बिस्मिल्लाहिर्रहमानिर्रहीम
आज ‘राष्ट्र निर्माण दल नेपाल’ को यस ऐतिहासिक घोषणा सभामा उपस्थित पार्टीका सम्पूर्ण पदाधिकारीज्यूहरू, केन्द्रीय कमिटीका सदस्यज्यूहरू, प्रदेशका अध्यक्ष तथा इन्चार्जज्यूहरू, विभिन्न जिल्लाबाट पाल्नुभएका अध्यक्ष एवं प्रतिनिधि साथीहरू, यस पार्टीप्रति आस्था र विश्वास राखेर यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय महानुभावहरूमा म हार्दिक नमस्कार एवं ‘अस्सलामु अलैकुम व रहमतुल्लाहि वबरकातुह’ टक्र्याउन चाहन्छु। र, आजैका दिनदेखि हाम्रो पार्टीको मूल मन्त्र हुनेछ— ‘जय राष्ट्र निर्माण!’
आज हामी देशको राजधानीस्थित यस राष्ट्रिय सभागृहबाट एउटा नयाँ अभियान, नयाँ जोस र नयाँ जाँगरका साथ उपस्थित भएका छौं। देशका विभिन्न कुना-काप्चा र जिल्लाहरूबाट उत्साहित भएर यस घोषणा सभालाई सफल पार्न पाल्नुभएका तपाईं सम्पूर्ण व्यक्तित्वहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यहाँ मैले विभिन्न भूगोल र समुदायको एउटा सुन्दर प्रतिविम्ब देखिरहेको छु।
म विशेष धन्यवाद दिन चाहन्छु, यस पार्टीको गठन प्रक्रियामा अहोरात्र खट्नुहुने हाम्रा संस्थापक अध्यक्ष र सम्पूर्ण साथीहरूलाई। जसले मलाई योग्य ठान्दै गत पुस ९ गतेदेखि यो गरिमामय अध्यक्षको जिम्मेवारी सुम्पिनुभयो, म यहाँहरूको यो विश्वासप्रति सधैं ऋणी रहनेछु।
आदरणीय जनसमुदाय,
नेपालमा धेरै पार्टीहरू छन्, धेरै नेताहरू छन्। यस्तोमा प्रश्न उठ्न सक्छ— ‘राष्ट्र निर्माण दल’ नै किन? यो पार्टीको उदय किन भयो?
यो सत्य हो कि नेपालका आम जनता कुनै न कुनै पार्टीको आस्थामा बाँधिएका छन् र चुनावमा भोट पनि दिइरहेकै छन्। तर, दशकौंदेखि विभिन्न राजनीतिक दलहरूले केवल आश्वासनका पोका मात्र बाँडे। आज ‘राष्ट्र निर्माण दल नेपाल’ को जन्म ती बाँडिएका आश्वासनहरूलाई पूरा गर्न र नेपाली जनताले देखेका अधुरा सपनाहरूलाई साकार पार्न भएको हो।
हाम्रो विचार र सोच अन्य दलहरूभन्दा पूर्णतः फरक छ। हाम्रो उद्देश्य व्यक्तिगत स्वार्थ वा फाइदा होइन; हाम्रो एक मात्र लक्ष्य जनताको हित, देशको विकास र समग्र राष्ट्रको निर्माण हो। त्यसैले त, आज हामीसँग सबै भूगोल, सबै जातजाति र सबै समुदाय गोलबद्ध भइरहेका छौं। यहाँ नेवार, यादव, थारु, दलित, मुस्लिम, खस-आर्य लगायत सबै समुदायको उत्साहजनक उपस्थिति छ। यो उपस्थितिले पुष्टि गर्छ कि हामी कुनै जातिवाद वा भूगोलवादको साँघुरो घेरामा छैनौं।
हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ— विगत लामो समयदेखि जुन समुदाय र वर्गलाई राज्यको मूल धारबाट वञ्चित पारियो, तिनीहरूको अधिकार सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो। यो पार्टी अब ती सबै उत्पीडित समुदायको आवाज बन्नेछ र हरेक भूगोलका समस्यालाई राज्यको केन्द्रसम्म पुर्याउने माध्यम बन्नेछ।
