डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

काठमाडौं एक्सप्रेस

दमौली ९तनहुँ०, । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् । रास्वपा सभापति रवि लामिछानेले निर्वाचनअगावै डा वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी बनाइने अभिव्यक्ति दिएका थिए ।

आफ्नो क्षेत्रबाट निर्वाचित सांसंद देशको महत्तुवपूर्ण जिम्मेवारीमा आएपछि तनहुँ क्षेत्र नं १ का स्थानीय खुसी भएका छन् । डा वाग्ले यहाँबाट दोस्रोपटक निर्वाचित भएको हो । उनी विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा ३४ हजार ९११ मतसहित पहिलोपटक विजयी भएको थियो । डा वाग्ले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मतसहित दोस्रोपटक विजयी भएको छ ।

अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी प्राप्त गरेपछि तनहुँवासी थप खुसी भएका छन् । तनहुँको म्याग्दे निवासी मनोज अधिकारीले डा वाग्लेको अर्थमन्त्रीको जिम्मेवारीले आफूहरूलाई खुसी तुल्याएको प्रतिक्रिया दिए। उनले भने, “डा वाग्ले देशको अर्थतन्त्र सुधार गर्नसक्ने सक्षम व्यक्ति हो । जिल्लाले अर्थमन्त्रीका रूपमा उनलाई पाउँनु हामी सबैका लागि गौरवको कुरा हो ।”

बन्दीपुरका सिद्धान्त गर्जा मगरले सामाजिक न्यायसहितको अर्थनीति, सुशासन, आर्थिक सुधार र गुणस्तरीय पूर्वाधारलाई अब सैद्धान्तिक हिसाबले मात्र नभई व्यावहारिक ढङ्गबाट अगाडि बढाउन डा वाग्ले सफल हुने विश्वास व्यक्त गरे ।

गोरखा जिल्लामा जन्मिए पनि वाग्लेले आफ्नो संसदीय यात्रा तनहुँबाट सुरु गरेका छन् । सामान्य परिवेशमा हुर्किएका डा वाग्ले अन्तरराष्ट्रिय ख्यातीप्राप्त विश्वविद्यालयबाट अध्ययन गर्दै देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

उच्च शिक्षापछि विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गरेका वाग्लेले नेपाल फर्किएपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिएका छन् ।

Logo