‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ

‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ

काठमाडौं एक्सप्रेस

रास्वपाका वरिष्ठ नेता शाह काठमाडौँ, १२ चैत : सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गर्न प्रवेश गर्नुहुँदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं । सिंहदरबास्थित संघीय संसद् भवन परिसरमा बिहीबार (चैत १२) नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदका सहयोगीको बाक्लो उपस्थिति रह्यो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शपथका निम्ति संसद् भवन पुगेका कतिपय दलका सांसद एकापसमा चिनजान गर्दै थिए । कोही सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थिए । कोही सांसद निर्वाचित भएकामा बधाई लिँदै लिए ।

संघीय संसद् सचिवालयले दिउँसो २ बजेका निम्ति शपथ समारोहको आयोजना गरेको थियो । समारोहमा सहभागी हुन सांसदहरू आ–आफ्ना वेशभूषामा सजिएर संसद् भवन पुगेका थिए । शपथ समारोहको समय नजिकिँदै गर्दा भवन परिसरमा रहेका सुरक्षाकर्मी, सञ्चारकर्मी र अरू सहयोगीको ध्यान भवनको दक्षिणतर्फको प्रवेशद्वारतिर केन्द्रित थियो ।

दिउँसो करिब १ बजेर ५५ मिनेट जाँदा दक्षिणतर्फको प्रवेशद्वारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार बा.प्र ०१ ०३३ च ७८८१ नम्बरको निजी गाडी प्रवेश गर्‍यो । उक्त गाडी संसद् भवनको मूल प्रवेशद्वार अघि रोकियो । गाडीबाट ओर्लेर संसद् भवनको मूल प्रवेशद्वारतर्फ प्रस्थान गर्ने क्रममा उनी सञ्चारकर्मीको घेरामा परे ।सञ्चारकर्मीको घेरामुक्त गरेर नेता शाहलाई भवनको बहुउद्देश्यीय हलमा जाने ढोकातर्फ ल्याउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । सुरक्षाकर्मीको सहयोगमा शपथ हलतर्फ जाने क्रममा त्यहाँ उपस्थितले ‘बालेन सरकार’ भन्दै अभिवादन टक्क्र्याउँदा नेता शाह मुस्काउँदै भित्र प्रवेश गरे ।

कालो कोटमा किराँती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ पहिरिएर नेता शाह शपथ समारोहस्थल प्रवेश गरे । किराँती भाषामा ‘सि’को अर्थ मृत्यु र ‘लाम’को अर्थ बाटो भन्ने हुन्छ । सिलाम साक्मा लगाउँदा मृत्युको बाटो छेकिन्छ भन्ने विश्वास गरिन्छ । यसले शुभसंकेतको अर्थ पनि जनाउँछ । यसलाई खासगरी रक्षाकवचका रूपमा लिइन्छ ।

समारोहस्थलमा उनी बैठककक्षको पहिलो लहरमा बसे । रास्वपाबाट प्रधानमन्त्रीका रूपमा प्रस्तावित उनको दायाँतर्फ सभापति रवि लामिछाने र बायाँतर्फ उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले रहेका थिए ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शपथ समारोहमा सहभागी नवनिर्वाचित सांसदहरूलाई स्वागत गरे । बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उपस्थित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ समारोह सकिएलगत्तै वरिष्ठ नेता शाह संसद् भवनबाट आफैँ गाडी चलाएर बाहिरिए ।

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट निर्वाचित शाहलाई रास्वपाले प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा १८२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारका रूपमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित शाह युवापुस्ताबीच लोकप्रिय छन् । पेसाले स्ट्रक्टचरल इन्जिनियर शाह चर्चित र्‍यापरका रूपमा पनि परिचित छन् ।

Logo