वेस्ट विङ स्कुलको वार्षिक खेलकुद महोत्सव सम्पन्न

वेस्ट विङ स्कुलको वार्षिक खेलकुद महोत्सव सम्पन्न

काठमाडौं एक्सप्रेस

ललितपुर- महालक्ष्मी नगरपालिका- ८ स्थित वेस्ट विङ सेकेण्डरी स्कुलले वार्षिक खेलकुद महोत्सव ‘वेस्ट विङ एनुअल स्पोर्ट्स कार्निभल २०८२’ भव्यताका साथ सम्पन्न गरेको छ। १६ माघ शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच महोत्सव भएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण भक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समापन समारोह दुई सत्रमा सम्पन्न भएको थियो । पहिलो सत्र (जुनियर)मा महालक्ष्मी नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठ तथा दोस्रो सत्र (सिनियर) मा नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा शिक्षा निर्देशक चिरञ्जीवी पौडेल र रोटरी क्लब अफ ललितपुर मिड-टाउनका पूर्व अध्यक्ष एवं विद्यालय सल्लाहकार सुनिल कृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षा अधिकृत सुनिता योङहाङ, सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठ, संस्थापक अध्यक्ष बसन्त कुमार श्रेष्ठ र संस्थापक प्रिन्सिपल डालिया दास गुप्ता लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो। साथै, लुभु महानगरीय प्रहरी प्रभागका इन्चार्ज गोकर्ण नेपाल र प्राथमिक स्वास्थ्य केन्द्र लुभुका इन्चार्ज डा. रमिन महर्जनको समेत सहभागिता रहेको थियो।

महोत्सवलाई सफल पार्न विद्यालयको सञ्चालक समिति, व्यवस्थापन समिति र अभिभावक शिक्षक संघले सक्रिय भूमिका खेलेका थिए। विद्यालयका प्रिन्सिपल बाबुराज महर्जनले खेलकुदले विद्यार्थीको शारीरिक मात्र नभई मानसिक विकासमा पनि ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न खेल विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।

Logo