महालक्ष्मी लोकनृत्य प्रतियोगिताको उपाधि मेरी वार्डलाई

महालक्ष्मी लोकनृत्य प्रतियोगिताको उपाधि मेरी वार्डलाई

काठमाडौं एक्सप्रेस

काठमाडौं- महालक्ष्मी नगरपालिका स्तरीय चौथोँ लोकनृत्य प्रतियोगिता–२०८२ को उपाधि मेरी वार्ड स्कुलले जितेको छ । नगरभित्र रहेका विद्यालयहरूमा लोकसंस्कृति संरक्षण, मौलिक कला प्रवर्द्धन तथा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले महालक्ष्मी नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।

बुधबार वेस्ट विङ स्कूल लुभुमा सम्पन्न फाइनल प्रतियोगितामा अन्य प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै मेरी वार्ड स्कुलले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा भ्याली पब्लिक स्कुल द्वितीय तथा माउण्ट ओलिभ स्कुल तृतीय भएको छ ।

त्यस्तै, जेनियम एकेडमी, श्री महालक्ष्मी माध्यमिक विद्यालय र गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

विधागततर्फ बेस्ट कोरियोग्राफरको उपाधि श्री तारापुञ्ज इङ्गलिस स्कुलले जितेको छ भने बेस्ट ड्रेसअप तर्फ श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय उत्कृष्ट घोषित भएको छ ।

निर्णायक मण्डलले नृत्यको मौलिकता, प्रस्तुति, सांस्कृतिक सन्देश, वेशभूषा र समग्र स्टेज प्रस्तुतीकरणलाई आधार मानी नतिजा सार्वजनिक गरेको जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षता तथा नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्णभक्त महर्जनको प्रमुख निर्णायकको भूमिका रहेको थियो । नगर उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गाना, शिक्षा निर्देशक चिरञ्जीवी पौडेल, वडा अध्यक्ष कार्यपालिका सदस्य, नगर शिक्षा समिति पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन नगरप्रमुख तथा नगर उपप्रमुखबाट पानसमा बत्ती बालेर गरिएको थियो । शिक्षा निर्देशक चिरञ्जीवी पौडेलज्यूले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

Logo