहरू वितरण गर्दै आएको छ। साथीहरू, हामीले निर्माण गरेका हाम्रा विधान, नियमावली र कार्यविधिहरूलाई केन्द्रीय समितिले जारी गर्ने निर्देशन कसैलाई अंकुश लगाउन होइन बरु हामी औषधि व्यवसायीहरूको हकहित र सुरक्षाका लागि हुन्। त्यसैले यी विधि र प्रक्रियाहरूको प्रभावकारी कार्यान्वयन यहाँहरूको यहाँहरू सबैको इमानदार प्रतिबद्धता रहनेमा मैले विश्वास लिएको छु।
आजको डिजिटल युगमा हामीले सामाजिक सञ्जाल र सार्वजनिक संचार माध्यमको प्रयोग गर्दा विशेष सावधानी र मर्यादा अपनाउनुपर्ने समय आएको छ। आफ्ना व्यक्तिगत विचार र व्यवसायिक धारणाहरू सार्वजनिक गर्दा संस्थाको गरिमा र छविलाई ध्यानमा राखी अत्यन्तै जिम्मेवार भई प्रस्तुत हुन म यहाँहरूलाई विशेष अनुरोध गर्दछु। हाम्रा बीचमा केही नीतिगत, व्यवहारगत असहमति वा मतभेद हुन सक्छन्, जसलाई हामीले संस्थागत संयन्त्र भित्र बसेर हार्दिकताका साथ छलफल गरी समाधान गर्न सक्छौँ। तर बाह्य रूपमा संस्थालाई कमजोर बनाउने वा हाम्रो आपसी सद्भाव र एकतामा खलल पुर्याउने कुनै पनि गतिविधि कसैबाट पनि हुनु हुँदैन। हामी एकताबद्ध र अनुशासित भयौँ भने हामी मात्रै राज्य र नियामक निकायका अगाडि हाम्रा मागहरू दृढताका साथ पूरा गराउन सक्छौँ। तसर्थ संस्थाको दीर्घकालीन सुदृढीकरणका लागि हामी सबै जिम्मेवार र एकताबद्ध रहन म हार्दिक अपिल गर्दछु।
अन्त्यमा, कार्यव्यस्तताको बाबजुद संघको निमन्त्रणालाई सहर्ष स्वीकार गरी हामी औषधि व्यवसायीहरूलाई हौसला जगाउन र प्रेरणादायी मन्तव्य दिन कार्यक्रममा उपस्थित हुनुभएका औषधि व्यवस्था विभागका श्री महानिर्देशकज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरूमा म हार्दिक आभार व्यक्त गर्दछु। संघको ५२औँ केन्द्रीय वार्षिक साधारण सभा भव्य योजना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने चितवन जिल्ला शाखा कार्यसमिति र प्रदेश कार्यसमिति परिवारलाई म विशेष धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रमले सेवामुखी व्यवसायिक अभ्यासमार्फत् राष्ट्र निर्माण र जनस्वास्थ्यमा सकारात्मक योगदान गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्दै मेरो मन्तव्य यहीँ अन्त्य गर्दछु।
प्रभाकर कुमार
महासचिव, बिहार केमिष्ट एण्ड ड्रग एण्ड ड्रग एसोसिएसन
नमस्कार,
बिहारका सम्पूर्ण केमिस्ट दाजुभाइ तथा दिदीबहिनीहरूको तर्फबाट सन् २०२५ को यस गोधूली समयमा २५ र २६ डिसेम्बर २०२५ मा नेपाल, चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएशनको आम सभाको अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु। साथै, आउँदै गरेको नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना व्यक्त गर्दै, तपाईंहरू सबैको उत्तम स्वास्थ्य र समृद्धिको कामना गर्दछु।
साथीहरू, पर्वतराज हिमालयको काखमा अवस्थित देवाधिदेव महादेव पशुपतिनाथको पवित्र भूमिमा तथा मानवताको मार्गदर्शक भगवान् बुद्धको पावन जन्मभूमिमा आज आयोजना गरिएको नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएशनको आम सभामा उपस्थित हुन पाउँदा मेरा रौँ–रौँ पुलकित भएका छन्। मेरो हृदय भावनाले भरिएको छ र म हृदयको गहिराइबाट कृतज्ञता व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु।