आदरणीय साथीहरू,
हाम्रो पार्टीको मुख्य उद्देश्य भनेकै नीति निर्माणको तहमा पुग्नु हो। जहाँबाट देश सञ्चालनका योजनाहरू बन्छन्, जहाँबाट जनताको भाग्य र भविष्यको फैसला हुन्छ, ती ठाउँहरूमा हाम्रा नेताहरू पुग्नुपर्छ। हामी समस्या मात्र देखाउन होइन, समस्याको समाधानको ठोस पहल गर्न राजनीतिमा होमिएका हौं।
आजको यो उपस्थिति एउटा सानो झलक मात्र हो। वास्तवमा हामीसँग जोडिन चाहनेहरूको संख्या विशाल छ। यस हलको क्षमतालाई मध्यनजर गर्दै हामीले थोरै संख्यामा मात्र साथीहरूलाई सहभागी गराउने प्रयास गरेका हौं। नभए, यो नयाँ पार्टीको अहिलेको सामर्थ्य र जनताको लहर हेर्ने हो भने हामी टुँडिखेल नै भर्न सक्ने हैसियत राख्छौं। यो हाम्रो आत्मविश्वास हो, जुन तपाईंहरूको साथले मलाई दिलाएको छ।
उपस्थित जनसमुदाय,
हाम्रो पार्टी आज औपचारिक रूपमा घोषणा हुँदैछ। तर अचम्मको कुरा के छ भने, घोषणा हुनु अगावै देशका ठूला भनिएका पार्टीहरूबाट हामीलाई ‘मर्ज’ हुने वा ‘गठबन्धन’ गर्ने प्रस्तावहरू आइरहेका छन्। तर म स्पष्ट पार्न चाहन्छु— हामी कुनै पनि दलमा विलय हुने पक्षमा छैनौं।
हो, सहकार्यको ढोका भने पक्कै खुल्ला छ। जोसँग हाम्रो विचार मिल्छ, जसले नेपाली जनताको वास्तविक हित चाहन्छ, त्यस्ता शक्तिहरूसँग चुनावी गठबन्धन वा सहकार्य गर्न हामी तयार छौं। तर त्यसका लागि हाम्रा उद्देश्यहरूमा उनीहरूको दृढ समर्थन हुनुपर्छ। अन्यथा, नेपाली जनताले हामीलाई जुन आँट र भरोसा दिनुभएको छ, त्यसकै बलमा हामी एक्लै अगाडि बढ्न पनि तयार छौं।
आदरणीय महानुभावहरू, हामीले धेरै सोचेर र बुझेर हाम्रो चुनाव चिन्ह ‘पानीको बोतल’ रोजेका छौं। आज काठमाडौं देखि तराई, पहाड र हिमालसम्म पानीको हाहाकार छ। गर्मीको समयमा तिर्खाएका कण्ठहरू र खडेरीले डढेका खेतबारीहरू देख्दा मुटु पोल्छ।
त्यसैले, हाम्रो ‘पानीको बोतल’ केवल एउटा चिन्ह मात्र होइन, यो एउटा प्रतिबद्धता हो। घर-घरमा पिउने पानी र खेत-खेतमा सिँचाइ पुर्याउने हाम्रो संकल्पको प्रतीक हो यो। पानी संसारको सबैभन्दा पवित्र चिज हो, जुन भर्खरै जन्मिएको बच्चादेखि वृद्धसम्म सबैलाई अनिवार्य चाहिन्छ। हामी राजनीतिलाई पनि यही पानी जस्तै स्वच्छ र सर्वसुलभ बनाउन चाहन्छौं।
आजको यो ऐतिहासिक घोषणा सभा केवल एउटा औपचारिकता मात्र होइन। यो हाम्रो संकल्पको जग हो। अब हामी सबै एक ढिक्का भएर, एउटै उद्देश्यका साथ अगाडि बढ्नुको विकल्प छैन। तपाईंहरूको साथ र सहयोग नै यो पार्टीको मुख्य शक्ति हो।
उपस्थित आदरणीय मित्रहरू,
यो घोषणा सभा चलिरहँदा धेरैको मनमा एउटा जिज्ञासा हुन सक्छ— “नेपालमा पार्टीहरू त धेरै छन्, के यो नयाँ पार्टी टिक्न सक्ला? के यसले अस्तित्व जोगाउन सक्ला?”
