काठमाडौँ, । अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने आशङ्काकाबीच निर्वाचन आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकामा धन्यवाद दिँदै यसको सम्पूर्ण यश आयोगले पाउने बताएका छन् ।
आज आयोगको कार्यालय बहादुर भवन पुगेर अर्थमन्त्री खनालले कुनै एक ठाउँमा पनि स्थगित नभई निर्वाचन सम्पन्न गरेकामा आयोगका पदाधिकारीलाई धन्यवाद दिएका हुन् । जेनजी पुस्ताको आन्दोलनपछि मुलुक अशान्त भएको अवस्थामा पनि आयोगले दृढ इच्छाशक्तिले काम गरेर निर्वाचन सम्पन्न भएको बताए ।
यसअघिको निर्वाचनका क्रममा ५१ स्थानमा स्थगित भई पुनः निर्वाचन भएको अर्थमन्त्री खनालले स्मरण गरे । कैदीबन्दी फरार रहेकाले शान्तिपूर्ण रूपमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशङ्काबीच आयोगले बनाएको कार्यतालिकामा कुनै पनि सम्झौता नगरी काम भएको उनले उल्लेख गरे ।
आयोगको प्रभावकारी कार्यतालिका र कामप्रतिको अठोटका कारण निर्वाचन सम्पन्न गराउन सकिएको अर्थमन्त्री खनालले बताए । “लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ रूपमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने भावनाको विकास गराउन पनि आयोग सफल भएको छ । एक स्थानमा पनि स्थगित नभई सफलतापूर्वक निर्वाचन सम्पन्न भएको छ, देशमा सुशासन कायम गराउने युवापुस्ताको माग निर्वाचनले सफल बनाएको छ”, सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाका विषयमा छानबिन गर्न गठित आयोगले आज दिएको प्रतिवेदनका विषयमा यो सरकारले कार्यान्वयन गर्ने समय नहुने भएकाले मन्त्रिपरिषद्मा छलफल गरी सार्वजनिक गर्ने पहल गर्ने अर्थमन्त्री खनालले प्रतिबद्धता व्यक्त गरे । प्रतिवेदन कार्यान्वयनका लागि अब बन्ने सरकारले काम गर्ने उनको भनाइ छ ।
सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा पनि सहभागी थिए । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीले मन्त्रीद्वयलाई मतगणनालगायत निर्वाचनका विषयमा जानकारी गराएका थिए ।



प्रतिक्रिया