मेरो लागि यो केवल औपचारिक सम्मान मात्र होइन, नेपाल र बिहारका केमिस्ट समुदायबीच रहेको गहिरो विश्वास, स्नेह र साझा जिम्मेवारीको प्रतीक हो।
नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएशनको यस सर्वोच्च संवैधानिक सभामा विशेष अतिथिका रूपमा बिहार केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएशनका अध्यक्ष श्री प्रसन्न कुमार सिंहज्यू र महासचिवका रूपमा मलाई आमन्त्रण गरिएकोमा म तपाईं सबैप्रति हृदयदेखि नै आभारी छु।
विशेष व्यवस्थाका कारण आज हाम्रो अध्यक्षज्यू आम सभामा उपस्थित हुन सक्नु भएन। तर, यो तपाईंहरूको प्रेम र अपनत्वको प्रमाण हो कि बीसीडीएका हाम्रो अनुज सदस्य तथा प्रधान सचिव श्री तरुण कुमारज्यू आज यहाँ तपाईंहरूको माझ उपस्थित हुनुहुन्छ।
मित्रहरू, नेपाल र बिहारबीचको आत्मीयता केवल शब्दमा सीमित छैन, बरु यहाँ र त्यहाँबीच पारस्परिक निर्भरता र गहिरो सम्बन्ध रहेको छ। प्राकृतिक तथा सांस्कृतिक धरोहरदेखि लिएर व्यापारिक सम्बन्धसम्म, भौगोलिक रूपमा हामी अलग देखिए पनि हाम्रो भावना एउटै छ।
यसको प्रमाण सन् १ जुन २००१ मा काठमाडौँको होटल शाङ्ग्रिलामा भारतको कश्मीरदेखि कन्याकुमारीसम्मका सम्पूर्ण राष्ट्रिय संस्था—अल इन्डिया केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएशनको द्विवार्षिक कार्यकारिणी समितिको बैठक सम्पन्न भएको थियो। उक्त कार्यक्रमको आयोजक संस्था बिहार केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएशन थियो र यसको सम्पूर्ण जिम्मेवारी हामीमाथि नै थियो।
तपाईंहरूको सहयोगका कारण राष्ट्रिय संगठनको ऐतिहासिक यात्रामा एउटा स्वर्णिम अध्याय थपिन पुग्यो। तर दुर्भाग्यवश, त्यही रात नेपालका राजपरिवारको हत्या भएको घटनाले अवस्था केही असहज बनेको थियो। त्यस कठिन परिस्थितिमा पनि यहाँबाट सुरक्षित रूपमा बाहिरिन तपाईंहरूले गर्नुभएको सहयोग र सहकार्य अत्यन्तै प्रशंसनीय छ। तपाईंहरूले प्रमाणित गर्नुभयो कि संगठन केवल विरोधका लागि मात्र होइन, व्यवस्था सुधारको प्रभावकारी माध्यम पनि हो।
हामी केवल औषधि मात्र दिँदैनौँ, हामी हौसला, भरोसा र मानवता पनि प्रदान गर्छौँ।
मलाई पूर्ण विश्वास छ कि यो महासम्मेलन नेपालका केमिस्ट परिवारका लागि केवल एउटा ऐतिहासिक उपलब्धि मात्र नभई, आगामी दिनमा देखापर्ने विभिन्न व्यापारिक चुनौतीहरूलाई आपसी एकता, सहयोग र समन्वयमार्फत समाधान गर्दै, व्यापाररूपी मानव सेवामा सदैव समर्पित रहने मार्गदर्शक बन्नेछ।
अन्त्यमा, नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएशनका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूप्रति म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको आत्मीयता, सम्मान र अपनत्व मेरो लागि अविस्मरणीय रहनेछ। यहाँको आतिथ्य सत्कारको मिठो सम्झना मनमा बोकेर फर्कँदैछु। यस वार्षिक आम सभाको सफलताका लागि तपाईं सबैलाई हार्दिक शुभकामना।
