काठमाडौं- नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिडेस्को मेकअप र ब्युटीको डिप्लोमा परीक्षा आयोजना भएको छ। परीक्षामा मेकअपतर्फ ८ जना र ब्युटीतर्फ ९ जना गरी १७ जना विद्यार्थी सहभागी छन्।
ब्युटी विशेषतः बडी केयर र स्किन केयरसम्बन्धी परीक्षा सञ्चालन हुन लागेको हो। विश्वका ४० भन्दा बढी देशमा मान्यता प्राप्त सौन्दर्य शिक्षा तथा व्यावसायिक योग्यताको उच्चतम मापदण्ड मानिने सिडेस्को परीक्षा अन्तर्गत शनिबार सैद्धान्तिक परीक्षा सम्पन्न भयो। ब्युटीतर्फको प्रयोगात्मक परीक्षा साउन ११ र मेकअपतर्फको प्रयोगात्मक परीक्षा साउन १२ मा हुनेछ।
परीक्षापछि साउन १२ गते द एभरेस्ट होटलमा दीक्षान्त समारोह आयोजना गरिनेछ। यस ऐतिहासिक परीक्षाको लिखित र प्रयोगात्मक दुवै चरणको मूल्यांकनका लागि विभिन्न देशबाट अन्तर्राष्ट्रिय परीक्षक नेपाल आएका छन्। उनीहरूले प्रत्यक्ष रूपमा परीक्षा सञ्चालन तथा मूल्यांकन गर्ने भएकाले परीक्षा पूर्ण रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनेछ।
नेपालमा पहिलो पटक हुन लागेको यो परीक्षा देशको सौन्दर्य शिक्षा क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। यसअघि नेपाली विद्यार्थीले सिडेस्को परीक्षा दिन विदेश जानुपर्ने बाध्यता थियो। अब भने नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षा सञ्चालन हुने भएपछि नेपाली विद्यार्थीले विश्वस्तरीय प्रमाणपत्र आफ्नै देशबाट प्राप्त गर्ने अवसर पाउने भएका छन्।
बजारमा धेरै संस्थाले आफैँ परीक्षा लिएर आफैँ प्रमाणपत्र दिने अभ्यास रहे पनि सिडेस्को डिप्लोमा भने स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्यांकन प्रणालीमा आधारित हुने भएकाले यसको विश्वव्यापी मान्यता रहेको छ।
आइसास ब्युटी स्कुलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय अधिकारीले भने, “नेपालमा पहिलो पटक सिडेस्को परीक्षा आयोजना हुनु केवल एउटा शैक्षिक कार्यक्रम मात्र होइन, यो नेपाली सौन्दर्य शिक्षाको अन्तर्राष्ट्रियकरणतर्फको ऐतिहासिक यात्रा हो। अब नेपाली विद्यार्थीले विदेश नगई विश्वभर मान्यता प्राप्त डिप्लोमा आफ्नै देशबाट हासिल गर्न सक्नेछन्।”
सिडेस्कोको मान्यता प्राप्त गर्न कुनै पनि संस्थाले अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार, पाठ्यक्रम, प्रशिक्षक र सञ्चालन प्रणालीसम्बन्धी कडा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। नेपालमा यो स्तरको शिक्षा प्रदान गर्न योग्य तथा सिडेस्को परीक्षा सञ्चालन गराउन सक्ने एकमात्र आधिकारिक संस्थाको रूपमा आइसासले काम गरिरहेको छ। सौन्दर्य क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको यो परीक्षा र दीक्षान्त समारोहले नेपालको ब्युटी तथा वेलनेस उद्योगलाई विश्व बजारसँग जोड्ने विश्वास आयोजकको छ।
विश्वकै प्रतिष्ठित सौन्दर्य शिक्षा तथा व्यावसायिक योग्यताको मापदण्ड निर्धारण गर्ने संस्था सिडेस्कोले आफ्नो स्थापनाको ८० वर्ष पूरा गरेको छ। आठ दशकको यात्रा पूरा गरेको अवसरमा संस्थाले विश्वभरका सिडेस्को मान्यता प्राप्त विद्यालयहरूको सहभागितामा विशेष सिडेस्को कंग्रेस आयोजना गर्दैछ।
तीन दिनसम्म चल्ने उक्त अन्तर्राष्ट्रिय सम्मेलन यस वर्ष फिजीमा आयोजना हुनेछ। सिडेस्कोलाई विश्वभर ४० भन्दा बढी देशमा मान्यता प्राप्त सौन्दर्य शिक्षाको उच्चतम मापदण्डका रूपमा लिइन्छ। यसको पाठ्यक्रम, प्रशिक्षण र मूल्यांकन प्रणाली अन्तर्राष्ट्रिय स्तरका कडा मापदण्डमा आधारित छ।
सिडेस्को डिप्लोमा प्राप्त गर्न परीक्षार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै परीक्षामा कम्तीमा ७० प्रतिशत अंक अनिवार्य रूपमा हासिल गर्नुपर्ने व्यवस्था छ। ६९ प्रतिशत अंक प्राप्त गर्ने परीक्षार्थीलाई समेत अनुत्तीर्ण मानिने भएकाले सिडेस्कोको मूल्यांकन प्रणालीलाई विश्वकै कडा र गुणस्तरीयमध्ये एक मानिन्छ।



प्रतिक्रिया