म आज यस ऐतिहासिक मञ्चबाट तपाईंहरूलाई पूर्ण विश्वासका साथ भन्न चाहन्छु— यदि तपाईंहरूको यस्तै साथ र सहयोग रह्यो भने, यो पार्टी आगामी दिनमा देशको राजनीतिमा एउटा ‘निर्णायक शक्ति’ बनेर उदाउनेछ। हामी केवल भिड जम्मा गर्न यहाँ आएका होइनौं; हामी त नेपालको भूगोल र भावना बोकेर आएका छौं।
तपाईंहरूको हात-हातमा हाम्रो पार्टीको ‘घोषणापत्र’ छ। यो केवल कागजको टुक्रा होइन, यो हाम्रो सङ्कल्प हो। हामी अरू जस्तो आश्वासनका महलहरू खडा गर्दैनौं, हामी यथार्थको धरातलमा उभिएर जनताका समस्या र मागहरू सम्बोधन गर्न अहोरात्र खट्ने वाचा गर्दछौं।
मेरा प्यारा युवा साथीहरू र विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरू,
आज हाम्रो देशको ऊर्जावान् युवा जनशक्ति दिनहुँ विदेश पलायन भइरहेको छ। नेपालीहरूले आफ्नो पसिना बगाएर अरूको देश त सुन्दर बनाए, तर हाम्रो आफ्नै देश किन उज्यालो हुन सकेन? अब यसलाई रोक्नुपर्छ। हामी नेपालमा नै सम्मानजनक रोजगारी र अवसरका ढोकाहरू खोल्नेछौं। म विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई अपिल गर्दछु— अब आफ्नै देश निर्माण गर्न फर्कनुहोस्। व्यक्तिगत स्वार्थ त्यागौं र सिङ्गो राष्ट्रको हितमा एक हौं।
हाम्रो यो टिम केवल नामका लागि निर्वाचन आयोगमा दर्ता भएको होइन। छोटो समयमा हामीले जुन बलियो संगठन निर्माण गरेका छौं, त्यो आफैंमा एउटा ऐतिहासिक उपलब्धि हो। म यहाँ केही यस्ता व्यक्तित्वहरूको नाम लिन चाहन्छु, जसले यो अभियानलाई उचाइ दिनुभएको छ:
कोशी प्रदेशबाट आउनुभएकी साहसी महिला नेतृ रोजिदा खातुन ज्यू, जसले स्थापित पार्टीको जिम्मेवारी त्यागेर हाम्रो उद्देश्यमा साथ दिनुभयो।
पूर्व सैनिक एवं खेलाडी बद्री महत ज्यू, जसले लामो समय विदेशी भूमिमा सेवा गरेपछि अब आफ्नै देशको माटोका लागि केही गर्ने अठोटका साथ झापाबाट यहाँ आउनुभएको छ।
काठमाडौंका सक्रिय अभियन्ता र युवा जोसका प्रतीक सुमन खड्गी ज्यू, जसलाई हामीले बागमती प्रदेशको नेतृत्व सुम्पिएका छौं।
त्यस्तै, कोशी प्रदेशका इन्चार्ज एबी ढकाल र अध्यक्ष निशान्त ज्यू, लुम्बिनी र कोशीमा संगठन मजबुत बनाउन यहाँहरूको मिहिनेत प्रशंसनीय छ।
मधेसको माटोबाट आउनुभएका युवा नेता नेमलाल यादव, इस्तियाक ज्यू र संगठन निर्माणमा सुरुदेखि नै खट्नुभएका सुनसरीका हारुन खान ज्यूलाई म विशेष धन्यवाद दिन्छु।
मोरङबाट आउनुभएकी अत्यन्तै क्रियाशील र साहसी नेतृ कविता राणा ज्यू, जसमा प्रत्यक्ष चुनाव लडेर जित्ने अदम्य साहस छ।
समय अभावले मैले सबैको नाम लिन नसके पनि, तपाईंहरू सबै यो पार्टीका आधारस्तम्भ हुनुहुन्छ। विशेषगरी काठमाडौंमा नेवार, मुस्लिम र अन्य समुदायको यो बाक्लो उपस्थिति देख्दा मलाई गर्व महसुस भएको छ। कतिपय समुदायले अहिलेसम्म राज्य र राजनीतिमा आफ्नो अपनत्व महसुस गर्न पाएका थिएनन्, तर आज यो पार्टीले उनीहरूमा नयाँ आशा जगाएको छ।
तपाईंहरूले देखाउनुभएको यो अटुट विश्वास र प्रेमप्रति म नतमस्तक छु। म फेरि पनि दोहोर्याउँछु— यो पार्टी कसैको व्यक्तिगत स्वार्थका लागि होइन, यो पार्टी त नयाँ विचार, नयाँ दिशा र सिङ्गो नेपालको समुन्नत भविष्यका लागि हो।
आदरणीय महानुभावहरू,