रामप्रसाद खरेल
केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं यस समारोहका संयोजक
जनस्वास्थ्यको क्षेत्रमा विगत ५२ वर्ष देखि क्रियाशील गौरवमय इतिहास बोकेको नेपाल औषधि व्यवसायी संघको ५२औँ वार्षिक साधारण सभाका आदरणीय अध्यक्ष ज्यु, कार्यक्रमका प्रमुख अतिथि ज्यु, विशिष्ट अतिथि ज्युहरू…
म यहाँहरूलाई मेरो व्यक्तिगत तर्फ देखि र नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यसमितिको तर्फ देखि न्यानो स्वागत गर्न चाहन्छु। औषधि उत्पादन, भण्डारण, बिक्री वितरणमा नीतिगत व्यवस्था र उचित मूल्य कायम गर्ने एउटा छुट्टै संरचना नभएको अवस्थामा हाम्रा अग्रजहरूको अगुवाइमा यो संघ स्थापना भएको हो।
औषधि व्यवसाय अत्यन्तै संवेदनशील व्यवसाय हो। यसलाई नैतिक र कानुनी मर्यादा भित्र रहेर सञ्चालन गर्नु हामी व्यवसायीहरूको कर्तव्य हो। औषधि ऐनको दफा ११ को संशोधन लगायतका हाम्रा मागहरूका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
हामीले व्यवसायीहरूको हकहित र जनस्वास्थ्यको सुरक्षालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ। यो ५२औँ वार्षिक साधारण सभाले नयाँ कार्यदिशा तय गर्नेछ भन्ने विश्वास लिएको छु।
ध्रुव नारायण श्रेष्ठ
बागमती प्रदेश अध्यक्ष
सर्वप्रथम यो ५२औँ केन्द्रीय साधारण सभाको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। खुशी लागेको छ कि यो नयाँ कार्यसमिति आएपछि केन्द्रीय साधारण सभा चाहिँ साधारण सभा गत वर्ष पनि राख्न सफल भयो भने यसपालि पनि अहिले हुँदै छ। वास्तवमै विधानले एउटा व्यवस्था गरेको, त्यसै व्यवस्था गरेको होइन किनभने यो साधारण सभा भनेको हामी सबैका गतिविधिहरूको मेची देखि महाकालीसम्मका हामी प्रतिनिधि व्यवसायी साथीहरूको जमघट गर्ने बेला हो, यहाँ चिन्तन गर्ने बेला हो, यहाँ छलफल गर्ने बेला हो र यो छलफलबाट एउटा निष्कर्षमा पुग्ने बेला हो। त्यही भएर विगतमा हामीले त्यो धेरै वटा साधारण सभामा भाग लिन पाएका थिएनौँ, अब चाहिँ लगातार भइरहेको छ। यो केन्द्रीय कार्यसमितिलाई धेरै धेरै धन्यवाद दिँदै आगामी केन्द्रीय कार्यसमितिले यसलाई निरन्तरता दिनुहुनेछ भन्ने पनि म अपेक्षा राख्न चाहन्छु र यो शुभकामना मन्तव्य भए पनि थोरै कुराहरू हाम्रा प्रमुख अतिथिज्यू यहाँ हुनुहुन्छ, थोरै कुरा राख्न चाहन्छु।
अस्ति भर्खरै हामीले नेपाल सरकारसँग एउटा सहमति गरेका थियौँ, औषधि ऐन दफा ३ र ५ को विषयमा। त्यो अध्यादेश लाने प्रक्रियामा छ त्यसमा अलिकति कुरा गरेँ र दोस्रो बुँदामा केही चाहिँ हाम्रो मन्त्रालयबाट औषधि व्यवस्था विभाग सरलीकरणको एउटा बुँदा पनि त्यसमा छ र औषधि व्यवस्था विभागले सरलीकरण पनि गरिरहेको अवस्था छ र कति ठाउँमा चाहिँ अहिले पनि त्यो सरलीकरण भएको छैन भन्ने कुरा छ हामीसँग। जस्तो अब वीरगञ्जमा अब मधेश प्रदेशमा चाहिँ दुइटै प्यान नम्बर राखेर अहिले दिइरहेको छ भनेर मलाई मधेश प्रदेशका महासचिवज्यूले पनि जानकारी गराउनुभएको छ भने अरू जस्तो काठमाडौँमा पनि भइरहेको छ भन्ने कुराहरू आइरहेको छ र अरू प्रदेशमा चाहिँ यो सरलीकरण भएको छैन भन्ने कुराहरू आएको हुँदाखेरि प्रमुख अतिथिजी आज यहीँ हुनुहुन्छ, त्यही भएर अरू चाहिँ हाम्रो औषधि व्यवस्था विभागमा यो विषयमा सरलीकरण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र यसै गरी एउटा अर्को थोरै विषय यो ओरिएन्टेसनले चाहिँ ओरिएन्टेसन गरेका साथीहरूले चाहिँ थोक व्यवसाय चाहिँ दर्ता गर्न पाइरहेको छैन भन्ने धेरै गुनासो छ।
काठमाडौँमा मात्रै दर्ता भइरहेको छ है, काठमाडौँमा दर्ता भइरहेको छ तर अरू हाम्रो औषधि व्यवस्था विभाग नेपालगञ्ज भनौँ, मधेश प्रदेशको वीरगञ्ज भनौँ, बिराटनगर भनौँ, त्यहाँ चाहिँ त्यो भइरहेको छैन भन्ने कुराहरू आएको हुँदाखेरि यसमा पनि सरलीकरणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र यति भन्दै अब यो समस्याहरू धेरै छन्, अब यो शुभकामना सन्देश भनौँ वा मन्तव्य भएको हुँदाखेरि पुनः एक पटक नेपाल औषधि व्यवसायी संघको ५२औँ साधारण सभाको सफलताको कामना गर्दै मेरो मन्तव्य यहीँ अन्त्य गर्दछु, धन्यवाद।
धर्मराज काफ्ले
कोशी प्रदेश अध्यक्ष
आज यस पर्यटकीय नगरी चितवनको सौराहामा वार्षिक साधारण सभामा उपस्थित हुन पाउँदा खेरि कोशी प्रदेश अत्यन्तै हर्षित भएर १५ गते अब चार दिन मात्रै बाँकी छ महानिर्देशकज्यू नै हुनुहुन्छ, उहाँलाई जसरी अघि हामीले भर्खरै पानसमा बत्ती बाल्दा जसरी तालीको गडगडाहटले उहाँलाई स्वागत गर्यौँ, त्यसै गरी आउँदै गरेको १५ गते पनि हाम्रा मागहरू पूरा भएको सुन्न पाएर उहाँ हामी उहाँलाई अझै देशभरका तमाम ३० हजार औषधि व्यवसायीहरू हामी आतुर छौँ उहाँलाई हाम्रा व्यवसायीहरूलाई पलायन हुनबाट बचाइदिनुहुने नै छ भनेर विश्वास छ, औषधि हामी तमाम औषधि व्यवसायीहरू दूर दराजमा ५० औँ ५२ वर्षदेखि हाम्रा अघिल्लो तीन चार पुस्तादेखि जुन व्यवसाय गर्दै आइरहेका छौँ, भोलिको दिनमा हामी पक्कै पनि अपग्रेडेड जुन छ डब्लुएचओको जुन मापदण्ड छ त्यही अनुरूप नै हामीले पनि हाम्रा आउँदै गरेका पिँढीहरूलाई त्यस्तै त्यही अनुरूप राज्यले जुन तरिकाले औषधि व्यवसायीहरू तयार हुनुपर्छ भनेर नियम नियमन गरिरहेको छ, त्यही अनुसार हाम्रा पनि छोराछोरीहरू तयार भइरहेको अवस्था छ, त्यसकारणले गर्दाखेरि वर्तमान अवस्थामा लाखौँ करोडौँ रुपैयाँ लगानी गरेर जोखिममा व्यवसाय गरिरहेका व्यवसायीहरूलाई विस्थापित गर्ने उद्देश्यले कुनै पनि विभेदकारी व्यवसायलाई पलायन हुने खालको नीतिहरू बाध्यकारी अवस्थामा लागू नगरोस् भन्ने विनम्र अनुरोध गर्दै मेरो भनाइ यहीँ टुङ्ग्याउँछु ।
शिवनाथ सिंह
मधेश प्रदेश प्रदेश अध्यक्ष
