काठमाडौँ, । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । यी स्थानमा बादल लाग्नुका साथै हल्का मेघगर्जन सुरु भएको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् विभूती पोखरेलले माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखाका कारण आज देशका विभिन्न भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताएका छन् । “आज साँझसम्म वर्षाको सम्भावना रहे पनि पश्चिमी न्यूनचापीय रेखा कमजोर हुँदै जाने भएकाले क्रमिक रूपमा सुधार हुने छ,” उनले भने ।
पोखरेलका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
तराईका केही क्षेत्रमा भने बिहीबार बिहानको समयसम्म नै हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसले विशेषगरी सवारी आवागमन र हवाई उडानमा सामान्य असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।



प्रतिक्रिया