विश्वप्रकाश शर्माको विचार : नवीन नेपालका लागि नवीन कांग्रेस

विश्वप्रकाश शर्माको विचार : नवीन नेपालका लागि नवीन कांग्रेस


नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले आज साँझ विशेष महाधिवेशनले दिएको निर्णय बमोजिम नेपाली कांग्रेस पार्टीको नेतृत्वको सन्दर्भमा जे परिवर्तन भएको थियो, विशेष महाधिवेशनले नेतृत्व जे चयन गरेको थियो, त्यसलाई अद्यावधिक गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगले विधिको जगमा उभिएर नेपालको संविधान, प्रचलित कानुनहरू, नेपाली कांग्रेसको विधान – यसको जगमा जे निर्णय गरेको छ, यो निर्णयले अन्ततः आगामी दिनका लागि समेत एउटा ऐतिहासिक नजिर कायम भएको छ।

नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन आयोजना गर्नका लागि दूरदराजको गाउँमा बसेर, प्रदेशमा पनि बसेर जो-जो आदरणीय साथीहरूले हस्ताक्षर गर्नुभयो, माग दर्ता गर्नुभयो, उहाँहरू सबैलाई म विशेष बधाई दिन चाहन्छु।

सँगैमा आग्रह गर्न चाहन्छु – यो विधिवत प्रक्रिया बमोजिम जे भएको छ, यसलाई हामीले एउटा नवीन कांग्रेसको सुरुवातको रूपमा, नवीन नेपालका लागि नवीन कांग्रेसको सुरुवातको रूपमा लिनुपर्छ।

यद्यपि निर्वाचन आयोगमा एक ढंगले बहस भयो, कसले नेपाली कांग्रेस पार्टीको नाम, झण्डा, चुनाव चिन्ह प्राप्त गर्ने भन्ने कोणबाट पनि विविध दाबीहरू पनि रहे। निर्वाचन आयोगले गर्ने निर्णय विशेष महाधिवेशनले गरेको निर्णयको पक्षमा गयो भने आन्दोलन पनि गर्छौं भन्ने खालका अभिव्यक्तिहरू पनि गए। एउटा समयमा, एउटा परिस्थितिको बेलामा त्यो खालका आवेगका कुराहरू पनि भए होलान्। तर म यो बेलामा पार्टीका सबै श्रद्धेय अग्रज नेताहरूलाई सविनय नम्र निवेदन गर्न चाहन्छु – इतिहासको यो घडीमा विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, त्यसले जे नवीन सुरुवात गर्दैछ, त्यो सुरुवातको यो घडीमा हामी अब पुरानो आवेगका कुराहरूलाई बिर्सिनुपर्छ।

हामी सबैताबद्ध भएर अघि बढ्नुपर्छ। माघ ७ गते उम्मेदवारी दर्ता छ। गगन थापा सभापति रहनुभएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले उम्मेदवारी चयन सम्बन्धी प्रक्रियालाई अगाडि बढाइसकेको छ। पार्टीका साथीहरूले देशभरिबाट कहाँ उम्मेदवार सर्वसम्मत सिफारिस हुनुभएको छ, त्यसलाई अलग्गै छुट्याउनुभएको छ, छुट्याउँदै हुनुहुन्छ। जहाँनिर उम्मेदवार चयनमा अलिकति थोरै थप ध्यान दिनुपर्ने, मिलाउनुपर्ने अवस्था छ, त्यसमा ध्यान दिँदै हुनुहुन्छ।

भोलि हामी बैठक बसिरहँदै गर्दाखेरि त्यस बारेमा साथीहरूले तयारी गर्नुभएको विवरणलाई हेरेर नेपाली कांग्रेसको कामको गतिलाई हामी अगाडि बढाएर जान्छौं। यस बीचमा सबैले थाहा पाइसक्नुभएकै थियो – विशेष महाधिवेशनको लगत्तै भोलिपल्टै मध्यरात करिब १:३० बज्दै गर्दा, २ बज्दै गर्दा सकिएको विशेष महाधिवेशनको लगत्तै माघे संक्रान्तिको बिहान बैठक बसेर नेपाली कांग्रेस पार्टीको निर्वाचन परिचालन समिति, आगामी निर्वाचनको लागि संकल्प पत्र (घोषणा पत्र) लेख्ने समिति, उम्मेदवार चयन गर्नका लागि संसदीय बोर्ड – यी सबै कुराहरूको बारेमा निर्णय भइसकेको छ।

र अब यो निर्णय आज निर्वाचन आयोगबाट अद्यावधिकको काम सकिएपछि अब हामी एउटा नवीन सुरुवातको क्रममा छौं र यो नवीन सुरुवातको क्रममा जाँदै गर्दाखेरि म आजको मितिसम्म आउँदै गर्दा नेपाल देशको कुनै बेला एकीकरणको कालखण्डमा, पछिल्लो समय लोकतान्त्रिकरणको कालखण्डमा जीवन सहादत गर्नुहुने प्रत्येक सहादत प्राप्त गर्ने योद्धाहरू प्रति नमन गर्न चाहन्छु।

द्वन्द्वको कालखण्डमा, १० वर्षको द्वन्द्वमा जीवन गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। गाउँ-गाउँमा रहेर कांग्रेसको प्राण जोगाएर बस्नुभएका हाम्रा त्यो परिवारका सदस्य जसले आमा, बाबु या छोरा या छोरी परिवारको सदस्य गुमाउनुभयो, ती प्रत्येक प्रति म अपनत्व, श्रद्धा, सम्मान व्यक्त गर्न चाहन्छु।

पछिल्लो भदौ २३ र २४ गतेको मुभमेन्ट पछाडि त्यो मुभमेन्टले देशलाई नयाँ परिस्थितिमा लिएर जाने संकल्प गर्‍यो। त्यो मुभमेन्टमा जीवन गुमाएका नेपाली होनहार युवाहरू प्रति म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। छोराछोरीको आमाबाबु प्रति भावनात्मक ऐक्यवद्धता प्रकट गर्न चाहन्छु।