आज यो हाम्रो धेरै ५२ वर्षमा हामी प्रवेश गरिसक्या छौँ, ५२ वर्षको वार्षिक साधारण सभा हामी मनाइरहेका छौँ, त्यो पनि हाम्रो सौराहामा, यो एउटा ऐतिहासिक क्षण हो, यो ऐतिहासिक क्षणमा हाम्रा यो भन्दा अगाडि नै हाम्रा कोशीका अध्यक्ष धर्मराजजीले राखिसक्नुभएको छ कि हाम्रा आन्दोलनले केही सफलता त पाइसकेका छौँ तर त्यसको १५ गतेसम्म उहाँले महानिर्देशकज्यूले भन्नुभएको छ, समय तोक्नुभएको छ, त्यो हाम्रो औषधिको जुन म्याद नाघेको कुरा थियो, त्यो हाम्रो १५ गतेसम्म आउनेछ, त्यो उहाँले एउटा वचनबद्ध हुनुहुन्छ, त्यसलाई एउटा व्यवहारिक रूपमा आउनेछ भन्ने म आशा राख्दछु र बाँकी दर्ताका जुन दर्ता नविकरण वा रिन्यु वा सरलीकरणमा जुन बाधा अड्चनहरू हुन्छ त्यो उहाँले अवश्य सरलीकरण गरेर हामीहरूलाई लानुहुनेछ भन्ने हामी आशा राख्दछौँ।
यस्तै हाम्रा बिहारका महासचिवज्यू जुन आउनुभएको छ, त्यसमा मधेश प्रदेश र बिहार प्रदेश सँगै टाँसिएको हुनाले गर्दाखेरि हामीहरूका बीचमा आपसी र मैत्रीपूर्ण व्यवहार आगामी दिनमा पनि रहिरहनेछ र कुनै व्यवसायीलाई बिहारका बोर्डरमा वा नाकामा कुनै किसिमको केही भयो भने उहाँले सहयोग गरिदिनुहुनेछ भन्ने आशा राख्दै र आजको यो ऐतिहासिक साधारण सभा जुन मधेश र बागमती प्रदेश सँगै छौँ हामी, बागमती प्रदेशलाई यो साधारण सभा राख्न सफल हुनुभएकोमा म उहाँलाई धन्यवाद दिँदै मेरो शब्द यहीँ टुङ्ग्याउन चाहन्छु ।
केसरी प्रसाद तिवारी
गण्डकी प्रदेशका अध्यक्ष
नेपाल औषधि व्यवसायी संघ र औषधि व्यवस्था विभाग, सम्बन्धित विभाग, मन्त्रालय, अन्य सरोकारवाला निकायहरूसँग हामी जहाँ गएर जे जस्तो समस्या हामीलाई परेको कठिनाइहरू सुनाए तापनि अन्तिममा औषधि व्यवस्था विभाग नारायण ढकाल सरलाई सोध्नुपर्ने छ, उहाँसँग सल्लाह गर्नुपर्यो, उहाँसँग एकचोटी समय मिलाउनुस् त तपाईंहरूले भनेर हामीलाई टार्ने काम मात्रै गरेको छ, म आज यस सभामा के भन्न चाहन्छु भने हाम्रा औषधि व्यवसायीका समस्या सुनिदिने र यो समस्या हल गर्ने सम्बन्धित निकाय नै औषधि व्यवस्था विभाग नै हो र डीजी साब पनि हुनुहुन्छ, उहाँ सधैँ सकारात्मक स्वभावको जनस्तरमा आउनुहुनेछ भनेर आशा अपेक्षा गर्दै र यो ५२औँ वार्षिक साधारण सभाको पूर्ण सफलताको शुभकामना गर्दै आफ्नो छोटो मन्तव्य यहीँ अन्त्य गर्दछु ।
लुकराज न्यौपाने
लुम्बिनी प्रदेश अध्यक्ष
हामी ५२औँ वर्षमा प्रवेश गरिरहेका छौँ, धेरै लामो कुरा नगरिकन हामी व्यवसायीका समस्या समाधानका विषयमा छलफल गर्नका लागि हाम्रा नीति र कार्यक्रम बनाउनका लागि यो साधारण सभामा सहभागी भएका छौँ। त्यस कारणले आज हामी त्यता केन्द्रित हुन चाहन्छौँ .
सर्वप्रथम त म हामी पहिला अनुशासित व्यवस्थित हुने र हामी बीच एकता कायम गरेर जानुपर्ने पहिला हाम्रो जिम्मेवारी छ, त्यसमा हामी एकमत छौँ र सबै प्रदेश मिलेर हामी एकताबद्ध भएर हाम्रा समस्यासँग जुध्न र हामी भावी योजना बनाएर यसलाई व्यवस्थित र मर्यादित गर्न हामी तत्पर छौँ। दोस्रो कुरा हामीलाई नियमन गर्ने राज्य निकायले यदि व्यवसायी मैत्री बन्न सक्यो, यदि व्यवसायीलाई यहाँ टिकाउने व्यवस्थित गर्ने यहाँका उद्योग व्यवसायलाई व्यवस्थित गर्ने अभिप्रायले यदि राज्य तयार हुन्छ भने व्यवसायी पनि उत्साहित हुन्छन् । र त्यही राज्यले तोकेको र राज्यले तोकेको तिनै सबै कर भर्न नहुने किनभन्दा हाम्रो राज्य अभिभावक हो र जुन हाम्रा बीचमा जुन समस्याहरू आएका थिए, त्यसलाई राज्यले एक खालको सम्झौता गरेको छ ।
