म्याग्दी, । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट क्षमताको ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ ।
सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाले नारच्याङको घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थल जोड्ने पहुँचमार्ग निर्माण थालेको हो ।
आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईले पाँच किलोमिटर ५०० मिटरमध्ये दुई किलोमिटर पहुँचमार्ग निर्माण सकिएको र कर्मचारी आवासका लागि भवन तयार भएको जानकारी दिए।
“विद्युत्गृह निर्माण स्थलमा सडक पु¥याएर जमिन तयार पार्न पहाड काट्न थालेका छौँ,” उनले भने, “पहुँचमार्ग खनेपछि बाँध, विद्युत्गृह र पेनस्टक पाइपलाइन जडान तथा प्रसारण लाइन निर्माणलाई समानान्तर गतिमा अघि बढाउने तयारीमा छौँ ।”
रु एक अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बाँधदेखि चार किलोमिटर २०० मिटर दूरीमा पाइपलाइनबाट ल्याइने पानीलाई ४२० मिटर उचाइबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने आवासीय इन्जिनियर भट्टराईले बताए।
आयोजना निर्माणमा उपभोग हुने जग्गा सबै सार्वजनिक हो । निर्माण स्थलमा पर्ने एक हजार ४०० मध्ये ५४६ रूख कटानको आदेश प्राप्त भइसकेको छ भने बाँकी प्रक्रियामा रहेको छ ।



प्रतिक्रिया