डा. तुम्बाहाङ्फेको एक वर्षे कार्यकाल : कूटनीति, श्रम, शिक्षा र लगानीमा उल्लेखनीय उपलब्धि

डा. तुम्बाहाङ्फेको एक वर्षे कार्यकाल : कूटनीति, श्रम, शिक्षा र लगानीमा उल्लेखनीय उपलब्धि

काठमाडौं एक्सप्रेस

काठमाडौं- कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले आफ्नो एक वर्षे कार्यकालमा हासिल भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन्। ७ जनवरी २०२५ मा ओहदाको प्रमाणपत्र बुझाएर औपचारिक रूपमा कार्यभार सम्हालेकी राजदूत तुम्बाहाङ्फेले यस अवधिमा नेपाल–कोरिया सम्बन्ध सुदृढीकरण, कोरियामा रहेका नेपालीको हक–हित संरक्षण, श्रमिक तथा विद्यार्थी समस्या समाधान, लगानी प्रवर्द्धन र सार्वजनिक कूटनीतिमा उल्लेखनीय काम गरेकी छन्।

कार्यकालको क्रममा राजदूत तुम्बाहाङ्फेले गणतन्त्र कोरियाका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग भेटघाट गरी समसामयिक द्विपक्षीय विषयमा छलफल गरिन्। यसका साथै कोरियामा रहेका भारत, चीन, बंगलादेश, जापान र म्यानमारका कूटनीतिक नियोग प्रमुखहरूसँग भेट गरी व्यक्तिगत अनुभव, भविष्यमा हुन सक्ने सहकार्य र असल अभ्यासबारे विचार–विमर्श भएको छ।

कोरियाको राष्ट्रिय सभाअन्तर्गत कोरिया–नेपाल मैत्री समूहका सभापति तथा सदस्यहरू, अर्थ समितिका माननीय सदस्यहरूसँग बैठक सम्पन्न गरिएको छ। नेपाल–कोरिया संसदीय मैत्री समूहबीच औपचारिक पत्राचार, समन्वय र संसदीय अभ्यास तथा अनुभव आदान–प्रदान कार्यक्रमका विषयमा छलफल गरिएको छ।

लामो समयदेखि कोरियामा अध्यापन गर्दै आएका नेपाली प्राध्यापकहरूसँग कोरियाको शिक्षण पद्धति, शिक्षण वातावरण, नेपाल र कोरियाबीचको शैक्षिक भिन्नता, नेपाली विद्यार्थीको अवस्था र समस्या तथा नेपालले अनुसरण गर्न सक्ने शैक्षिक अभ्यासबारे छलफल गरिएको छ। विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई दूतावासमा आमन्त्रण गरी प्रत्यक्ष संवाद गरिएको थियो। सो क्रममा केही कन्सल्टेन्सीमार्फत विद्यार्थीले भोगेका समस्यामाथि गम्भीर छलफल भएको छ। ३० नोभेम्बर २०२५ सम्म कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या १५ हजार ५ सय ९९ पुगेको दूतावासले जनाएको छ।

नेपाली राजदूतावासमा १४ वटा रेमिट्यान्स कम्पनीका प्रतिनिधिसँग बैठक सम्पन्न गरिएको थियो। आधिकारिक च्यानलमार्फत वैधानिक रूपमा नेपालमा रेमिट्यान्स पठाउन खेलेको भूमिकाप्रति धन्यवाद दिँदै थप प्रभावकारी सेवा विस्तारका लागि प्रोत्साहन गरिएको छ। दूतावासद्वारा सञ्चालन गरिने घुम्ती सेवामा समेत विभिन्न रेमिट्यान्स कम्पनीको सहभागिता रहँदै आएको छ।

कोरियामा रहेका गैरआवासीय नेपालीहरूको संस्था एनआरएनएसँग दूतावासको सभाहलमा बैठक सम्पन्न गरिएको छ। बैठकमा एनआरएनएले नेपालको विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो।

नेपालमा लगानी गर्न इच्छुक कोरियाली कम्पनी, सरकारी संघ–संस्था र बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग जलविद्युत, स्मार्ट यातायात, कृषि, रेल पूर्वाधार, फोहर व्यवस्थापन, स्मार्ट सिटी लगायतका क्षेत्रमा लगानी सम्भावनाबारे छलफल गरिएको छ।

नेपालको रेल यातायात विकासका लागि कोरियाली सरकारको स्वामित्वमा रहेको कोरिया रेलरोड कर्पोरेसन (कोराइल) का प्रतिनिधिसँग पहिलो चरणमा दूतावासमा र दोस्रो चरणमा कोराइल मुख्य कार्यालयमा अध्यक्षस्तरीय बैठक सम्पन्न गरिएको छ। सो टोलीलाई नेपालका सम्बन्धित निकायसँग छलफलको व्यवस्था मिलाइएको छ। यस अवधिमा ३१ जना नेपाली कामदारको कोरियामा दुखद निधन भएको पुष्टि भई शव नेपाल पठाएर परिवारलाई हस्तान्तरण गरिएको छ।

