सउल- दक्षिण कोरियामा नेपालको पर्यटन प्रवर्द्धनका लागि कोरियास्थित नेपाली राजदूतावासले तयार गरेको प्रवर्द्धनात्मक भिडियो कोरियाको रेलमा प्रसारण सुरू भएको छ । कोरियाली रेल सेवा कम्पनी कोरेलद्वारा सञ्चालन हुने सउल–बुसान रुटको केटीएक्स हाई–स्पीड ट्रेन नम्बर १०१ मा प्रसारण सुरू भएको हो । उक्त भिडियो सन् २०२६ फेब्रुअरी १ देखि रेलभित्र नियमित रूपमा देखाउन थालिएको हो।
राजदूतावासका अनुसार भिडियो प्रति दिन कम्तीमा दुई पटक निःशुल्क रूपमा इन–ट्रेन स्क्रिनिङ हुँदै आएको छ । कोरियास्थित नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले पहिलोपटक १४ अप्रिल २०२५ मा कोरेलका प्रमुख कार्यकारी अधिकृतसँगको औपचारिक भेटघाटका क्रममा प्रस्ताव राखेकी थिइन् । कोरेल र योनहाप समाचार एजेन्सीको सहकार्यमा फेब्रुअरी महिनाभरि भिडियो प्रदर्शन गर्ने सहमति भएको राजदूतावासले जनाएको छ।

भिडियोमा बुद्धजन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, चितवन राष्ट्रिय निकुञ्ज, स्वयम्भूनाथ, बौद्ध स्तूप तथा नेपाली कला, संस्कृति र जीवनशैली झल्काउने दृश्यहरू समेटिएका छन्।
नेपाली राजदूत डा. तुम्बाहाङ्फेले दक्षिण कोरियामा केटीएक्सजस्तो लोकप्रिय र दैनिक लाखौँ यात्रु प्रयोग गर्ने रेल्वे सेवामार्फत नेपालको पर्यटन प्रवर्द्धन हुनु सुखद भएको बताइन् । ‘यसले नेपाललाई कोरियाली जनतामाझ अझ नजिक ल्याउनेछ र कोरियाबाट नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि गर्न सकारात्मक योगदान पुग्ने विश्वास छ,’ उनले भनिन् ।
केटीएक्स सउल–बुसान रुट कोरियाको सबैभन्दा व्यस्त रेल मार्ग हो ।



प्रतिक्रिया