म नारायण सर इमानदार रूपमा प्रयास गरिदिनुभयो भने हाम्रा यी कुराहरू पूरा हुन्छन्, आज होला भोलि होला, आज पनि भूगोलको हिसाबले अरू कार्यालयहरू प्रादेशिक संरचनामा जाँदै गर्दा औषधि विभाग अझै पनि प्रादेशिक संरचनामा जान सकेको छैन । व्यवसायीले दुःख पाएका छन्, यसमा पनि यहाँको नजर पुगोस् र अरू जुन जुन कार्यालय थपेर हुन्छ हामीलाई अझै पनि अनुगमन नियमन र हाम्रा दर्ता प्रणालीमा अझै सहज हुने कुरामा पनि यहाँले भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा राख्दछौँ।
साथै आज सबै कुरा अनलाइनबाट भएर सबै प्रमाणपत्रहरू लिन सकिने अवस्थामा आज हाम्रो अनलाइनमा सबै व्यवस्था छ त्यहाँ सरकारको पनि स्थानीय सरकारहरू छ, हामी त्यहाँ हाजिर हुनुपर्ने हामी जीवित छौँ भन्ने कुरा हामीले पसल गरेका छौँ भन्ने कुरा प्रमाण पेश गर्नुपर्छ भने त्यहाँबाट गर्छौँ तर अनलाइनबाट भएर त्यहीँ आएर पैसा बुझाउनुपर्ने र त्यहीँ आएर रिन्यु गर्नुपर्ने कुरालाई पनि अन्त्य गरिदिनका लागि र तपाईंहरूको कार्यभार पनि कम गर्नका लागि म विनम्र अनुरोध गर्दै लागू बोले हामी व्यवसायी एकताबद्ध भएर हिजो जुन आन्दोलनको बेलामा यहाँहरू सबैले दिलाउनुभएको एकता प्रति लुम्बिनी प्रदेशको तर्फबाट यहाँहरू सबै प्रति हार्दिक सम्मान व्यक्त गर्दै आजका प्रमुख अतिथि अतिथिज्यूहरू सबैलाई स्वागत अभिवादन गर्दै मेरा भनाइहरू यहीँ अन्त्य गर्छु ।
प्रेम बहादुर भण्डारी
कर्णाली प्रदेश अध्यक्ष
यो विशिष्ट समारोहमा प्रदेश अध्यक्षहरूलाई पनि शुभकामना मन्तव्यको अवसर प्रदान गर्नुभएकोमा कार्यक्रमका आयोजकहरू प्रति म हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु। जुच्चे ढुङ्गो उही टुङ्गो भनेको जस्तो वास्तवमा आज जति धेरै कुरा गरे पनि अत्यन्तै अव्यवहारिक ढंगबाट र विवेकहीन ढंगबाट जुन औषधि ऐनको दफा ११ को ३ र ५ जारी गरियो, आज सबैको ध्यान त्यसैमा केन्द्रित भएको चाहिँ सन्दर्भ छ, त्यसै भइरहेका हामी तीनवटै औषधि व्यवसायी संघका छाता संगठनहरूको संघ र एकता पछि एउटै दफा देशभर संचालन भएको अत्यन्तै भद्र अनुशासित सभ्य र उपलब्धिमूलक आन्दोलन र आन्दोलनलाई अहिले हाल देशमा चुनावी सरकारका रूपमा स्थापित भएको चुनावी सरकारले जुन ढिलो भए पनि हाम्रा आन्दोलन र मागलाई सम्बोधन गर्ने जमर्को गर्यो, यसका लागि हामीले राज्यलाई अहिलेको सरकार प्रति हामीले सम्मान प्रकट गर्नुपर्दछ र उक्त आन्दोलन पछि जुन एउटा सहमति तीन बुँदे समझदारी सहमति जुन गरिएको अवस्था छ, आज सबै औषधि व्यवसायीहरू देशभरिका सबै औषधि व्यवसायीहरू त्यसमा केन्द्रित हुन र त्यसलाई अक्षरशः पालना गर्न, कार्यान्वयन गर्न र त्यसमा सबै पक्ष चाहिँ इमानदार भएर अगाडि बढ्नका निमित्त हामी औषधि व्यवसायीहरू आज चाहिँ सबै सजक सचेत र सबैको ध्यान त्यसैमा केन्द्रित भएको कुरा म यस सम्मानित सभा समक्ष राख्न चाहन्छु र सम्बन्धित निकाय राज्य, विशेष गरेर हामी अब विशेष गरेर आजका प्रमुख अतिथि समक्ष हामी केन्द्रित हुन चाहन्छौँ ।