नेपाली कांग्रेस पार्टीको तर्फबाट हामी अपील र आग्रह गर्दछौं र संकल्प गर्दछौं कि ७ सालको क्रान्तिले देशलाई स्वतन्त्रता दिँदा कांग्रेसले नेतृत्व गर्‍यो। ४६ मा प्रजातन्त्र दिलाउँदै गर्दा कांग्रेसले नेतृत्व गर्‍यो। ६२-६३ मा आउँदै गर्दा शान्ति स्थापना गर्दै गर्दा कांग्रेसले नेतृत्व गर्‍यो। संविधान निर्माण गरेर ७२ सालमा पुग्दै गर्दा कांग्रेसले नेतृत्व गर्‍यो। मधेस आन्दोलनले अगाडितिर ल्याएको संघीयताको मुद्दा जसलाई नेपाली कांग्रेस प्रजातान्त्रिकले अलि अगाडि नै डकुमेन्टेशन गरेर मुद्दालाई केन्द्रीय रूपमा कदमजमको नीतिका साथ उठाएको थियो, त्यसलाई सम्बोधन गरेर संविधानमा अंकन गर्ने काम, अंकित गर्ने काम, संविधान बमोजिम चुनाव गराउने काम नेपाली कांग्रेस पार्टीले गर्‍यो। र अब हिजोको स्वतन्त्रता पछि, प्रजातन्त्र पछि, समावेशिताको जग पछि, समुन्नतिको प्रारम्भिक जग पछाडि, शान्ति स्थापना पछाडि, संविधान निर्माण पछाडि देशलाई जेनजीले माग गरेको सुशासन अब देशलाई प्रत्याभूत गर्नका लागि हामीले संकल्प गर्नुपर्ने घडी पनि यो हो।

त्यसैले नेपाली कांग्रेस पार्टी यस विषयमा बिल्कुल प्रष्ट छ। त्यसैले हामीले भन्यौ कि बितेको ३४ वर्षमा ३० वटा सरकार बन्दै गर्दा त्यो हाम्रो कमजोरी थियो। त्यसमा हामी आत्मालोचित छौं। आज नेपाली कांग्रेस पार्टीलाई विधिवत रूपमा नयाँ ढंगले लिएर जानका लागि मार्ग प्रशस्त भएर नयाँ उर्जा विकसित भएको बेलामा देशभरिका साथीहरूलाई, विदेशमा रहेका साथीहरूलाई सम्मान र श्रद्धा व्यक्त गरिरहँदै गर्दा म आग्रह गर्न चाहन्छु – यो प्रक्रियाबाट यात्रा टुंगिएको छैन, यो प्रक्रियाबाट यात्रा सुरु भएको छ।

यात्रा सुरु हुँदै गर्दाखेरि मैले विशेष महाधिवेशनको उद्घाटन समारोहमा भनेको वाक्य दोहोर्‍याउन चाहन्छु – जो बदलिन्छन्, तिनले बदल्न सक्छन्। हामीले अब बदल्ने संकल्प गर्नुहोस्। यो घडी कसैले कसैसँग आवेग नराखिकन अगाडि बढ्ने संकल्प गर्नुहोस्। हिजो कसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नुभयो, कसले गर्नुभएन – अब त्यो दरार, त्यो दूरी कतै रहनु हुँदैन।

मैले काठमाडौंबाट फर्किँदै गरेका कतिपय साथीहरूलाई भनेको थिएँ – तपाईंहरू गाउँ पुग्दा नपुग्दै पक्कै पनि निर्णय आउला। हामीले विधि र विधानको जगमा उभिएर निर्णय गरेका छौं, त्यो निर्णयको जगमा कांग्रेसलाई बदलेर जानु छ। अब हामीले त्यो आवेग नराखी जानु छ।

गाउँ-गाउँमा जो-जोले जहाँ-जहाँ मेरो कुरा सुनिरहनुभएको छ, पार्टीको आदरणीय सभापति गगन कुमार थापाको अहिले केही बेर अगाडि वक्तव्य पनि सार्वजनिक भइसकेको छ। संस्थागत रूपमा हामी यसलाई अपनत्व ग्रहण गरेर लिएर जाँदै गर्दाखेरि आग्रह गर्न चाहन्छु – अब यो पुरानो च्याप्टरलाई छोडिदिउँ।

पार्टीका कैयौं आदरणीय जिल्ला सभापतिज्यूहरू चाहिरहनुभएको थियो कि विशेष अधिवेशन मार्फत निर्णय होस्। कतिपय साथीहरू चाहिरहनुभएको थियो विशेष अधिवेशनलाई नगरौं, नियमित अधिवेशनमै जाउँ, वैशाखसम्म पर्खौं। प्रश्न वैशाखसम्म पर्खेर नेतृत्वमा आउने या नआउने भन्ने थिएन। प्रश्न वैशाख भन्दा अगाडि हुँदै गरेको निर्वाचनमा नयाँ नीतिका साथ, नयाँ नेतृत्वका साथ नेपाली कांग्रेस जाने कि नजाने भन्ने जबर्जस्त प्रश्न थियो।