अघिल्ला वर्षमा मृत्यु भएका १६ जना कामदारका परिवारलाई क्षतिपूर्ति रकम नेपाल पठाइसकिएको छ भने बाँकी मृतक कामदारका बक्यौता र क्षतिपूर्ति संकलन कार्य जारी छ।

व्यक्तिगत प्रयत्नमा कुक (सेफ) काम गर्न आएका पुष महिनादेखि हालसम्म ६४ जना कामदारको श्रम सम्झौता प्रमाणीकरण गरिएको छ।

दैनिक रूपमा सामाजिक सञ्जाल र फोनमार्फत न्यूनतम ५० देखि १०० वटा गुनासा—श्रम स्वीकृति, सामाजिक सुरक्षा कोष, कोरियाली कानुन, राहदानी, कन्सुलर सेवा, मानसिक तथा शारीरिक स्वास्थ्य, उद्धार, राहत, क्षतिपूर्ति, सेल्टर र दोभाषे सेवासम्बन्धी—समाधानका लागि पहल गरिएको छ।

मानसिक स्वास्थ्य समस्या देखिएका १७ जना कामदारलाई उपचार तथा परामर्शपछि नेपाल फर्काउन सहयोग गरिएको छ। थप ४० जनालाई भर्चुअल माध्यमबाट एक–एक गरी मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको छ।

औद्योगिक दुर्घटनामा परेका ६ जना नेपाली कामदारको उपचारका लागि समन्वय र काउन्सेलिङ गरिएको छ।

कोरियाका विभिन्न १६ स्थानमा श्रमिक सचेतना तथा कन्सुलर सेवा सम्बन्धी कार्यक्रम सञ्चालन गरी १ हजार ५ सय ४५ जनालाई सेवा प्रदान गरिएको छ।
श्रम सचेतना तथा सुरक्षासम्बन्धी कार्यक्रमअन्तर्गत दूतावासको फेसबुक पेजमार्फत १० वटा भिडियो अपलोड गरिएको छ।

मनोसामाजिक तथा स्वास्थ्य परामर्श कार्यक्रम ‘सुनौ–सिकौ’ अन्तर्गत ११ वटा भिडियो लाइभ प्रसारण गरिएको छ।

नेपाल पर्यटन प्रवर्द्धनका लागि २ वटा प्रचारात्मक भिडियो निर्माण गरिएको छ। दूतावासबाट प्रदान गरिने सेवासम्बन्धी जानकारीमूलक भिडियो पनि तयार गरिएको छ।

छाङवान सहरमा आयोजित आप्रवासी लक्षित बहुसांस्कृतिक महोत्सव (एमएएमएफ) २०२५ मा दूतावासको सहभागिता रहेको थियो।

२६ जुलाई २०२५ मा कोइका आर्थिक सहयोगमा सञ्चालित ‘नेपाल फर्केका नवप्रवर्तकहरू’ कार्यक्रम सम्पन्न भएको छ।

एनआरएनए दक्षिण कोरियासँगको सहआयोजनामा ‘नेपाल डे २०२५’ कार्यक्रम सम्पन्न गरी बुद्ध जन्मस्थल नेपाल र सगरमाथा विश्वकै सर्वोच्च शिखर भएको सन्देशसहित नेपाली संस्कृति, कला र पर्यटन प्रवर्द्धन गरिएको छ।

१३ मे २०२५ सम्म कोरियाको जेलमा सजाय भोगिरहेका नेपाली ६ जना (पुरुष ५, महिला १) रहेको र ५ जना पुरुष थुनुवा केन्द्रमा रहेको जानकारी कोरियाको परराष्ट्र मन्त्रालयले दिएको छ।

एक वर्षको अवधिमा नेपाली राजदूतावास दक्षिण कोरियाबाट जम्मा १९ हजार २ सय ७४ जनालाई विभिन्न सेवा प्रदान गरिएको छ।

कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले कोरियामा रहेका नेपालीको हित, सुरक्षा र सम्मानका लागि मैले सधैं सचेत भएर काम गरिरहेको बताइन् । “यो अवधिमा भएका उपलब्धि व्यक्तिगत होइनन्, यो नेपाल र नेपालीको सामूहिक प्रयासको परिणाम हो,” उनले भनिन्, “आगामी दिनमा पनि नेपाल–कोरिया सम्बन्धलाई अझ मजबुत बनाउँदै प्रवासी नेपालीको हक–हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

Logo