यो समस्याको सुरुवात र यो समस्याको उठान नै हाम्रो औषधि व्यवस्था विभागबाट भएको भन्ने हाम्रो बुझाइ छ। यदि हाम्रो बुझाइ गलत छ भने यहाँले सच्याइदिनुहोला भन्ने हार्दिक अनुरोध गर्दछु। हामीसँग सरोकार राख्ने हामीलाई नियमन गर्ने औषधि व्यवस्था विभाग यसको यो समस्याको जड नै त्यहीँ छ भन्ने चाहिँ हामीलाई लागिरहेको छ। त्यसकारणले यसको समाधान पनि त्यहीँबाट सुरु हुनुपर्छ भन्ने चाहिँ हामी चाहन्छौँ र त्यसकारण हाम्रो राज्यसँग भएको जुन तीन बुँदे सहमति छ, यसलाई दायाँ बायाँ गरेर भनिएको दिनमा यसलाई दायाँ बायाँ गरेर यो वा त्यो बहानामा यसलाई जालझेलका माध्यमबाट यसलाई तुहाउने यदि प्रयास गरियो भने देशभरिका औषधि व्यवसायीहरूको तागत तपाईंलाई हामी देखाइदिनेछौँ। तयार रहनुहोला, हामी देखाइदिनेछौँ। अस्ति हामीले जति शिष्ट भद्र र अनुशासित आन्दोलन चाहिँ देशभर गरेर देखाएका छौँ तपाईंहरूलाई, हामीले शिष्टता पस्कन सकेका छौँ, भद्रता पस्कन सकेका छौँ, अनुशासन पस्कन सकेका छौँ, यी तीनै वटा कुरा उल्लंघन भयो भने हामी प्रस्तुत हुन सक्छौँ।
यस विषयमा म सबैको ध्यानाकर्षण गर्न चाहन्छु, हामी त्यो लेभलमा जान चाहँदैनौँ, हामी मर्यादित व्यवसायको चाहिँ वकालत गर्छौँ, हामी मर्यादित व्यवसाय र मर्यादित पेशाको चाहिँ चाहन्छौँ। त्यसकारणले संविधानले दिएका चाहिँ अधिकार पनि कुण्ठित हुने गरेर संविधानले दिएका अधिकारहरूको पनि यहाँ चाहिँ वास्ता नगरीकन चाहिँ आएको ऐन जुन छ दुनियाँमा कहीँ हुन्छ व्यवसाय ल ठिक छ, त्यो हाम्रो औषधिको अथवा हामीले पाएको चाहिँ अनुमतिको म्याद अगावै त नवीकरण गर्न सकिन्छ, त्यसको भोलिपल्टै डबल दस्तुर तिरेर अथवा चाहिँ दोब्बर चाहिँ जरिवाना भन्ने कहीँ हुन्छ? अनि ३० दिन नाघ्यो भने त खारेजै हुने र त्यसलाई व्यवसायबाट पलायन हुने नै कहीँ व्यवस्था हुन्छ? यस्ता अव्यवहारिक खालका चाहिँ कानुनहरू ल्याउँदाखेरि कानुन ल्याउने मानिसहरूले पनि यस विषयमा सोच्नुपर्छ, तपाईंहरूको विवेकको पनि हामी मूल्यांकन गरिराखेका छौँ।
नेपाली जनता पनि सुतेको छैन, सचेत छैन, तपाईंहरूले यसरी अन्डरएस्टिमेट गर्न पाइँदैन। त्यसकारणले म यो प्रदेश अध्यक्षहरूलाई चाहिँ सम्मान गरेर दिएको थोरै समयलाई धेरै यहाँहरू समक्ष हामी धेरै भाषण सुलिसकेका छौँ, भाषण हामीलाई मन पर्दैन, हामीले चाहिँ रिजल्ट मोटिभ्स र रिजल्ट ओरिएन्टेड कामहरूको चाहिँ हामी पक्षमा चाहिँ छौँ, त्यसकारण म धेरै लामो भाषण गर्न चाहन्न, भाषण नै गर्ने हो भने एक घण्टासम्म पनि भाषण गर्न सकिन्छ। भाषण चाहिँ आजको चाहिँ महत्त्वको विषय होइन, आज चाहिँ रिजल्ट ओरिएन्टेड कुरा चाहिँ हामीलाई चाहिएको अवस्था हो। त्यसकारणले सबै तहलाई सबै पक्षलाई आफ्नो ठाउँबाट इमानदार भएर चाहिँ अगाडि बढ्नका निमित्त म हार्दिकतापूर्वक अझै पनि अनुरोध गर्न चाहन्छु, हाम्रो अनुरोधलाई चाहिँ व्यवस्था गरिएको सधैँ व्यवस्था गरिएको अवस्थामा हामी चाहिँ हाम्रो शक्ति, हाम्रो तागतलाई चाहिँ एकपटक चाहिँ सडकमा ल्याएर चाहिँ देखाउन हामीलाई बाध्य नबनाइयोस् भन्न चाहन्छु, हस् धन्यवाद, नमस्कार।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष रितेश रिमाल
