राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका छन् ।

सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका हुन् । यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका थिए ।

सोही समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेको थियो । यसैगरी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानसहित पुष्पगुच्छा अपर्ण गरे ।

समारोहमा मन्त्रीगण, राष्ट्रियसभाका सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, निजामती एवं जङ्गी सेवाका विशिष्ट श्रेणीका अधिकृतसहित आमसर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अपर्ण गरेको थियो ।

राष्ट्रिय पोसाकसहित राष्ट्रिय झण्डा र राष्ट्रनिर्माता शाहको तस्बिर अङ्कित ‘प्ले कार्ड’ बोकी भद्रकाली मन्दिरसहित सहरका विभिन्न स्थानबाट बाजागाजाका साथ निस्केको जुलुस सालिकमा पुगी समारोहमा परिणत भएपछि सम्मान अर्पण कार्यक्रम सुरु भएको हो । आमसर्वसाधारणका तर्फबाट राष्ट्र निर्माताप्रति सम्मानसहित पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम अहिले पनि जारी छ ।

Logo