पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछः उपराष्ट्रपति

पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछः उपराष्ट्रपति

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।

इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘ईद–उल–अज्हा’ ९बकर इद० अवसरमा शुभकामना व्यक्त गर्दै उनले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा एकापसमा मिलेर बस्न प्रेरित गर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले यस पर्वले विशेषतः विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

“धार्मिक महत्वसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य र मानवताको उच्च मूल्यलाई उजागर गर्दछ । यसले हामीलाई सुख–दुःख साझा गर्न, अभावमा रहेकाहरूसँग हातेमालो गर्न र समाजमा सहिष्णुता तथा सद्भावलाई बढावा दिन सिकाउँछ”, उनले शुभकामना सन्देशमा भनेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधतामा एकता हाम्रो मौलिक पहिचान हो । यहाँ मनाइने पर्वहरूले समुदायबीच आपसी समझदारी, अपनत्वभाव र एकताको संस्कारलाई बलियो बनाउँदै राष्ट्रिय अखण्डता र सांस्कृतिक ऐक्यबद्धताको संरक्षणमा योगदान पुर्याउँछन् भन्ने उनले विश्वास व्यक्त गरेका छन्।

उपराष्ट्रपति यादवले ‘ईद–उल–अज्हा’ पर्वले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई अझ सबल बनाउँदै सभ्य, शान्त, समुन्नत र समृद्ध मुलुक तथा समाज निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन् ।

Logo