प्रविधिमार्फत चुनावी एजेण्डा संकलन गर्दै घिमिरे, अनलाइनमा पनि मागे सुझाव

प्रविधिमार्फत चुनावी एजेण्डा संकलन गर्दै घिमिरे, अनलाइनमा पनि मागे सुझाव

काठमाडौं एक्सप्रेस

झापा- झापा क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बनाएका छन् । प्रतिनिधिसभाका निवर्तमान सभामुख समेत रहेका घिमिरेले यस पटक मतदाताका घरदैलोमा पुग्ने परम्परागत शैलीसँगै डिजिटल माध्यमलाई पनि सशक्त रूपमा प्रयोग गरिरहेका छन् ।

उम्मेदवार घिमिरेले आफ्नो चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) तयार पार्न स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता खोजेका छन् । यसका लागि उनले एक क्युआर कोड र वेबसाइट लिङ्क सार्वजनिक गर्दै झापा क्षेत्र नं. २ का मतदाताहरूसँग सुझाव आह्वान गरेका छन् ।

घिमिरेका अनुसार, आगामी कार्यकाल (२०८२-८७) का लागि बनाइने प्रतिबद्धता पत्रमा जनताका वास्तविक समस्या र आवश्यकतालाई समेट्न यो प्रविधि अपनाइएको हो। “झापा क्षेत्र नं. २ का आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको सुझावलाई नै हामीले हाम्रो मार्गचित्र बनाउनेछौँ,” उनको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भई सभामुख समेत भएका घिमिरेलाई यस पटक ‘अनुभवी’ र ‘प्रविधिमैत्री’ उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ। उनले मतदाता भेटघाटका क्रममा स्थानीय विकास, पूर्वाधार र शिक्षाका मुद्दाहरूमा छलफल गर्दै डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावहरूलाई पनि उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

Logo