बदलिएको समय अनुसार बदलिने कि नबदलिने भन्ने प्रश्न थियो। त्यसैले हामीले अहिले विशेष महाधिवेशनबाट एउटा टुंगोमा पुग्दै गर्दा, विशेष महाधिवेशन होइन नियमित मात्रैमा जाउँ वैशाखमा जाउँ भनेर भनिरहनुभएका आदरणीय जिल्ला सभापति साथीहरूलाई पनि, प्रदेशका सभापति साथीहरूलाई पनि म नम्रतापूर्वक आग्रह गर्छु – यसलाई आवेगको विषय नबनाईकन नेपाली कांग्रेस पार्टीलाई एकतावद्ध बनाएर लिएर जाने कुरामा अब तपाईंहरूको योगदान पुग्नुपर्छ। केन्द्रमा बसेर हट्-हटि गरिरहेर हुँदैन भनेर भनिरहनुभएका नेताहरूलाई अब त्यहाँ रहनुभएका साथीहरूले दबाब दिएर अब अलमलिनु हुन्न है, अब हामी सिधै अगाडि जानुपर्छ, नेपाली कांग्रेस पार्टीलाई निर्वाचनमा बलियो बनाउने गरी जानुपर्छ भनेर तपाईंहरूले सार्थक हस्तक्षेपको भूमिका गर्नुपर्छ।

एकथरी साथीहरूले सार्थक हस्तक्षेप गरिसक्नुभयो। अब अर्कोथरी साथीहरूले सार्थक हस्तक्षेप गर्नुपर्ने दायित्व आएको छ। र त्यो गर्न जाँदै गर्दाखेरि केन्द्रमा रहनुभएका नेताहरू पनि विश्वप्रकाश शर्मा र गगन थापाको उमेर जति त राजनीतिमा योगदान गरिसक्नुभएका नेताहरूको, हामी व्यक्तिगत रूपमा पनि सम्पर्क गरेर, अहिले सार्वजनिक रूपमा पनि अपील गरेर – आज नेपाली कांग्रेस यहाँ आइपुग्नमा तपाईंहरूको ठूलो योगदान छ। जेलका दिनहरूमा, प्रवासका दिनहरूमा, अप्ठ्यारा मोडहरूमा तपाईंहरूले गरेको कामलाई अहिले हामीले नेतृत्व गरिरहँदै गर्दाखेरि, गगन थापाको नेतृत्वमा रहेको समितिले त्यसलाई सम्पूर्ण रूपले श्रद्धा गरेर नतमस्तक भएर हामी सँगसँगै अगाडि बढ्ने कुरामा अपील गर्न चाहन्छौं। तपाईंहरूको अभिभावकत्व कुराको खोजी गर्न चाहन्छौं। निर्वाचनमा जाँदै गर्दाखेरि हामीले नेपाली कांग्रेसलाई बदलेर जाने कुराको सन्दर्भमा सबैको साथ चाहन्छौं। म त्यो आग्रह गर्न चाहन्छु।

आज हामीले नेपाली कांग्रेसलाई नवीन बनाउने र नवीन नेपाल निर्माण गर्ने भन्ने संकल्प, नवीन कांग्रेस, नवीन नेपाल भन्ने संकल्पका साथ चुनावमा जाँदै गर्दाखेरि नेपाली कांग्रेस भित्र रहनुभएका मात्रै होइन बाहिर रहेर मत दिनेहरूलाई पनि – को-को कहाँ-कहाँ कुन-कुन मोडमा हामीसँग रिसाएर अलमलिएर टाढा जानुभएको थियो, सबैलाई घर फर्किएर कांग्रेसको आफ्नो आँगन सम्हाल्नका लागि म आग्रह गर्न चाहन्छु।

कतिपयलाई लाग्यो पुरानोको दिन गए भनेर। नयाँ बाजा बज्दै गर्दाखेरि त्यो पो उचित होला कि भन्ने लाग्यो। त्यो मानवीय स्वभाव पनि हो। तर आज तपाईंको आफ्नै घर नवीन बन्दैछ। ५० वर्ष भन्दा मुनिको एउटा युवकको नेतृत्वमा कांग्रेस अगाडि जाँदैछ। इतिहासमा कुनै बेला तपाईंले पहिलो विशेष महाधिवेशनबाट त्यसरी देख्नुभएको थियो ५० वर्ष मुनिको नेतृत्व। आज फेरि इतिहास दोहोरिएको छ, ५० वर्ष मुनिको युवकलाई अगाडि लगाएर आँखामा देशका लागि सपना बोकेको, मनमा हुटहुटी बोकेको, काँधमा दायित्वको जिम्मेवारी बोक्न सकेको, बोक्ने चाहना बोकेको, देश बदल्ने भिजन बोकेको सभापतिका रूपमा गगन कुमार थापालाई पार्टीको प्रत्येक सदस्यले नेताका रूपमा पाउनुभएको छ। यो बेलामा टाढा जानुभएको थियो, अलिकति मन दुखेको थियो भने म क्षमा चाहन्छु। आउनुहोस्, तपाईंको घर आउनुहोस्, तपाईंको आँगन सम्हाल्नुहोस्।

यही कांग्रेस जसको फाउन्डेसन बलियो छ। कांग्रेस आफ्नो बलियो जगमा, सही सिद्धान्तको जगमा, समुन्नत नेपाललाई लिएर जान सक्ने दृढतामा छ। कांग्रेसले कमजोरीहरू गरेन सरकारमा रहँदा भन्ने बिल्कुलै होइन। तर इतिहास देखि वर्तमान सम्ममा कांग्रेसले गरिरहेको राम्रा सत्कर्महरूको जगमा हामी अगाडि जान सक्ने परिस्थिति छ। यो बेलामा तपाईं प्रत्येकलाई फर्किनलाई, सहभागी बन्नका लागि म अपील र आग्रह गर्न चाहन्छु।

