विश्व कीर्तिमानको संघारमा उरुषा पाण्डे

विश्व कीर्तिमानको संघारमा उरुषा पाण्डे

काठमाडौं एक्सप्रेस

‘अभिनय र कलामार्फत नेपाललाई विश्वमञ्चमा चिनाउँछु’
काठमाडौं- नेपाली कला क्षेत्रमा ‘एक्सप्रेसन क्विन’ को पहिचान बनाएकी बहुमुखी प्रतिभा उरुषा पाण्डे यतिबेला अमेरिकामा रहेर इतिहास रच्ने तयारीमा छिन्। कलाकारिता, अध्ययन र सिर्जनात्मक लेखनमा एकसाथ जम्दै गरेकी पाण्डेले सन् २०२६ मे महिनादेखि ‘गिनिज वर्ल्ड रेकर्ड सिरिज’ मार्फत बहुविध विश्व कीर्तिमान कायम गर्ने महत्वाकांक्षी घोषणा गरेकी हुन्।

अमेरिकाको गोसेन कलेजमा फिल्म र थियटर विषयमा सिनियर वर्षमा अध्ययनरत उरुषा शैक्षिक रूपमा समेत अब्बल देखिएकी छन्। उनले कलेजको प्रतिष्ठित ‘डिन्स लिस्ट’ मा स्थान बनाउँदै आफ्नो बौद्धिक र प्राज्ञिक अनुशासन प्रमाणित गरेकी छन्। नेपाल र बलिउडको मोडलिङ क्षेत्रमा सफल यात्रा तय गरिसकेकी उनले अन्तर्राष्ट्रिय मञ्चमा विलियम शेक्सपियरका ‘रोमियो एन्ड जुलियट’ जस्ता नाटकदेखि ९० मिनेट लामो एकल नाटक ‘ग्राउन्डेड’ सम्ममा सशक्त अभिनय गरेकी छन्। उनको यो अनुभवले उनलाई विश्व कीर्तिमानको कठिन यात्राका लागि मानसिक र शारीरिक रूपमा तयार पारेको देखिन्छ।

मोनोलगदेखि अक्षय कुमारको रेकर्डसम्म
उरुषाले अघि सारेको “वर्ल्ड रेकर्ड सिरिज” केवल एउटा विधामा सीमित छैन। उनले अभिनय, नृत्य र डिजिटल संलग्नताका क्षेत्रमा अत्यन्तै कठिन चुनौतीहरू सामना गर्ने योजना बनाएकी छन्। उनले २४ घण्टाभित्र ३०० वटा अंग्रेजी मोनोलग अर्थात् एकल संवाद प्रस्तुत गर्ने लक्ष्य राखेकी छन् भने भारतीय शैलीको नृत्यमा सबैभन्दा लामो समयसम्म निरन्तर प्रस्तुति दिने तयारी गरेकी छन्। यति मात्र नभई, उनले बलिउड अभिनेता अक्षय कुमारको वर्तमान सेल्फी रेकर्डलाई समेत चुनौती दिने योजना बनाएकी छन्। यी प्रयासहरूका लागि उनलाई गिनिज वर्ल्ड रेकर्ड्सबाट आधिकारिक स्वीकृतिको सङ्केत प्राप्त भइसकेको छ।

आफ्नो यो साहसिक कदमलाई उरुषाले व्यक्तिगत महत्त्वाकांक्षाभन्दा बढी राष्ट्रिय पहिचानको कडीका रूपमा व्याख्या गरेकी छन्। उनले आफ्ना प्रस्तुतिहरू अंग्रेजी भाषामा केन्द्रित गरेर विश्वव्यापी दर्शकमाझ नेपाली कलाको सुगन्ध पुर्‍याउने संकल्प गरेकी छन्।

निर्देशन र लेखनमा समेत सक्रिय पाण्डेले ‘टु फेस्ड’ र ‘प्राइस अफ सोलिट्युड’ जस्ता कृतिहरूमार्फत आफूलाई सिर्जनशील सर्जकको रूपमा उभ्याएकी छन्। उनको यो यात्राले ठूला सपना देख्ने र त्यसका लागि कठोर परिश्रम गर्ने हरेक नेपाली युवाका लागि प्रेरणा दिएको छ।

Logo