मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

काठमाडौं एक्सप्रेस

मैत्रीपूर्ण फुटबल प्रतियोगिता काठमाडौँ, २० चैतः नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित जनसम्पर्क कार्यालयका कर्मचारी र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ, । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा समाचारदाताबीच आज सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा सेनाको टोली विजयी भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा भएको उक्त खेलमा सेनाको टोली ४–१ गोल अन्तरले विजयी भयो । निर्देशनालयका तर्फबाट सेनानी विजय पाण्डेले दुई तथा प्रमुख सेनानी उपन कार्की र प्राविधिक जमदार वसन्त ओलीले एक–एक गोल गरे । रक्षा समाचारदाताको टोलीबाट दिपेश केसीले सान्त्वना गोल गरे । उक्त खेलमा निर्देशनालयको टोली कप्तान सहायकरथी राजाराम बस्नेत र सञ्चारकर्मीका तर्फबाट कप्तान दीपक रिजाल रहेका थिए ।

प्रतियोगितामा सेनाको टोली हरियो रङ र सञ्चारकर्मीको टोली निलो जर्सीमा मैदानमा उत्रिएको थियो । सैनिक तालिम महानिर्देशक एवम् उपरथी प्रेम पुनले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा सो खेल आयोजना गरिएको हो । निर्देशनालयको २०५८ चैत २० गते स्थापना भएको हो । निर्देशनालयले सैनिक र सञ्चारकर्मी बीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Logo