नेपाली कांग्रेस पार्टीलाई मत दिने, कांग्रेसको सदस्य नरहेको तर पर रहेको व्यवसायी कोही, बौद्धिक क्षेत्रमा रहनुभएको कोही व्यक्तित्वहरू, विद्यालय पढाइरहनुभएको कोही आदरणीय गुरु या गुरुआमाहरू, श्रम क्षेत्रमा काम गरिरहनुभएका श्रमिक साथीहरू, सात समुद्र पारी कहीँ प्राध्यापन कहीँ श्रम गरेर बसिरहनुभएका व्यक्तित्वहरू, नेपालको निजी क्षेत्रमा कार्य गरिरहनुभएका व्यक्तित्वहरू, पेशा भिन्न भिन्न व्यवसायमा कार्य गरिरहनुभएका व्यक्तित्वहरू, ठूला उद्योगपति देखि लिएर सानो किराना पसलको नेतृत्व गरिरहनुभएका व्यक्तित्वहरू, चिया बगानको नेतृत्व गरिरहनुभएको चियाको उद्योगपति देखि लिएर बगानमा पत्ती टिपिरहनुभएका आदरणीय भाउजुहरू, दिदीहरू, दाईहरू सबैलाई हामी अपील र आग्रह गर्न चाहन्छौं – तपाईंको वाणी बोल्ने तागत अबको बदलिएको कांग्रेसले राख्नेछ।

नवीन कांग्रेस तपाईंको अब भरोसाको कांग्रेस बनाउने कुराको संकल्पमा छ। त्यसैले तपाईंका गुनासालाई, तपाईंको पीडालाई हामीले आत्मसात गरेका छौं, गर्नेछौं। बदलिएको कांग्रेस, बलियो कांग्रेस बनाएर जाने कुराको संकल्पको नयाँ यात्रा प्रारम्भ भएको छ। यो बेलामा हामी तपाईंहरूको भरोसा पनि चाहन्छौं।

हामी जान्दछौं पछिल्लो जेनजी मुभमेन्टको क्रममा होनहार युवाहरूको जीवन गुम्दै गरेको एउटा अध्याय भयो। आगामी दिनमा देशमा कसैको रगत नबगोस् भन्नका लागि हामीले देशमा बलियोसँग सुशासन स्थापित गरेर जानु छ। त्यसको लागि नेपालको प्रशासन संयन्त्रमा रहनुभएका आजको मितिमा कहीँ पनि कर्मचारी भएर रहनुभएका व्यक्तित्वहरूलाई अपील गर्दै गर्दा भन्नु छ कि आगामी दिनमा निर्वाचन पछाडि आएको नयाँ सरकारले केन्द्रीय रूपमा सोच्दै गर्दाखेरि सीडीओ कार्यालयमा गर्नुपर्ने रूपान्तरणको लागि त आदरणीय कर्मचारी मित्रहरू तपाईंले गर्नुहोस्।

कुनै नागरिक सेवाग्राही तपाईंको टेबुलमा पुग्दै गर्दा तपाईंको अघिल्तिर आउँदै गर्दा सबै डकुमेन्ट तयार भएर आउँदै गर्दा पनि काम नभएर फर्किएर जाँदै गर्दा उसले तपाईंलाई मात्रै आलोचना गर्दैन, गरेन, उसले दललाई पनि गर्छ, सरकारलाई पनि गर्छ, यो सिस्टमलाई पनि गर्छ, यो देशै यस्तो हो भनेर भन्छ। तपाईंको पीडालाई आत्मसात गर्ने काम राजनीतिक दलको रूपमा हामीले गर्नुपर्छ। तर सँगैमा तपाईंले सेवाग्राहीको सन्दर्भमा तपाईंको सहृदयी भूमिका पनि अबको दिनमा गरेर जानुहोस्।

मुभमेन्टको क्रममा कैयौं व्यापारिक प्रतिष्ठानहरू माथि हमला भयो, ध्वस्त भयो। आज ध्वस्त भएको त्यो मुलुकबाट हामीले एउटा खरानीलाई पन्छाई राखेर फेरि उठ्ने संकल्प गर्नुछ। नेपालको आजको रोजगारीको सिर्जनाको सवालमा, नेपालको व्यावसायिक क्षेत्रले गरेको योगदान, निजी क्षेत्रले गरेको योगदान, नेपाली कांग्रेसले प्रतिपादन गरेको नीतिको जगमा सामाजिक न्याय सहितको उदार अर्थव्यवस्थाको जगमा भएको थियो र छ। त्यसका बावजुद हामीले कैयौं कमजोरीहरू गर्‍यौं होला, निजी क्षेत्रको मन पनि कतिपय ठाउँमा दुख्यो होला। अब हामीले निजी क्षेत्रलाई पनि सँगसँगै लिएर जान सक्ने सामर्थ्य राख्दछौं, राख्नेछौं। हामी तपाईंहरू सँग सहकार्य चाहन्छौं। व्यापक रूपमा निजी क्षेत्रको बढवा चाहन्छौं। ठूला उद्योगपति देखि लिएर साना व्यवसायी सम्मको मनलाई सम्बोधन गर्ने प्रयास हामी गर्नेछौं।

शैक्षिक क्षेत्रमा विद्यालय चलाइरहनुभएका गुरुहरूले वर्षौंदेखि भन्दै आउनुभयो, माग्दै आउनुभयो – बनाइदेउन शिक्षा विधेयक। ५० वर्ष वित्यो। शिक्षा विधेयक बल्ल आएको थियो, संसदमा अड्कियो। विद्यालयमा घण्टी बजाएर बसिरहेको एउटा कर्मचारीले हातमा पाउँदै गर्दाखेरि तलब मापदण्ड पनि निश्चित नभएको, रिटायर्ड कहिले हुने टुंगो नभएको, रिटायर्ड भएर जाँदै गर्दा हातमा पेन्सन पट्टा पनि टुंगो नभएको जिन्दगी बाँच्नुभएको छ। त्यो हाम्रो कमजोरी थियो। हामीले चिनेका छौं। हामी जान्दछौं। त्यसलाई हामीले रूपान्तरण गर्नुछ।

