काठमाडौँ, । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् ।
विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्मबाट मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिदा ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री सङ्घीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन् ।
पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पाँच पटकसम्म अर्थमन्त्री बनेका निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल, समान दुईपटक अर्थमन्त्री भएका वर्षमान पुन र जनार्दन शर्मा, अर्थमन्त्रीको जिम्मेवारी सम्हाले पनि वार्षिक बजेट ल्याउन नपाएका ज्ञानेन्द्रबहादुर कार्की र अघिल्लोपटक समानुपातिक सांसद रहेर अर्थमन्त्री बनेका डा प्रकाशशरण महत आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुन् । पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जबरा पनि प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।
शीर्षस्थ दलसँगको आबद्धता, प्रभावशाली राजनीतिज्ञका रुपमा पहिचान र दरिलो विषयगत ज्ञान भए पनि यी कुनैपनि पूर्वअर्थमन्त्रीले लगातार दुई आर्थिक वर्षको बजेट ल्याउन पाएनन् । पटक–पटक फेरिने राजनीतिक गठबन्धन र सरकार बन्ने–भत्किने श्रृङ्खला चलिरहँदा यी कुनै पनि अर्थमन्त्रीले अघिल्लो वर्षका योजना र कार्यक्रम पछिल्लो वर्ष आफै निरन्तरता दिने अवसर पाएनन् । बजेट निर्माण गर्दा एउटा र कार्यान्वयन गर्दा अर्कै व्यक्ति अर्थ मन्त्रालयको नेतृत्वमा रहने क्रम पटक–पटक दोहोरियो ।
विसं २०६५ यताको बजेट इतिहास हेर्दा राष्ट्रियसभा सदस्यका रुपमा संसद् छिरेका डा युवराज खतिवडाले तीन वटा, संविधानसभा सदस्य डा रामशरण महतले दुई वटा र तत्कालीन अन्तरिम चुनावी मन्त्रिपरिषद्का अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले दुई वटा बजेट लगातार ल्याएको देखिन्छ । अध्यादेशमार्फत ल्याइका पेस्की बजेट र पुरक बजेटलाई छोडेर हेर्ने हो भने प्रतिनिधिसभा सदस्यका रुपमा माथि उल्लिखित कुनै पनि पूर्वअर्थमन्त्रीले लगालग दुई आर्थिक वर्षको बजेट ल्याउन पाएका थिएनन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर दुईबाट उम्मेदवारी दर्ता गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्न लाग्नुभएका भट्टराईले अर्थमन्त्रीका रुपमा आर्थिक वर्ष २०६५र६६ को बजेट ल्याउनुभएको थियोे । त्यो वर्ष असार र असोज गरी दुई वटा बजेट ल्याइएको थियो । डा भट्टराईको राजनीतिक जीवन २०२७ सालमा तत्कालीन नेकपा ९चौथो महाधिवेशन० बाट सुरु भई २०३४ मा अखिल भारत नेपाली एकता समाजको संस्थापक अध्यक्ष, २०४७ मा संयुक्त जनमोर्चाको अध्यक्ष, २०५१ सालमा तत्कालीन नेकपा ९माओवादी० मा आबद्ध भएपछि २०६२ सम्म भूमिगत जीवन र त्यसपछि मूलधारको सक्रिय राजनीतिसम्म पुगेको देखिन्छ ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाली कम्युनिष्ट पार्टीबाट रोल्पा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रोल्पा क्षेत्र १ बाट निर्वाचित भएका थिए । सांसदका रुपमा पहिलोपटक २०६४ सालमा संविधानसभा सदस्य बन्नुभएका पुन २०६७ सालमा शान्ति तथा पुनर्निमाण मन्त्री, २०६८ सालमा अर्थमन्त्री, २०७४ सालमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र २०८० फागुनमा पुनःअर्थमन्त्री बनेका थिए । उनले आर्थिक वर्ष २०८१र८२ को वार्षिक बजेट र आर्थिक वर्ष २०६९र७० का लागि अध्यादेशमार्फत् बजेट ल्याएका थिए ।
