पाटन र महालक्ष्मीलाई जोड्दै महर्जनका चुनावी एजेन्डा

पाटन र महालक्ष्मीलाई जोड्दै महर्जनका चुनावी एजेन्डा

काठमाडौं एक्सप्रेस

ललितपुर- नेकपा (एमाले) का तर्फबाट ललितपुर क्षेत्र नं. २ का उम्मेदवार प्रेम बहादुर महर्जनले पाटनको ऐतिहासिक विरासत र महालक्ष्मीको उदाउँदो सहरीकरणलाई जोड्ने गरी आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई स्थानीयस्तरमा कार्यान्वयन गर्न उनले सांस्कृतिक संरक्षण र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेका हुन् ।

सांस्कृतिक संरक्षण र पहिचान
महर्जनले ललितपुरको मूर्त र अमूर्त सम्पदाको जगेर्नालाई आफ्नो पहिलो एजेन्डा बनाएका छन् । विशेष गरी विश्वप्रसिद्ध रातो मच्छिन्द्रनाथ र लुभूको महालक्ष्मी यात्रालाई व्यवस्थित बनाउने उनको योजना छ । उनी भन्छन्- “पाटनको रातो मच्छिन्द्रनाथ र लुभूको महालक्ष्मी रथयात्रा हाम्रो पहिचान हो, यसका लागि आवश्यक चालु खर्च वार्षिक अनुदानका रूपमा व्यवस्था गर्न म प्रतिबद्ध छु ।”

यसका साथै तःबहालस्थित गुठी संस्थानको जीर्ण भवन पुनःनिर्माण गरी त्यहाँ बुंगःद्यो र मीननाथको जीवन्त संग्रहालय निर्माण गर्ने, हस्तकला उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन निकासीमैत्री कानुन बनाउने र मूर्तिकला, काष्ठकला जस्ता शिल्पकलालाई पुस्तान्तरण गर्ने कार्यक्रम ल्याउने उनले बताएका छन् ।

भौतिक पूर्वाधार र विकास
भौतिक पूर्वाधारको क्षेत्रमा महर्जनले अधुरा आयोजना पूरा गर्ने र नयाँ रणनीतिक सडक तथा पुलहरू निर्माण गर्ने लक्ष्य राखेका छन् । ग्वार्को फ्लाईओभर र लुभू-लाकुरीभञ्ज्याङ सडक जस्ता ठूला आयोजना सम्पन्न भइसकेको सन्दर्भ जोड्दै उनले आगामी दिनमा थप पूर्वाधारको खाका प्रस्तुत गरेका छन् ।

सडक सञ्जालबारे उनी भन्छन्- “इमाडोल र बाफल जोड्ने कर्मनाशा खोलामा पैदलयात्री पुल र ग्वार्को–इमाडोल जोड्ने स्थानमा पक्की पुल निर्माण गर्ने मेरो प्राथमिकता छ । यस्तै, लाकुरीभञ्ज्याङलाई प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बृहत् पर्यटकीय पार्क निर्माण गरिनेछ ।” कर्मनाशा, गोदावरी र हनुमन्ते खोला कोरिडोरको बाँकी काम चालु आर्थिक वर्षभित्रै सक्ने उनको दाबी छ ।

खानेपानी र सरसफाइ
महालक्ष्मी नगरपालिकामा व्याप्त खानेपानीको समस्या समाधान गर्न केयूकेएलसँगको समन्वयमा पूर्वाधार विकास गर्ने महर्जनको एजेन्डा छ । लामाटारदेखि काभ्रेको मानेदोभानसम्म २.४ किलोमिटर सुरुङमार्ग खनेर पानी ल्याउने महत्त्वाकांक्षी योजना उनले अघि सारेका छन् । “स्वच्छ खानेपानी नागरिकको अधिकार हो, स्थानीय इनार, कुवा र ढुङ्गेधाराको संरक्षण गर्दै हरेक घरमा खानेपानी पुर्‍याउन म कटिबद्ध छु,” उनी भन्छन् ।

शिक्षा, स्वास्थ्य र डिजिटल युवा
महर्जनले युवा पुस्तालाई लक्षित गर्दै ‘डिजिटल युवा’को अवधारणा ल्याएका छन् । प्रविधिमा आधारित रोजगारी सिर्जना गर्न आइटी पार्क निर्माण गर्ने र सरकारी सेवालाई प्रविधिमैत्री बनाउने उनको योजना छ । शिक्षा र स्वास्थ्यका सन्दर्भमा उनी भन्छन्- “प्रभात मावि र कालिकादेवी माविको पुनःनिर्माण यसै वर्ष सक्नेछौँ । साथै थसी सामुदायिक अस्पताल र ज्येष्ठ नागरिक आनन्द निकेतनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक पुँजीगत अनुदानको व्यवस्था गरिनेछ ।”

सामाजिक सुरक्षा र भूमि व्यवस्था
महर्जनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाको सामाजिक सुरक्षा भत्तालाई महँगी अनुसार वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, वर्षौँदेखि थाती रहेको स्वबासी, बेनिसा र रैकर जग्गाको स्वामित्व दिलाउन नीतिगत पहल गर्ने उनले बताएका छन् । उनी भन्छन्- “भूमि स्वामित्वमार्फत सम्पत्तिको अधिकार सुनिश्चित गर्नु मेरो मुख्य दायित्व हुनेछ ।”

वि.सं. २०२३ सालमा ललितपुर-८ मा जन्मिएका महर्जन कानून, इन्जिनियरिङ र ग्रामीण विकासका ज्ञाता हुन् । उनले वि.सं. २०४९ र २०५४ मा दुई पटक वडा अध्यक्ष भएर स्थानीय विकासको अनुभव बटुलेका छन् ।

ज्यापू समाज यलको पूर्व अध्यक्ष समेत रहेका महर्जन वि.सं. २०७९ मा प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएका थिए । उनी अघिल्लो प्रतिनिधि सभामा उपत्यकाका १५ सांसदमध्ये शून्य र विशेष समयमा सबैभन्दा धेरै पटक जनताका आवाज उठाउने र संसदमा धेरै समय बोल्ने सांसदका रूपमा चिनिन्छन् ।

Logo