त्यसैले नेपाली कांग्रेस पार्टी अहिले नवीन ढंगले आउँदै गर्दा जे निर्णय भएको छ, यो निर्णयसँगै अब निर्वाचनमा होमिएर गएको छ। नेपाली कांग्रेस पार्टी माघ २ गते बेलुकीको यो निर्णय पछाडि माघ २ गतेको साँझबाटै नेपाली कांग्रेस पार्टी निर्वाचनमा अब होमियो। हामी रात-रात भरि पनि, १८-१८ घण्टा पनि मैदानमा चाहिँ तपाईंहरूको साथमा रहनेछौं।

पार्टीको केन्द्रीय कार्यसमितिमा कैयौं साथीहरू छुट्नुभएको छ। सम्भव भएसम्म समेट्छौं। अरु साथीहरूलाई जो हाम्रो अभियानसँग असहमत भएर बस्नुभएको थियो, उहाँहरूलाई पनि मनहरू कहीँ दुखेको छ भने हामी आत्मसात गरेर नमन गरेर सँगै लिएर आएर सँगसँगै अगाडि बढ्न चाहन्छौं।

चुनावको मैदानमा अब उम्मेदवारी भोलि साँझ देखि नै हामीले उम्मेदवारी भोलि पर्सि तिर नै उम्मेदवारीहरूको गति हामी बढाउनुछ। बढाउँदै गर्दा म आग्रह गर्न चाहन्छु – कहीँ उम्मेदवार बन्नलाई २ जना, ३ जना, ४ जना, ५ जना साथी हुनुहुन्छ भने सोच्नुहोला यो बेलामा। प्रश्न तपाईं उम्मेदवार बन्ने कि नबन्ने भन्ने मात्रै होइन। तपाईं बनिरहँदा सोच्नुहोला – म बनेँ, साथीहरूको साथ लिएर म जिताउन तर्फ लाग्छु, जित्न तर्फ लाग्छु। म बनेन भने जो साथी उम्मेदवार बन्नुहुन्छ, त्यो साथीलाई जिताउन तर्फ लाग्छु।

म दोहोर्‍याउन चाहन्छु – म उम्मेदवार भएँ, साथीहरूको साथ लिई जित्न तर्फ लाग्छु। म उम्मेदवार भएन भने जो उम्मेदवार बन्नुहुन्छ साथी, उहाँलाई जिताउन तर्फ लाग्छु। यो बेलामा आगामी निर्वाचनमा उम्मेदवार बन्दिन भनेर ८१ सालकै पुस महिनाको २०-२१ गते मेचीनगर नगरपालिका झापा धुलाबारीको अतिथि सदनमा आदरणीय साथीहरू झापा १ मा को उम्मेदवार बन्न चाहनुहुन्छ तयार हुनुहोस् भनेर साथीहरूलाई भनेको थिएँ। केही अगाडि मात्रै मेरो सर्वसम्मत सिफारिस गर्दा पनि म उम्मेदवार बन्दिन तपाईंहरू बन्नुहोस् भनेर भनेको थिएँ। एउटा नेता, एउटा निर्वाचन क्षेत्रमा एक पटक खडा हुने, खडा भइसके पछाडि तागतले भ्यायो भने जिन्दगीभरि त्यो निर्वाचन क्षेत्र नछोड्ने, अन्तिम शास सम्म लडिरहने यो पद्धतिलाई भत्काउन जरुरी छ। त्यसको सुरुवात गर्नका लागि पनि झापा १ मा दुई पटक हारिसकेको, एक पटक जितिसकेको विश्वप्रकाश उम्मेदवार बन्दिन भनेर साथीहरूको लागि मैदान छोडेको छु मैले।

म आग्रह गर्छु – देशभरि इच्छुक साथीहरूले पनि यो पटक म नभए पनि यो प्रतिकूलतालाई चिरेर कांग्रेसलाई बदलेर अगाडि बढ्नका लागि जो हुँदै गर्दा पनि ६ गतेको दर्तामा हजारौंको संख्यामा जुटेर हामी एउटा स्पिडमा जान्छौं भन्ने मनोविज्ञान राख्न म तपाईंलाई सविनय आग्रह गर्न चाहन्छु।

हामीले निर्वाचनमा गएर ठूलो आकारमा पार्टीलाई ल्याउँदै गर्दा, पहिलो दलका रूपमा लिएर आउँदै गर्दा केही संवैधानिक रूपान्तरण गरेर ५ वर्ष टिक्ने प्रधानमन्त्रीको परिकल्पना पनि गर्नुहोस्। हामीले निर्णय गरिसकेका छौं विशेष महाधिवेशनबाट। १, २, ३, ४ को हामीले प्रस्तावित अलि अगाडि गरेको प्रस्ताव महासमितिमा गरेको प्रस्ताव महामन्त्री गगन थापाको डकुमेन्ट मार्फतबाट पेश भएर पास भएको छ।

अब ढुक्क हुनुहोस् – नेपाली कांग्रेस पार्टीले गरेको प्रस्ताव बमोजिम यो देशमा यो युग रहँदा सम्म अब सुरु हुने पद्धति बमोजिम तपाईं ढुक्क हुनुहोस्, तपाईं त्यो युगको साक्षी हुनुहुन्छ, अब यो देशमा कसैले पनि दुई पटक भन्दा जतिसुकै योग्यता, जतिसुकै लोकप्रियता दुई पटक भन्दा कोही प्रधानमन्त्री बन्न नपाउने निर्णय कांग्रेसले गरेको छ, त्यो निर्णयलाई हामी कार्यान्वयन गर्छौं।

