बाजुरा — लाम्पाटा र रानीसैन घटनाको अनुसन्धान प्रभावित हुने गरी समाचार सम्प्रेषण नगर्न जिल्ला प्रहरी कार्यालय बाजुराले सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गरेको छ ।
घटनाबारे पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले घटनासम्बन्धी मुद्दा दर्ता भइसकेको र अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको बताइन् । उनले अनुसन्धानकै क्रममा पक्राउ गर्नुपर्ने व्यक्तिहरूको नाम सार्वजनिक रूपमा सञ्चारमाध्यममा आउँदा अनुसन्धानमा चुनौती थपिएको उल्लेख गरिन् ।
“जुन व्यक्तिहरू अनुसन्धानको दायरामा छन्, उनीहरूको नाम किटान गरेर विभिन्न माध्यमबाट सार्वजनिक गरिँदा अनुसन्धान प्रक्रियामा असर पुग्ने अवस्था सिर्जना भएको छ,” डीएसपी बोहराले भनिन् ।
उनले कानुनी राज्यको सिद्धान्तअनुसार सबै प्रक्रिया ‘ड्यु प्रोसेस अफ ल’ अर्थात् कानुनी प्रक्रियाअनुसार नै अगाडि बढ्ने स्पष्ट पार्दै तत्काल पक्राउको माग उठे पनि प्रहरीले कानुनसम्मत ढंगले अनुसन्धान अघि बढाउने बताइन् ।
डीएसपी बोहराले अपराधमा संलग्न व्यक्ति कानुनी दायराबाट उम्किन नसक्ने उल्लेख गर्दै बाजुरा र हुम्ला दुवै जिल्लाका प्रहरीले निष्पक्ष रूपमा अनुसन्धान गरिरहेको जानकारी दिईन् ।
उनले पछिल्लो समय “बाजुराबासीलाई हुम्लाबाट लखेटियो” भन्ने विषयमा आएका केही समाचारप्रति पनि ध्यानाकर्षण गराउँदै समाचार प्रकाशन वा प्रसारणअघि तथ्य परीक्षण गर्न पत्रकारहरूलाई आग्रह गरिन् र
“तथ्यपरक सूचना प्रवाहमा सबै पक्ष जिम्मेवार हुन आवश्यक छ,” उनले भनिन्, “समाचार सम्प्रेषण गर्दा तथ्य जाँच गरेर मात्रै सार्वजनिक गरिनुपर्छ ।”
प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान भइरहेको भन्दै अनुसन्धान सम्पन्न नहुँदासम्म अपुष्ट सूचना र अनुमानका आधारमा समाचार सम्प्रेषण नगर्न सबैसँग आग्रह गरेको छ ।



प्रतिक्रिया