ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ७, चाँगाथलीमा नवनिर्मित टिकाथली स्वास्थ्य चौकी भवनको शनिबार औपचारिक उद्घाटन गरिएको छ। बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक विशेष समारोहका बीच नवनिर्मित भवनको समुद्घाटन गर्नुभएको हो।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री मगर मुख्य अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगाना, जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलाल तथा वडा नम्बर ७ का वडा अध्यक्ष एवं कार्यक्रम संयोजक बाबुराजा महर्जन लगायतको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरण थापा मगरले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले स्थानीय तहसँगको समन्वयमा विकास निर्माणका कार्यलाई अघि बढाउन आफू सदैव तयार रहेको उल्लेख गर्दै स्वास्थ्य चौकीमा आवश्यक प्राविधिक सहयोग र उपकरणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय दत्तचित्त छ,” मन्त्री मगरले भन्नुभयो।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य लगानी गरेको दाबी गर्नुभयो। उहाँले ‘मेयरसँग जनता’ र ‘उपमेयर सुत्केरी’ कार्यक्रममार्फत स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्याइएको बताउनुभयो। प्रमुख श्रेष्ठले भन्नुभयो, “हामीले नसर्ने रोगको निःशुल्क परीक्षण र औषधिको व्यवस्था गरेका छौँ। अबको केही महिनाभित्रै यस स्वास्थ्य चौकीलाई थप व्यवस्थित बनाउँदै प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ।”
त्यस्तै, उपप्रमुख लक्ष्मी महर्जनले नगरपालिकाले महिलाहरूलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ लगायतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै सरकारी स्वास्थ्य सेवाको भरपूर फाइदा लिन नगरवासीलाई आग्रह गर्नुभयो।
कार्यक्रम संयोजक एवं वडा अध्यक्ष बाबुराजा महर्जनले प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा सुविधासम्पन्न भवन निर्माण हुन सकेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले स्वास्थ्य चौकीमा ल्याब, अल्ट्रासाउन्ड, ईसीजी र एक्स-रे जस्ता सेवाहरू थप गरी टिकाथली स्वास्थ्य चौकीलाई जिल्लाकै ‘नमुना स्वास्थ्य चौकी’ बनाउने संकल्प व्यक्त गर्नुभयो।
पहिले साँघुरो दुई कोठाबाट सेवा दिँदै आएको यस स्वास्थ्य चौकीले नयाँ र सुविधासम्पन्न भवन प्राप्त गरेपछि स्थानीय सेवाग्राहीहरू उत्साहित भएका छन्। कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।



प्रतिक्रिया