तर दुई पटक भनेको प्रधानमन्त्री वर्षैपिच्छे बदलिने प्रधानमन्त्री होइन। हामीले सोचिरहेको ७५ वर्षमा कोही पनि लगातार ५ वर्ष प्रधानमन्त्री बन्नुभएन। त्यो किन भयो होला? त्यसको खोजी हामीले गरेर ५ वर्ष टिक्ने प्रधानमन्त्री पद्धतिमा जानुछ। राणा शासन गए पछाडि पञ्चायत कालको बलियो भनिएको प्रधानमन्त्री सूर्यबहादुर थापा ५ पटक बन्नुभयो, एक पटक पनि ५ वर्ष बन्नु टिक्नुभएन। ४६ पछिको बलियो प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला ५ पटक बन्नुभयो तर ५ वर्ष लगातार एक पटक पनि बन्नुभएन। माओवादी विद्रोह पछाडि ७ बिग्रेड सेना लिएर शहरमा आउनुभएको प्रत्यक्ष तर्फ २४० मध्ये १२० प्रत्यक्षमा झण्डै झण्डै बहुमत सिट जितेको कमरेड प्रचण्ड प्रधानमन्त्री बन्नुभयो ५ वर्ष टिक्नुभएन। एमाले र माओवादी मिसाइ राखेर भएको गठबन्धनले नेकपा बन्दा झण्डै दुई तिहाई प्राप्त भो तर कमरेड केपी ओली पनि ५ वर्ष प्रधानमन्त्री बन्नुभएन। अब यो अस्थिरतालाई भत्काउने संकल्प पनि हामीले गर्नुछ।

सम्भव भएसम्म माघ ७ गतेको उम्मेदवारी दर्ता सके पछाडि राजनीतिक दलहरू हामी एक ठाउँ बसौँ, प्रतिनिधिमूलक हिसाबले बसौँ, केही डकुमेन्टहरू साझा रूपमा बनाउने प्रयास गरौँ, आगामी संसदमा जसले चुनाव जितेर गए पनि दक्षिण अफ्रिकामा संविधान सभाको निर्वाचनमा जानु भन्दा अगाडि ३४-३५ वटा बुँदामा साझा संवैधानिक सिद्धान्त जे बनाइएको थियो, त्यस्तै केही सिद्धान्तको खोजी गरौँ। त्यो खोजी गर्दै गर्दा त्यो सिद्धान्तले ५ वर्ष टिक्ने प्रधानमन्त्री कसरी लिएर जान सक्ने भन्ने कुराको लागि दृष्टिकोण बनाऔँ।

मैले ‘फाइभ यर्स टिक्ने फुल टर्म प्राइम मिनिस्टर कन्सेप्ट’, ‘फुल टर्म प्राइम मिनिस्टर एक्ट’ भनेर पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्ताव गरेको थिएँ। प्रत्यक्ष तर्फबाट प्राप्त गरेको सिट र समानुपातिक तर्फबाट प्राप्त गरेको लोकप्रिय मतको आधारमा पहिलो दल छुट्याइसके पछि त्यही दलले ५ वर्षलाई सरकार चलाएर जाने। तर त्यो दललाई संसदमा नपुग्ने बहुमतका लागि निर्वाचन आयोगमा अलग्गै बुझाउने सूचीको जगमा ‘विनर्स टेक अल’ नपुगेका सिट जति उनले त्यहाँबाट लिने, तर विज्ञहरूलाई लिने, ‘ल्याटरल इन्ट्री’लाई बलियो बनाएर जाने पद्धतिको प्रस्ताव गरेको थिएँ। छलफल गरौँ।

अब सरकार चलाउन जाँदै गर्दा खेरि गाउँमा खटेको, दुःख गरेको, मेहेनत गरेको, जेल जानुभएको भनेर बनाउने एउटा कालखण्ड थियो। त्यो बमोजिमको योगदानको आधारितमा केही नेतृत्व पनि निश्चय नै हामीले लिनु छ। तर सँगैमा फेरि हेक्का राख्नु छ हामीले कि अब दुःख गरेको भनेर मात्रै मन्त्रालय चलेन, चल्दैन। अब मन्त्रालय चलाउनलाई आवश्यक विषयगत योग्यता र विज्ञता भएको व्यक्तित्वहरू पनि बाहिरबाट हामीले लिनु छ। लिई राखेर हामीले देश निर्माणको कुरालाई गति बढाउनु छ। प्रश्न पार्टी निर्माण अलग कुरा हो। पार्टी निर्माण र राष्ट्र निर्माण अन्तरसम्बन्धित छ तर कुशल कालिगढी मस्तिष्क फरक चाहिन्छ राष्ट्र निर्माणका लागि।

हामीले प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस पार्टीको छलफल हुँदै गर्दा खेरि हामीले भनेका थियौँ – प्रधानमन्त्रीको कोही उम्मेदवार बनाऔँ। गगन थापालाई नै तोकेर जाउँ हामीले भनेनौं आन्तरिक रूपमा छलफलमा। तर कोही न कोही तोकेर जाउँ ताकी देशलाई प्रष्ट सन्देश दिन सकियोस् – अब हामी पुरानो विगतमा बनिरहनुभएको नेतृत्वबाट होइन अरुको नेतृत्वमा चाहिँ प्रधानमन्त्री बनाएर जान चाहन्छौं। त्यसमा सहमति जुटाउन सकिएन। तर आज म नेपाली कांग्रेस पार्टीको उपसभापतिको रूपमा देशभरिको पार्टी पंक्तिलाई छलफलमा जुट्दै गर्दाखेरि तपाईंको मनमा रहेको नाम भनेको गगन कुमार थापा हो भन्ने कुरो मैले थाहा पाएको कुरालाई मैले तपाईं समक्ष भन्दै गर्दा कांग्रेस एउटा उर्जाका साथ, उज्यालो दृष्टिकोणका साथ, सम्पूर्ण उर्जाका साथ अगाडि जाँदै गर्दाखेरि पार्टीको सभापतिलाई नै प्रधानमन्त्री बनाउने गरी हामी त्यो उम्मेदवारीका साथ जाने गरी अब जान्छौँ।

