काठमाडौँ, । राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्य ५८ वर्षे उमेरहदका कारण रासस सेवाबाट निवृत्त भएका छन् । वि।सं। २०४८ मङ्सिर ५ गते अधिकृतस्तर छैटौँ तहको समाचारदाता पदबाट सेवा प्रवेश गरेका नायव महाप्रबन्धक शाक्य यही पुस ९ गतेदेखि सेवा निवृत्त भएका हुन् ।
करिब ३४ वर्षको सेवाअवधिमा उहाँले राससको अन्तरराष्ट्रिय समाचार सम्पादन, समाचार सङ्कलन, नेपाली समाचार सम्पादन र सूचना प्रविधि शाखाको नेतृत्व सम्हालेको थियो । लामो समय राससको सम्पादकीय नेतृत्व सम्हालेका शाक्यले केही समय अङ्ग्रेजी समाचार सम्पादन शाखामा समेत काम गरेका थिए ।
अवकाश प्राप्त नायब महाप्रबन्धक शाक्यको आज रासस केन्द्रीय कार्यालयमा औपचारिक रुपमा बिदाइ गरियो । त्यस अवसरमा नायव महाप्रबन्धक शाक्यलाई रासस व्यवस्थापन, रासससम्बद्ध कर्मचारी सङ्घ, सङ्गठन र युनियन तथा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठानका तर्फबाट प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
बिदाइ कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससप्रति शाक्यको प्रतिबद्धता र समर्पण अनुकरणीय रहेको बताए । “नायब महाप्रबन्धक शाक्यले राससको हितलाई सर्वोपरि राखेर काम गर, राष्ट्रिय सङ्कटको चुनौतीपूर्ण घडीमा कुशल सम्पादकीय नेतृत्व बहन गरे,” उनले भने, “सूचना प्रविधिको विकास र रासस सङ्ग्रहालय स्थापनामा शाक्यको विशिष्ट योगदानलाई राससले सदैव सम्झने छ ।”
राससका महाप्रबन्धक सन्दीप राईले संस्थाले सुम्पिएको जिम्मेवारी इमानदारिता र निष्ठापूर्वक सम्पादन गर्नुभएका नायब महाप्रबन्धक शाक्यसँग समाचार सेवामा परम्परागत, आधुनिक र नवीनतम् प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको भण्डार रहेको बताए। शाक्यको पदचापलाई सम्पूर्ण राससकर्मीले अनुशरण गर्नुपर्ने उनको भनाइ थियो ।
नायब महाप्रबन्धक शाक्यले तीन दशक लामो आफ्नो सेवाकालमा भएका संस्थागत विकास, आइपरेका चुनौती, अनुभव र अनुभूति सुनाए। नेपाली पत्रकारिताको इतिहासमा राससको बेग्लै र विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उनले आफ्नो ओझलाई कामय राख्न स्रोतसाधन र सूचना प्रविधिको विकासमा ध्यान दिन सुझाव दिए ।
राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले संस्थाको श्रीवृद्धिमा शाक्यको विशिष्ट योगदान रहेको जनाउँदै संस्थागत हितका लागि उनको समर्पणलाई राससकर्मीले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरे ।



प्रतिक्रिया