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि रुपन्देही २ मा नेकपा ९एमाले० बाट उम्मेदवारी दर्ता गरेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचन २०७९ मा सोही क्षेत्रबाट निर्वाचित भएको थियो । हालसम्म पाँच पटकसम्म अर्थमन्त्री बन्नुभएका र तीन आर्थिक वर्षको बजेट ल्याएका पौडेल २०६४ र २०७० मा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्य थिए । हाल कार्यान्वयनमा रहेको चालु आर्थिक वर्ष २०८२र८३ को बजेट पौडेलले ल्याएका थिए । आर्थिक वर्ष २०७३र७४ र आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याउँदा पौडेल अर्थमन्त्री थिए । विसं २०५१ मा पहिलोपटक सांसद बन्नुभएका पौडेल २०५३ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, २०६५ सालमा जलस्रोत मन्त्री, २०६७ सालमा रक्षामन्त्री र २०७२ सालमा पहिलोपटक अर्थमन्त्री बनेका थिए ।
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सुनसरी ४ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा निर्वाचन २०७९ र २०७४ सालमा सोही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, कानुन न्याय तथा संसदीय मामिलामन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा जिम्मेवारी निभाइसकेका छन् ।
पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गृह जिल्ला रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्, २०६४ र २०७० सालमा संविधानसभा सदस्य तथा प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ सालमा रुकुम पश्चिमबाट निर्वाचित भएका थिए । विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, २०७३ सालमा ऊर्जामन्त्री, २०७४ सालमा गृहमन्त्री र २०७८ सालमा अर्थमन्त्री बनेका थिए । उनले आर्थिक वर्ष २०७९र८० को बजेट ल्याएको थिए।
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महत नुवाकोट १ बाट उम्मेदवारी दिएको छ । उनले नेपाल विद्यार्थी सङ्घको महामन्त्री, राष्ट्रिय योजना आयोगको सदस्य, प्रधानमन्त्रीको सल्लाहकार, परराष्ट्रमन्त्री, ऊर्जामन्त्रीको जिम्मेवारी निभाइसक्नुभएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा उहाँ नेपाली कांग्रेसबाट समानुपातिक सांसदका रुपमा निर्वाचित भएका थिए । डा महतले आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याएका थिए ।
पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर जबराले ललितपुर १ बाट उम्मेदवारी दिएका छन् । उनले नेपाल तरुण दलको केन्द्रीय अध्यक्षका रुपमा २०६८ देखि २०७२ सालसम्म भूमिका निर्वाह गरेका थियो । संविधानसभा सदस्य २०७० सालमा रहेका राणा २०७४ सालमा अर्थ राज्यमन्त्री बनेका थिए ।
निर्वाचनमा होमिएका उल्लिखित पूर्वअर्थमन्त्रीहरुले मात्र नभई अपवादबाहेक कसैले पनि आफूले ल्याएका बजेटको आफैँ कार्यान्वयन गर्न सकेनन् । आर्थिक वर्ष २०७४र७५ को बजेट तत्कालिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले ल्याएका थिए भने आर्थिक वर्ष २०७५र७६, आव २०७६र७७, आव २०७७र७८ मा डा युवराज खतिवडा, आर्थिक वर्ष २०७१र७२ र आव २०७२र७३ मा डा रामशरण महत र आर्थिक वर्ष २०६९र७० र २०७०र७१ आवमा शङ्करप्रसाद कोइरालाले वार्षिक बजेट ल्याएका थिए ।
त्यस्तै, आव २०६८र६९ का लागि तत्कालिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट ल्याएका थिए भने आर्थिक वर्ष २०६७र६८ का लागि सुरेन्द्र पाण्डे र आर्थिक वर्ष २०६५र६६ का लागि डा बाबुराम भट्टराईले बजेट पेस गरेका थिए ।



प्रतिक्रिया