विधिवत रूपमा निर्णय गर्ने प्रक्रियामा जाउँला। तर आजै देखि साथीहरूले मैले सुनेको छु – ठाउँ ठाउँमा साथीहरूले चाहिँ हामीले त दीपावली गरिसक्यौँ काँकडभिट्टामा गर्ने तयारी गर्दैछौँ, हामी कञ्चनपुरमा गर्न लाग्यौँ, हामी चितवनको चोकमा गर्न लाग्यौँ भनेर साथीहरूले फोनमा भनिरहनुभएको थियो। दीपावली गराउनुहोस् केही फरक परेन। तर यसलाई फेरि कसैको जय र पराजयको रूपमा नलिनुहोस् अब। यो विधिको पद्धतिलाई स्थापित गर्ने कर्म हो। त्यो कर्म बमोजिमको कुरामा जाँदै गर्दा खेरि तपाईंको मनको दियो चाहिँ जलाउनुहोस्। आफूलाई एउटा उज्यालो मनोविज्ञानका साथ राख्नुहोस्।

अस्ति को दिन कारबाही परेको भन्ने सुन्दै गर्दा खेरि पनि म मुस्कुराइरहेको थिएँ। त्यस्ता अप्ठ्यारा सजिला मोडहरू आउँछन्। तर सबैलाई गाँसेर जानका लागि मनको दियो जलाउनुहोस्।

देशमा अस्ति बेलामा भदौ २३ र २४ को घटनामा आमाहरूको कोख रित्तिनुको अलावा सिंहदरबार जल्दै गर्दा, सर्वोच्च अदालत जल्दै गर्दा, राष्ट्रपति भवन जल्दै गर्दा, संसद भवन जल्दै गर्दा, यो देशमा चन्द्र शमशेरको दरबारमा वोट पठाउने कृष्ण प्रसाद कोइरालाको घर पनि विराटनगरमा जल्यो। विराटनगरमा खरबौंका भवनहरू छन् तर विराटनगर बसाउने कृष्ण प्रसाद कोइरालाको घर नजल्नु पर्ने घर जल्यो। हिंसाबाट शान्तिमा लिएर जाने गिरिजा प्रसाद कोइरालाको त्यो घर पनि थियो। देशमा लोकतान्त्रिक पद्धति स्थापित गर्ने विचार दिने बीपी कोइरालाको घर पनि थियो। ६० वर्ष लामो राजनीति गर्दा आएको प्रधानमन्त्री खान्न भनेर भन्ने भन्ने गणेशमान सिंहको घर पनि चाक्सीबारीको जल्यो। प्रधानमन्त्री पदबाट निक्लेर बाहिरिँदै गर्दा खेरि केवल छाता, सुराही र ट्रयांक बोकेर निक्लेको निष्काम कर्मयोगी सन्त नेता कृष्ण प्रसाद भट्टराईको पनि आश्रम जल्यो। व्यक्तिगत रूपमा विश्वप्रकाशको पनि घर जल्यो होला, काठमाडौं बस्ने डेरा जल्यो होला। अहिले पनि म बोल्दै गर्दा खेरि डढेको त्यो डेरामा होइन अर्को साथीले खाली गरिदिएको फ्ल्याटमा बसेर तपाईंसँग संवाद गरिरहेको छु।

मैले त्यो जलेको बेलामा धुलाबारीमा भन्दै गर्दा पनि भनेको थिएँ – मेरो घर पुरै खरानी भएको भए पनि मेरो घरको धनीपुर्जा जल्ने थिएन। जल्नका लागि त कृषि विकास बैंकमा राखिएको छ धुलाबारीमा त्यो धनीपुर्जा जल्ने थिएन। तर यो बेलामा राष्ट्रको त्यत्रो निधि सिंहदरबार नै जलेको बेलामा व्यक्तिगत रूपमा जलेका कुराहरूलाई बिर्सिदिउँ। बिर्सिदिनुस् सिंहदरबार जलेको पनि बिर्सिदिनुस्। बनाउन सकिन्छ। सर्वोच्च अदालत देखि लिएर देशभरिका वडा कार्यालय देखि लिएर प्रत्येक कुरालाई बनाउन सकिन्छ। तर सबभन्दा ठूलो कुरो मैले लेख्दा पनि लेखेको छु – मन जल्यो भने मनैले सिउन सकिएला, धन जल्यो भने अभावमा जिउन सकिएला, तन जल्यो भने अर्को जुनी लिउँला भनेर भन्न सकिएला। तर तन, मन, धन भन्दा माथि तिम्रो मेरो विश्वास जल्यो भन्ने अवस्था आयो भने त्यो विश्वासलाई कसरी गाँस्ने?

आज देशमा विश्वास गाँस्नु परेको छ। देशमा नयाँ आशा जगाउनु परेको छ। आज नेपाली कांग्रेस पार्टीको विधिवत रूपमा प्रक्रिया टुंगिएपछि मलाई लाग्छ यो नेपाल देशको प्रत्येक नेपाली नागरिक जो कांग्रेस हुनुहोला या अन्य दलको हुनुहोला सबैको लागि एउटा विश्वास जगाउने घडी पनि हो। आउनुहोस् आशाको दियोमा, यो आशा जागेको क्षणमा आशाको दियोमा प्रेमको तेल थप्दै विश्वास जगाऔँ। तपाईं हामीले विश्वास जगाउनु जरुरी छ।

म सँगैमा सरकारलाई पनि आग्रह गर्न चाहन्छु – त्यो विश्वासलाई मूर्तिकृत गर्न फागुन २१ को निर्वाचनलाई सम्पन्न गराउने गरी अब सरकार अझ दृढतापूर्वक उभियोस्। नेपाली कांग्रेस पार्टीको सम्पूर्ण रूपले साथ सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा चुनावमा जाँदै गर्दा त्यो सरकारलाई हाम्रो पुरा साथ रहन्छ। तर हामीले भनेका छौँ कि सरकारले वातावरण बनाउने सन्दर्भ अझै काम गर्न बाँकी छ, त्यो काम पनि गर्दै जाउँ।

