गलेश्वर (म्याग्दी) । म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै यहाँ निर्वाचनको माहोल बन्दै गएको छ । आगामी फागुन २१ गते निर्वाचनको मिति नजिकिँदै जाँदा विशेषगरी पहिलो पटक नाम दर्ता गराएका युवा मतदानका लागि उत्साहित देखिएका छन् । जेनजी आन्दोलनपछि अब आउने जनप्रतिनिधिले युवाको भावना बुझ्ने भन्दै उनीहरूमा उत्साह थपिएको हो ।
यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जना व्यक्तिले उम्मेदवारी (मनोनयन) दर्ता गराएकामा १२ जनाको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारसहित राजनीतिक दलका नेताहरू मत माग्न जनताको घरघरमा जान, विभिन्न ठाउँमा भेला र छलफल गर्न व्यस्त हुन थालेका छन् ।
बेनी नगरपालिका–२ का निकेश सापकोटा पहिलो पटक मतदान गर्दै छन् । उनले व्यक्तिगत छविमा कुनै दाग नलागेका, देश विकास गर्ने योजना भएका र युवाको मनोभावना र देशको आवश्यकतालाई बुझेर इमानदारीपूर्वक काम गर्ने नेतालाई निर्वाचित गरेर पठाउनका लागि फागुन २१ मा मत हाल्न आफू उत्साहित भएको बताए।
“म पहिलो पटक मतदान गर्न लागेको छु । उत्साहित छु । देश र जनताको मनोभावनालाई बुझेर काम गर्न सक्ने योग्य र इमानदार उम्मेदवारलाई भोट हाल्छु,” सापकोटाले भने । दलहरूले आ–आफ्ना पार्टी र उम्मेदवार नै योग्य भएको भनेर प्रचार गरी मत मागे पनि कसलाई जिताउने भन्ने अधिकार मतदातामा रहेको बताउँदै सापकोटाले आफू पहिलो पटक अधिकारको प्रयोग गर्न लागेकामा खुसी व्यक्त गरे ।
यस्तै, बेनी नगरपालिका–७ की २१ वर्षीया संगीता विक सबै उम्मेदवारहरूको कुरा सुनेर र उनीहरूलाई राम्रोसँग बुझेर मात्र कसलाई मत दिने भन्ने कुरा निर्णय गर्ने बताउछिन् । “म उम्मेदवारहरूको कुरा सुनेर र एजेन्डा हेरेर मत दिने मुडमा छु । सक्षम नेतृत्व छनोट गर्न नसक्दा दुःख जनतालाई नै हुँदो रहेछ भन्ने कुरा हामीलाई विगतले सिकाएको छ । त्यसैले राम्रो र सक्षम नेतृत्वलाई मत दिएर विजयी बनाउन आवश्यक छ,” उनले भनिन् । विक जेनजी आन्दोलनका पक्षमा पनि लागेकी थिइन् । उनी पहिलो पटक मतदान गर्दै छिन्।
त्यस्तै, मङ्गला गाउँपालिका–४ का दीपेश बुढा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक मतदान गर्दै छन् । युवा पुस्ताको आन्दोलनपछि अब देशको विकास हुन्छ कि भन्ने लागेर मतदान प्रक्रियामा सहभागी हुने उनले बताए । “अहिले म्याग्दीको निर्वाचन पनि निकै चर्चामा छ । नयाँ दल र नयाँ व्यक्ति निर्वाचनमा सहभागी भएका छन् । पार्टीभन्दा पनि योग्य मान्छेलाई हेरेर मतदान गर्ने सोच बनाएको छु,” बुढाले भने ।
रघुगङ्गा गाउँपालिकाका संगम पुन पनि आफूले पहिलो पटक मतदान गर्न लागेको र त्यसको सही प्रयोग गर्न उम्मेदवारबारे अध्ययन गरिरहेको बताउछन् । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित फागुन २१ को पर्खाइमा रहेको उनको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको जिल्लामा अन्य एक, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् ।
निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ । अधिकांश युवा मतदाता रहेका छन् । केही यसअघि नै उमेर पुगे पनि मतदाता नामावलीमा पहिलो पटक नाम दर्ता गराएकाहरू हुन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबारसम्म ६६ वटा मतदानस्थलको अनुगमन तथा निरीक्षण गरिएको छ । निर्वाचनका लागि सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढेको छ ।



प्रतिक्रिया