देशैभरिबाट पाल्नुभएका सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक साथीहरूमा सर्वप्रथम म व्यक्तिगत तर्फबाट र मेरो संघ नेपाल पशुपन्छी औषधि व्यवसायी संघको तर्फबाट यहाँहरू सबैलाई हार्दिक अभिवादन तथा नमस्कार टक्राउन चाहन्छु। भर्खरै कर्णाली प्रदेशका अध्यक्षज्यूले भन्नुभयो कि औषधि व्यवसायीका समस्या र जडका बारेमा।
पक्कै पनि औषधि व्यवस्था विभागले औषधि व्यवसायीलाई अलिकति समस्यामा पारेकै हो कि भन्ने जस्तो हामीलाई पनि लागेको छ, हामी पनि औषधि व्यवसायी नै हौँ, हामी पशुपन्छी तर्फका औषधि व्यवसायी हौँ, हाम्रा समस्या पनि एउटै एउटै नै छन्, हामी पशुपन्छी तर्फका औषधि व्यवसायीहरूको हक हितका लागि पनि यो संघले केही गरिदेला कि भन्ने हाम्रो अपेक्षा छ। र आजको यो ५२औँ वार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गर्दै म मेरा दुई शब्द यहीँ अन्त्य गर्दछु, धन्यवाद।
विनोद तिमिल्सिना
अध्यक्ष, चितवन जिल्ला शाखा
नेपाल औषधि व्यवसायी संघ केन्द्रीय समितिको ५२औँ वार्षिक साधारण सभाका सभापति केन्द्रीय अध्यक्ष श्री प्रकाश कुमार खण्डेलवालज्यू, त्यस्तै गरी यस साधारण सभाका प्रमुख अतिथि नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक आदरणीय नारायण ढकालज्यू र विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू र सम्पूर्ण प्रदेशका अध्यक्षज्यू लगायत सम्पूर्ण कार्यसमिति सदस्यज्यूहरू, त्यस्तै गरी विभिन्न जिल्लाबाट पाल्नुभएका सम्पूर्ण अध्यक्षज्यूहरू र कार्यसमिति र पर्यवेक्षक साथीहरूमा सर्वप्रथम त म सम्पूर्ण जिल्लाको तर्फबाट यस रमणीय नगरी सौराहामा यहाँहरूलाई म आतिथ्य शाखाको तर्फबाट र सम्पूर्ण जिल्लाको तर्फबाट यहाँहरूलाई म दिवाकालीन न्यानो नमस्कार टक्राउन चाहन्छु।
हामी यस चितवन जिल्ला र आतिथ्य शाखा भएको हुनाले हाम्रो यस बागमती प्रदेश र चितवन जिल्ला शाखाबाट जुन हामीलाई दिएको जिम्मेवारी छ हामीले त्यो पूरा गरे जस्तो लाग्छ। हजुरहरूलाई कुनै केही समस्या परेमा हाम्रो यस चितवन जिल्लाको कार्यसमितिका साथीहरू सबै हामी यहाँ उपस्थित भएका छौँ। यहाँहरूलाई यो दुई दिने बसाईको अवसरमा म चितवन जिल्लाको तर्फबाट यहाँहरूलाई कुनै पनि अप्ठ्यारो नपरीकन विशेष यहाँहरूलाई स्वागत गर्दै र हाम्रो यस बेलुकाको रमणीय सांस्कृतिक कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरूमा यहाँहरूलाई सरिक पनि भइदिनु हुन म अनुरोध गर्दछु र यस ५२औँ साधारण सभा केन्द्रीय ५२औँ साधारण सभा सफलतापूर्वक सम्पन्न होस् भन्ने मेरो व्यक्तिगत तर्फबाट र हाम्रो बागमती प्रदेश र सम्पूर्ण जिल्लाको अध्यक्षहरूको तर्फबाट यस ५२औँ वार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गर्दै मेरो दुई शब्द यहीँ अन्त्य गर्दछु ।



प्रतिक्रिया