काठमाडौँ । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुई दिने कन्सुलर घुम्ती शिविरबाट २ सय ७२ नेपालीहरू सेवा लिएका छन् ।
टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा ग्रेटर अस्टिन नेपाली समाजले यही १४ र १५ वैशाखमा आयोजना गरिएको राहदानी तथा कन्सुलर घुम्ती शिविरमा नयाँ राहदानी तथा नवीकरण २६७, वारेस नामा एक, एकतर्फी यात्रा कागजात तीन र एनआरएन कार्ड एक गरी २७२ जनालाई सेवा प्रदान गरिएको उपमहावाणिज्यदूत धना जोशीले जानकारी दिए ।
अमेरिकाका विभिन्न ९ राज्यमा रहेका नेपालीलाई कन्सुलर सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले गत वर्ष टेक्ससको ड्यालसमा महावाणिज्य दूतावास स्थापना गरेको थियो । उपमहावाणिज्यदूत धना जोशीका अनुसार ड्यालसमा दूतावास स्थापना भएपछिको यो पहिलो घुम्ती शिविर हो ।
भौगोलिक रूपमा टाढा रहेका नेपालीलाई पायक पर्ने स्थानमै सेवा प्रदान गर्ने महावाणिज्य दूतावासको नीति रहेको छ । भौगोलिक रूपमा ठूलो टेक्सस राज्यको अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीले लामो समयदेखि राहदानी तथा कन्सुलर शिविरको माग गर्दै आएका थिए ।
शिविरको स्थानीय व्यवस्थापनमा ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले सहयोग गरेको थियो । शिविरमा महावाणिज्यदूत सुरेश अधिकारी, उपमहावाणिज्यदूत धना जोशी, उपवाणिज्यदूत हरिमाया अधिकारीलगायतका कर्मचारीहरूले सेवा प्रदान गरेका थिए ।



प्रतिक्रिया