निर्वाचन आयोगद्वारा कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई

निर्वाचन आयोगद्वारा कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई

काठमाडौं एक्सप्रेस

काठमाडौं- निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले पार्टीको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै सो महाधिवेशनबाट भएका निर्णयहरू अद्यावधिक गर्ने निर्णय गरेको हो ।

आयोगको कानुन शाखाका स्रोतका अनुसार विशेष महाधिवेशनपछि चयन भएको नेतृत्वलाई पार्टीको आधिकारिक नेतृत्वका रूपमा अभिलेखमा अद्यावधिक गर्ने निर्णय गरिएको हो ।

२७ देखि ३० पुससम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टीका विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । उक्त निवेदनको विपक्षमा शेरबहादुर देउवा पक्षले अलग निवेदन दर्ता गराएको थियो ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमाथि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशम्शेर जबरा र जानकी तुलाधर तथा आयोगका सचिवबीच विस्तृत छलफल भएको थियो । सो छलफलपछि आयोगले विशेष महाधिवेशनलाई वैध मान्दै गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

निर्वाचन आयोगको निर्णयपछि गगन थापा पक्षले पार्टीको आधिकारिकता प्राप्त गरेको दाबी गरेको छ भने देउवा समूहले उक्त निर्णयको विरोध जनाएको छ । आधिकारिकता घोषणा भएपछि देउवा समूहका कार्यकर्ताले आयोग परिसर तथा पार्टी कार्यालय आसपास नाराबाजी गरेका छन् ।

Logo