काठमाडौँ, । हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली हुने सयम हो । तर, यसपटक भने काठमाडौँ उपत्यकामा अघिल्ला वशन्तहरु भन्दा केही बढी हरियाली छाएको देखिएको छ ।
वसन्त ऋतुको आगमनसँगै यतिखेर काठमाडौँका कतिपय सडक दायाँबायाँ र बस्तीछेउ सफा र हराभरा भएका छन् । अघिल्लो हप्तासम्म खडेरी र धुवाँधुलोले काठमाडौको आकाश धुम्म थियो । केही दिनयताको वर्षाले रुखविरुवाका पात पखालिए भने सडक र बस्ती पनि सफा भएका छन् ।
वर्षासँगै काठमाडौँ उपत्यकाको आकाशमा देखिएको तुँवालो हटेको छ । तुवाँलो हटेसँगै उपत्यकाका वरपरिका डााडँहरु पनि स्वच्छ र हरियाली वातावरण देखिएको छ । यतिबेला काठमाडौँको मुख्य सडकका छेउछाउदेखि विभिन्न पार्कमा हरियाली छाएको देख्न सकिन्छ । वसन्त ऋतुमा धेरै विदेशी पाहुनाहरु समेत नेपाल आउने गरेका छन् ।
काठमाडौँको लैनचौर–महराजगञ्ज सडक, जमल–भद्रकाली सडक, माइतीघर–तीनकुने सडक, थापाथली–कालिमाटी सडक, ललितपुरको कुपण्डोल–पुल्चोक–जावलाखेल सडकका वरपर फूलेका फूलहरुले मानिसको ध्यान तानेको छ ।
ललितपुरमा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा चिरिबाबु महर्जन नगरप्रमुख भएसँगै त्यहाँको सडक वरपर रहेका वोटविरुवाको संरक्षण गरी थप वृक्षरोपण गरिएको थियो । ललितपुरको जावलाखेलमा रहेको चिडियाखाना वरपर पनि हाल हरियाली छाएको छ । यसैगरी, काठमाडौँको मुटुमा रहेको शङ्खधर उद्यान ९रत्नापार्क०, बाइसधारा उद्यान ९बालाजु पार्क० शङ्खपार्कलगायतका पार्कका बोटविरुवामा पालुवा पलाएर हरियाली छाएको छ ।
सन् २०१४ को डिसेम्बरमा काठमाडौँमा भएको दक्षिण एशियाली सहयोग सङ्गठन ९सार्क०को १८ औँ शिखर सम्मेलनको समयमा विदेशी पाहुनाको स्वागतार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर हुँदै सोल्टी होटलसम्म वोटविरुवा रोपिएको थियो ।
तीमध्येका कतिपय विरुवा हुर्काउन नसकिए पनि केही विरुवा भने सोही क्षेत्रका स्थानीयले मलजल गरी मर्न दिएका थिएनन् । ती विरुवा हुर्केर सडक छेउछाउको शोभा बढाएका छन् । बाँकी रहेका ती विरुवा हुर्केर अहिले काठमाडौँको सौन्दर्यमा केही चमक थपिदिएको छ ।
कोरोना महामारीको समयमा अक्सिजनको महत्वको खुब प्रचार भएको थियो । त्यसपछि मानिसहरुमा सम्भव भएसम्म घर परिसर या वरपरको बस्ती तथा सडकमा रुख विरुवा हुर्काउनुपर्छ भन्ने चेतना र भावना बढेको पाइएको छ । यसले पनि पछिल्लो समयमा काठमाडौँमा हरियाली वातावरण बनाउन केही सहयोग पुगेको पाइएको छ ।
कोरोनाको बेलामा अक्सिजनको चेतना भएसँगै धेरै मानिसहरुले घर वरपर र छतमा वृक्षरोपण गरेका छन् । त्यस महामारी यता काठमाडौँमा कौशी खेती बढेको पनि पाइएको छ । उक्त कार्यले पनि काठमाडौँको हरियालीमा थप सहयोग पुगेको छ ।
काठमाडौँ महानगरपालिका अन्तर्गत उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका इन्जिनीयर सरकारदीप श्रेष्ठ महानगरभित्रका विभिन्न १४० खुला स्थानमा पार्क निर्माण गरी हरियाली प्रवद्र्धनलाई अगाडि बढाउँदै आएको बताउछन् ।
“काठमाडौँभित्रका खुला ठाउँमा पार्क निर्माण गरी विभिन्न प्रजातिका फूल रोप्ने, दुबो रोप्ने, खोलाका किनारामा वृक्षरोपण गर्नेलगायतका कामलाई महानगरले प्राथमिकता दिएको छ,” उनीभन्छन् । महानगरले चार भागमा बाँडर ठेक्कामार्फत पार्कको व्यवस्थापन गर्दै आएको उनको भनाई छ ।
पार्कमा फूल रोप्ने, दुबो रोप्ने, पार्कको सरसफाईलगायतका काम ठेकेदारमार्फत हुँदै आएको छ । अहिले काठमाडौँ भित्रका अधिकाशं पार्कमा सिजनल फूलहरु फुलिरहेका छन् ।
