ललितपुर- महालक्ष्मी नगरपालिकाले शैक्षिक सत्र २०८१ का विभिन्न परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ । इमाडोलस्थित वेस्ट विङ माध्यमिक विद्यालयमा आयोजित ‘उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम २०८२’ मा नगरभित्रका शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विद्यार्थी, शिक्षक र संस्थाहरूलाई पुरस्कृत गरिएको हो ।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी महर्जनसहित नगरका जनप्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा आधारभूत तह (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ मा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । कक्षा ८ (बीएलई) तर्फ संस्थागत विद्यालयबाट पवन प्रकृति इङ्लिस सेकेन्डरी स्कुलका अनुज काफ्लेले ४.०० जीपीए सहित उत्कृष्ट स्थान हासिल गरेका थिए भने सामुदायिकतर्फ महेन्द्रग्राम माध्यमिक विद्यालयका अमित कार्कीले ३.९४ जीपीए ल्याएका थिए । त्यसैगरी एसईई परीक्षामा बालकुञ्ज मावि, सूर्योदय साई, अनन्त इङ्लिस स्कुललगायत १० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले ४.०० जीपीए सहित उत्कृष्ट नतिजा हासिल गरेका थिए । कक्षा १२ तर्फ काठमाडौँ मोडेल सेकेन्डरी स्कुलका आयुष काफ्लेले ३.९४ जीपीए र सामुदायिकतर्फ सिद्धिमङ्गल माविका यूनिक महर्जनले ३.७ जीपीए हासिल गरी सम्मानित भएका थिए ।
त्यसैगरी बीएलई र एसईई परीक्षामा औसत सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट नतिजा ल्याउन सफल विषयगत शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । सामुदायिकतर्फ अङ्ग्रेजी विषयका नविन चौधरी र गणित विषयकी रिता लामा तथा संस्थागततर्फ लक्ष्मी गुरुङ, विन थापालगायत शिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
विद्यालयहरूको समग्र नतिजाका आधारमा पनि नगरपालिकाले सम्मान गरेको थियो । एसईई परीक्षामा सूर्योदय साई, महालक्ष्मी एकेडेमी, भ्याली पब्लिक, तारापुञ्ज र वेस्ट विङ माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका थिए । त्यसैगरी बीएलईतर्फ औसत नतिजामा सामुदायिकतर्फ महेन्द्रग्राम माध्यमिक विद्यालयले २.९७ र संस्थागततर्फ वेस्ट विङ माध्यमिक विद्यालयले ३.५८ जीपीएसहित उत्कृष्टता हासिल गरेका थिए ।
कार्यक्रममा ‘AI for Good’ तथा ‘Robotics for Good’ युथ च्यालेन्ज २०२५ मा सहभागी भई विजेता बनेका युनाइटेड स्कुलका परिधि श्रेष्ठ, आरम्भ गौतम, युग मल्ललगायत सात जना विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो ।
यसै अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने पूर्व शिक्षा समिति सदस्यहरू, मनकामना फाउन्डेसन, युनिसेफ नेपाल लगायत सहयोगी संस्थाहरू तथा २०८१ असोजदेखि अवकाश प्राप्त नौ जना सामुदायिक शिक्षकहरूलाई दीर्घ सेवा सम्मानसहित बिदाइ गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको जनाउँदै भने, ‘यस्ता कार्यक्रमले प्रतिस्पर्धात्मक र सिर्जनशील शैक्षिक वातावरण निर्माणमा टेवा पुर्याउँछ ।’
उपप्रमुख लक्ष्मी महर्जनले विद्यार्थी र शिक्षकको मेहनतलाई संस्थागत रूपमा कदर गर्नु नगरको दायित्व भएको बताइन् ।
कार्यक्रममा शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले उत्कृष्टताको पहिचान र सम्मानले शैक्षिक गुणस्तर अभिवृद्धिमा ठोस योगदान पुर्याउने बताए ।



प्रतिक्रिया