काठमाडौँ, । नेपालले विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्दै त्यसले विश्वलाई शान्ति र सहकार्यको मार्ग देखाएको बताएको छ ।
बुद्धजयन्तीका अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतीकका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
श्रीलङ्का र थाइल्यान्डका स्थायी नियोगद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति, आध्यात्मिक पुनर्जागरण र साझा मानवीय मूल्यको प्रतीकका रूपमा प्रस्तुत गरेको उक्त नियोगले जनाएको छ ।
उनले करुणा, अहिंसा, सचेतना, एकता र ज्ञानसम्बन्धी बुद्धका कालजयी शिक्षाहरू द्वन्द्व, विभाजन, असमानता तथा जलवायु चुनौतीले ग्रस्त वर्तमान विश्वमा अझ सान्दर्भिक रहेको उल्लेख गरे । “शान्ति भित्रबाट सुरु हुन्छ र यसलाई सचेत रूपमा विकास गर्नुपर्छ,” भन्दै राजदूत थापाले राष्ट्रहरूबीच थप ऐक्यबद्धता, मर्यादा, न्याय र सहकार्य आवश्यक रहेको बताए ।
राजदूत थापाले ‘वेसाक’ केवल धार्मिक उत्सव नभई विश्व शान्ति, सद्भाव र मानवताका लागि न्यायपूर्ण तथा दिगो भविष्य निर्माण गर्ने सामूहिक आह्वान भएको धारणा व्यक्त गरे ।



प्रतिक्रिया