हामी आग्रह गर्न चाहन्छौं अन्य सबै राजनीतिक दलका साथीहरूलाई – प्रतिस्पर्धालाई मित्रवत् बनाऔँ, हार्दिक बनाएर जाउँ। प्रि-पोल एलाइन्सको च्याप्टरलाई छोडेर जाउँ, सबै एक्ला-एक्लै लडेर जाउँ। उ र उ मिलेको छ, उ र उ मिलेको छ – यो खालको कुरो नागरिकलाई मन परेन। केवल देख्दै गर्दा प्रधानमन्त्रीको कुर्सी मात्रै ताकी राखेर गर्ने गठबन्धनहरू अब खारेज भएका छन्। अब त्यो खारेज भएको चिज हामी कांग्रेसले विधिवत रूपमा विशेष महाधिवेशनबाट निर्णय गर्ने, महासमितिबाट निर्णय गर्ने र खारेज गर्ने अनि बाँकीले त्यसलाई बोकेर जाने कामलाई अब बन्द गरिदिउँ। एक्ला-एक्लै प्रतिस्पर्धा गरौँ। चाहिने सिट बहुमत पुगेन सरकार बनाउने बेलामा पुगेन भने त्यो बेलामा त्यही बेलामा आवश्यक गणितको लागि संवाद गरौँला। अघि मैले भने जस्तै पद्धतिको राष्ट्रिय सहमतिका साथ चुनाव जान सकियो भने बाटो त आफैँ बनिहाल्ला।

त्यसैले सबै राजनीतिक दललाई पनि त्यसमा विनम्र आग्रह छ। चुनावमा जाँदै गर्दा खेरि एउटाले अर्कोको उछितो काढ्नै पर्ने, गाली गर्नै पर्ने यो कार्यलाई पनि बन्द गरिदिउँ। निर्वाचन एउटा आचार संहिताको जगमा, विनम्रताको जगमा, स्वस्थ प्रतिस्पर्धा गरेर हामी जाउँ। निर्वाचनमा जाँदै गर्दा यो पनि गरिदिन्छु, त्यो पनि गरिदिन्छु, यो पनि भइहाल्छ, त्यो पनि भइहाल्छ भनेर भनिदिने, निर्वाचन पछाडि गाउँमा फर्किएर नआउने भन्ने आरोपको अवस्थाबाट हामी प्रत्येक साथीहरू मुक्त हुन तर्फ लागौँ। आवश्यकता भन्दा बढी देशको, राष्ट्रको ढुकुटीमा भएको क्षमता भन्दा बढी आशा देखाउने अनि आशा देखाएर पुरा गर्न नसकेर नागरिकलाई निराशामा पुर्‍याउने र निराशामा पुर्‍याइसकेर अनि देशमा अर्को विद्रोहलाई सिर्जना गर्ने कर्ममा नलागौँ।

त्यसैले यो बेलामा चाहे पाका उमेरका आमाबुबा दिदीबहिनी दाजुभाइहरू जसले गाउँमा सुन्दै हुनुहोला या नौजवान उमेरका शहरमा या कहीँ बसेर मलाई सुनिरहनुभएको होला – हामी सबै पाकाहरूको आशिर्वाद हाम्रो शिरमा चाहन्छौं। समस्त नेपाली आमा दिदीबहिनीहरूको प्रेम स्नेह हाम्रो हृदयमा चाहन्छौं। अनि हामी प्रत्येक नौजवानसँग हामी प्रति आशा होइन, हामी प्रति आशा होइन, हामी प्रति विश्वास गरिदिन, भरोसा गरिदिन र त्यो भरोसामा खबरदारी हामीलाई गर्दै नौजवानहरूलाई हाम्रो साथमा उभिदिनलाई अपील पनि गर्न चाहन्छौं।

नेपाली कांग्रेस पार्टीको तर्फबाट म सम्पूर्ण नेपाली आमाबुबा दिदीबहिनी दाजुभाइलाई यो घडीमा फेरि पनि नमन गर्न चाहन्छु। जननायक बीपी कोइरालाले दिएको विचार प्रति अटल निष्ठावान भएर शहीदहरूले गरेको सहादत प्रति चाहिँ गम्भीरतापूर्वक इमानदार ढंगले अगाडि बढ्ने शपथ लिएर हामीले नवीन यात्रा सुरु गर्दै गर्दा पार्टीका मन अलि-अलि कहीँ-कहीँ कतै दुखेका जो-जसका मनहरू छन् ती सबैसँग विनम्रतापूर्वक दुःख व्यक्त गर्दै सबैलाई यो नवीन यात्रामा महान यात्रामा एकतावद्ध भइदिनका लागि म अपील गर्न चाहन्छु।

निवर्तमान केन्द्रीय कार्यसमितिमा रहनुभएका तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक भएर कार्य गरिरहनुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पार्टी केन्द्रीय समितिमा विश्वप्रकाश र गगन थापाको जति उमेर गुजारेर कार्य गरिसक्नुभएका आदरणीय नेताहरू, त्यो समितिमा रहनुभएका अन्य युवा साथीहरू सबैलाई पनि यो महान अभियानमा अब मुद्दा मामिला आदि इत्यादि कोर्ट कचहरी गरेर समय खेर नफालेर एउटा नवीन यात्रामा जानका लागि चाहिँ सँगसँगै उभियौँ, सँगसँगै बढौँ, समुन्नत नेपालको लागि बदलिएको कांग्रेस लिएर जाउँ अपील आग्रह गर्न चाहन्छु।

यति भनिराखेर म फेरि पनि समस्त नेपाली कांग्रेस पार्टीका आदरणीय साथीहरूलाई बधाई दिन चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु र सिंगो नेपाललाई नवीन कांग्रेसका साथ नवीन नेपालको यात्रामा ऐक्यवद्ध बन्नका लागि अपील गर्न चाहन्छु।

Logo