हाम्रो यो टिम अझै विस्तार हुने क्रममा छ। हामीसँग ओमर खान जस्ता युवाहरूका ढुकढुकी र प्रभावशाली व्यक्तित्वहरू केन्द्रीय सदस्यका रूपमा जोडिनुभएको छ, जुन हाम्रा लागि गर्वको विषय हो। धेरैले सोध्नुहुन्छ— “केन्द्रीय कमिटी अझै पूर्ण किन भएन?” म आज खुलासा गर्न चाहन्छु— देशका कैयौं पूर्वमन्त्रीहरू, सांसदहरू र स्थापित नेताहरू हामीसँग जोडिन संवादमा हुनुहुन्छ। उहाँहरूले केही दिनको समय माग्नुभएको छ। त्यसैले, आगामी केही दिनभित्रै तपाईंहरूले ‘राष्ट्र निर्माण दल नेपाल’ मा एउटा अत्यन्तै मजबुत र अनुभवी टिम देख्नुहुनेछ।
हामीलाई निःस्वार्थ भावले सल्लाह दिने नयाँ पुस्ताका अधिवक्ता माजिद अन्सारी जस्ता बौद्धिक व्यक्तित्वहरू पनि हुनुहुन्छ, जसले पार्टीलाई सही बाटो देखाउन मद्दत गरिरहनुभएको छ। म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु।

मित्रहरू, हाम्रो पार्टीले अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि उच्च प्राथमिकतामा राखेको छ। हामी सबै मित्रराष्ट्रहरूसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौं। विशेष गरी हाम्रा दुई छिमेकी राष्ट्रहरू, भारत र चीनसँगको सम्बन्धलाई हामी अझ प्रगाढ बनाउनेछौं। भारतसँग त हाम्रो भाषा, खानपिन, र रोटी-बेटीको सम्बन्ध छ। यो ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई कतै पनि आँच आउन नदिई, देशको विकासमा उहाँहरूको सहयोग लिने हाम्रो स्पष्ट सोच छ।
आदरणीय जनसमुदाय, आज म यहाँ उभिँदै गर्दा २०७२ सालको संविधान जारी हुनुअघिको त्यो समय सम्झिरहेको छु। मलाई गर्व छ कि ‘राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन’ को नेतृत्व गर्दै हामीले सडकबाट जनताको अधिकारका लागि आवाज बुलन्द गरेका थियौं। त्यसबेला नेपाली मिडियाले हामीलाई जुन साथ दियो, म त्यसलाई कहिल्यै बिर्सन सक्दिन।
त्यो बेला मैले केवल मुस्लिम समुदायको मात्र कुरा गरिनँ। मैले दलित, महिला, जनजाति, थारु र मधेसी— अर्थात् राज्यले पछाडि पारेका हरेक वर्गको अधिकार संविधानमा सुनिश्चित हुनुपर्छ भनेर लडेको थिएँ। आज ‘राष्ट्र निर्माण दल नेपाल’ त्यही समावेशी न्यायको विचार बोकेर आएको छ। मुस्लिम, दलित, जनजाति र महिलाहरूलाई केवल भोट बैंकका रूपमा मात्र प्रयोग गरियो, अब हामी उनीहरूलाई राज्यको मूल धारमा स्थापित गर्नेछौं। यो मेरो व्यक्तिगत अडान मात्र होइन, यो हाम्रो पार्टीको साझा संकल्प हो।
हामीसँग केवल नेताहरू मात्र छैनन्, हामीसँग विशेषज्ञहरूको टिम छ। डाक्टर जुनैद जस्ता चिकित्सकहरू हुनुहुन्छ, जसले ग्रामीण भेगको स्वास्थ्य अवस्था सुधार गर्ने योजना बनाइरहनुभएको छ। हामीसँग इन्जिनियर, अधिवक्ता र विज्ञहरूको टिम छ। हामी आश्वासन बाँड्न होइन, विज्ञान र योजनाका साथ काम गर्न आएका हौं।
अन्त्यमा, मलाई पूरा विश्वास छ— सिङ्गो नेपाली जनताले हाम्रो उद्देश्यलाई बुझ्नुहुनेछ र हामीलाई साथ दिनुहुनेछ। अबको पालो ‘राष्ट्र निर्माण’ को हो। गाउँ-गाउँ, टोल-टोलमा यो सन्देश पुर्याउनुहोस् कि अबको विकल्प भनेको मात्र ‘राष्ट्र निर्माण दल नेपाल’ हो।
र, आगामी निर्वाचनमा तपाईंको अमूल्य मत दिएर देशको मुहार फेर्ने अभियानमा सहभागी हुनुहोस्। याद राख्नुहोला, हाम्रो चुनाव चिन्ह— ‘पानीको बोतल’।
स्वच्छ राजनीति र समृद्ध नेपालका लागि ‘पानीको बोतल’ मा मतदान गरौं।
सबैलाई पुनः एकपटक धन्यवाद र नमस्कार।
जय राष्ट्र निर्माण! जय नेपाल!
मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा सभामा गरिएको मन्तव्यको पूर्णपाठ:



प्रतिक्रिया