यसबाहेक महानगरले काठमाडौँभित्रका ठूला सडकको आसपासमा रहेका फूटपाथमा विरुवाहरु रोप्ने कामसमेत गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा मात्र आठ हजार विरुवा रोपिएको इन्जिनीयर श्रेष्ठ बताउछन् । चालू आवमा पनि चार हजार विरुवा रोप्ने कार्यक्रम रहेको उनको भनाई छ ।
महानगरले गत वर्ष रोपेर मरेका विरुवाको ठाउँमा पुन नयाँ विरुवा रोप्ने अभियानलाई समेत अगाडि सारेको छ । इन्जिनीयर श्रेष्ठ महानगरले एक सिजनमा ३० हजार फूलका विरुवा रोप्ने गरेको बताउछन् ।
यसबाहेक महानगरले काठमाडौँभित्रका ठूला रुखहरुलाई काँटछाँट गरेर मिलाउने गरेको छ । काठमाडौँभित्रका दुई ठूला नदी बागमती र विष्णुमति नदीको किनारामा पाँच फिटभन्दा अग्ला बेगमबेली र विभिन्न प्रजातिका फलफूल रोप्ने कामलाई अगाडि बढाइएको इन्जिनीयर श्रेष्ठ बताउछन् ।
शङ्खधर उद्यान तथा रानीपोखरी एकाई ९रत्नापार्क० का प्रमुख उत्तमकुमार घले पछिल्लो समय रत्नापार्कको हरियाली हेर्न थुप्रै मानिसहरु आउने गरेको बताउछन् । विगत १५ वर्ष अगाडि रत्नापार्कलाई फोहरको दृष्टिकोणले हेर्ने गरेपनि पछिल्लो समय महानगरको उद्यान तथा हरियाली प्रवद्र्धन महाशाखाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै यहाँ घुम्न आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको उनी बताउछन् ।
रत्नापार्कका प्रमुख घले पार्कभित्र ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त, एकल महिलालाई प्रवेश निःशुल्क गरिएको बताउछन् । रत्नपार्कभित्र अहिले निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यहाँभित्र प्रवेश गरेर इन्टरनेट सेवा लिनेको सङ्ख्यासमेत बढ्न थालेको छ । काठमाडौँभित्रको वातावरण सौन्दर्यलाई थप प्रभावकारी बनाउन पार्कले विभिन्न योजना अगाडि सारेको छ ।
डिभीजन वन कार्यालयका काठमाडौँको सूचना अधिकारी अनुपा घिमिरे काठमाडौँभित्रको हरियालीलाई कायम गर्न डिभीजन वन कार्यालय काठमाडौँले चाल्नाखेलमा एक लाख विरुवा उत्पादन गरेको बताउछन् । उत्पादित विरुवालाई वहुवर्षीय रुपमा वृक्षरोपण गर्दै जाने उनको भनाई छ ।
सूचना अधिकारी घिमिरे डिभीजन वन कार्यालयले काठमाडौँभित्रका सडकको सौन्दर्यलाई कायम राख्न गतवर्ष टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कलङ्कीदेखि थानकोट सडकका फुटपाथमा एक हजारभन्दा बढी बोटविरुवा वृक्षारोपण गरेको बताउछन् ।
यसबाहेक डिभिजन वन कार्यालयले गतवर्ष काठमाडौँभित्रका विभिन्न सङ्घ, संस्था र समूहलाई वृक्षरोपणका लागि १० हजार विरुवा उपलब्ध गराएको छ भने काठमाडौँभित्रका १३७ सामुदायिक वनलाई समेत हजारौँ बोटविरुवा उपलब्ध गराएको सूचना अधिकारी घिमिरे बताउछन् ।
डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा काठमाडौँका विभिन्न सडक पेटीमा झण्डै एक हजार बोटविरुवा रोप्ने लक्ष्य लिएको छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ कार्डियोलोजिष्ट डा मिलनप्रकाश श्रेष्ठ हरियाली वातावरणसँगै फोक्सो, मुटुलगायतमा हुने सङ्क्रमणमा कमी आउने बताउछन् । “जति स्वच्छ वातावरण भयो, त्यति नै मानिसले स्वच्छ रुपमा श्वासप्रश्वास गर्न पाउँछ, स्वच्छ वातावरण भएसँगै फोक्सो, मुटुलगायतमा हुने संक्रमणमा कमी आउँछ,” डा श्रेष्ठ भन्छन् ।
वशन्त ऋतुको समयमा विभिन्न प्रजातिका वोटविरुवाहरुले पालुवा फेर्ने हुँदा यहाँको सौन्दर्यले मानिसमा मनमोहक वातावरण पैदा गरेको छ । पहिले पहिले काठमाडौँ धुलाम्मे तथा फोहर मात्र देखिने सहरका रुपमा मानिसहरुले लिने गर्दथे ।
काठमाडौँको मुहार फेरिएको छ । अब राजधानी सहरलाई त्यसरी चित्रण गर्नु हुँदैन । यो हरियालीले पनि यही सन्देश प्रवाह गर्न खोजेको छ ।



प्रतिक्रिया