म्याग्दी, । बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’ निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी भयो । तर अहिलेसम्म जग्गा खोजीमै काम रोकिएको छ । उपयुक्त जग्गा अभावमा बेनी नगरपालिकाले कालीगण्डकी नदी किनारको रातोपहिरो क्षेत्रमा फोहर विसर्जन गरिरहेको छ । जसले वातावरण, जनस्वास्थ्य र धार्मिक सम्पदामा असर परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
बेनी नगरपालिकाले हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा फोहोर व्यवस्थापन केन्द्र निर्माणलाई प्राथमिकता दिँदै आएका छ । तर उपयुक्त स्थानमा जग्गा पहिचान हुन नसक्दा योजना कार्यान्वयनमा आउन सकेको छैन । त्यसैले बेनी नगरपालिका–६ रातोपहिरोस्थित कालीगण्डकी नदी किनारमा विसं २०६० देखि फोहर विसर्जन हुँदै आएको छ ।
रातोपहिरोको फोहर व्यवस्थापनस्थल कालीगण्डकी नदीको किनार तथा बेनी–जोमसोम सडकसँगै रहेकाले त्यसबाट निस्कने दुर्गन्धले आसपासका बस्तीका बासिन्दा, यात्रु, पर्यटक तथा तीर्थयात्री प्रभावित भएका छन् ।
जलजला गाउँपालिका–२ बगरफाँटका हीराबहादुर बरुवालले खुला रूपमा फोहर फालिँदा बगरफाँट, जलेश्वर, कालीपुल र गलेश्वर क्षेत्रका बासिन्दाले दुर्गन्धको समस्या भोगिरहेको बताए । उनका अनुसार बेनी–गलेश्वर हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटक र तीर्थयात्रीसमेत यसबाट प्रभावित हुने गरेका छन् ।
बेनी, गलेश्वर, तातोपानी, सिंगा र हाडेभिर क्षेत्रका दुई हजारभन्दा बढी घरधुरीबाट दैनिक तीनदेखि चार ट्र्याक्टर फोहर सङ्कलन गरी रातोपहिरोमा विसर्जन गरिन्छ । नदी किनारमा फोहर नफाल्न तत्कालीन पुनरावेदन अदालत बागलुङले विसं २०७२ मा निषेधाज्ञा जारी गरे पनि विकल्प अभावमा सोही स्थान प्रयोग भइरहेको छ ।
बेनी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि ‘कम्प्याक्टर’ मेसिन र सवारीसाधनसहित पोखरास्थित ‘मिसन फर वेस्ट म्यानेजमेन्ट’लाई मासिक रु एक लाख ६० हजारमा जिम्मेवारी दिएको छ । नगरप्रमुख सुरत केसीले सुरक्षित र दिगो ल्याण्डफिल साइटको विकल्प नपाएकाले हालको स्थान प्रयोग गर्नु बाध्यता भएको बताए ।
उनका अनुसार पछिल्ला वर्षदेखि फोहर छुट्याएर कुहिने वस्तु खाडलमा व्यवस्थापन गर्ने, पुनः प्रयोगयोग्य सामग्री छुट्याउने तथा कुहिने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने काम सुरु गरिएको छ । यसले नदीमा प्रत्यक्ष फोहर पुग्ने अवस्था केही घटेको उनको भनाइ छ ।
नगरपालिकाले विभिन्न स्थानमा ल्याण्डफिल साइट निर्माणका लागि प्रस्ताव गरे पनि जग्गा प्राप्तिमा सहमति जुट्न नसकेको जनाएको छ । कम्तीमा दुई रोपनी जग्गा आवश्यक पर्ने नगरप्रमुख केसीले जानकारी दिए।
दुई वर्षअघि रातोपहिरो नजिकैको कालीगण्डकी किनारबाट भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरका लागि देवशिला उत्खनन गरिएको थियो । सोही क्षेत्रलाई ‘देवशिला उद्यान’का रूपमा विकास गर्न सङ्घीय र प्रदेश सरकारले फोहर व्यवस्थापन स्थल हटाउनुपर्ने सर्त राखेको नगरपालिकाले जनाएको छ ।
ल्याण्डफिल साइटको विकल्प पहिचान नभएसम्म दुर्गन्ध नियन्त्रणका लागि औषधि, चुना र माटो नियमित रूपमा प्रयोग गर्न स्थानीयले माग गरेका छन् । हाल फोहर फाल्ने स्थानमा टहरा निर्माण गरी नकुहिने फोहर छुट्याएर कवाडीमा बिक्री गर्ने गरिएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले कालीगण्डकी नदी हिन्दू आस्था, जैविक विविधता र प्राकृतिक सम्पदासँग जोडिएको महत्त्वपूर्ण नदी भएकाले यसको संरक्षणका लागि वैज्ञानिक फोहर व्यवस्थापनको विकल्प तत्काल खोजिनुपर्ने बताए ।



प्रतिक्रिया