एनआरएनए आईसीसीको सल्लाहकारमा अर्जुन श्रेष्ठ मनोनीत, अन्तर्राष्ट्रिय अनुभव र उद्यमशीलताको सम्मान

एनआरएनए आईसीसीको सल्लाहकारमा अर्जुन श्रेष्ठ मनोनीत, अन्तर्राष्ट्रिय अनुभव र उद्यमशीलताको सम्मान

काठमाडौं एक्सप्रेस

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्व उपाध्यक्ष अर्जुन श्रेष्ठ एनआरएनए आईसीसीको सल्लाहकार पदमा मनोनीत भएका छन्। लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय रहँदै विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका श्रेष्ठको अनुभव र योगदानलाई मूल्यांकन गर्दै उनलाई सल्लाहकारको जिम्मेवारी दिइएको हो।

बेल्जियम र नेपालमा व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ सन् २००९ देखि २०१३ सम्म दुई कार्यकाल एनआरएनएको केन्द्रीय सदस्य रहेका थिए। त्यसपछि उनी सन् २०१३ देखि २०१५ सम्म युरोप संयोजक बने। सन् २०१५ देखि २०१७ सम्म सचिवको जिम्मेवारी सम्हालेका श्रेष्ठले सन् २०१९ देखि २०२१ सम्म एनआरएनए आईसीसीको उपाध्यक्षका रूपमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

बेल्जियममा होटल व्यवसायमा सक्रिय रहेका श्रेष्ठ नेपालमा भने औषधि उद्योग क्षेत्रमा केन्द्रित छन्। उनको नेतृत्वमा चितवनमा स्थापित ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड नेपाली औषधि उद्योगको महत्वपूर्ण परियोजनाका रूपमा परिचित छ।

गैरआवासीय नेपालीहरूको समेत लगानी रहेको उक्त कम्पनी नेपालमै पहिलो पटक सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपिओ) जारी गर्ने औषधि उद्योग बनेको छ। ओम मेगाश्री फार्मास्युटिकल्सका अध्यक्षसमेत रहेका श्रेष्ठले स्वदेशमा लगानी, रोजगारी सिर्जना तथा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

एनआरएनएमा लामो अनुभव, अन्तर्राष्ट्रिय सञ्जाल र व्यवसायिक नेतृत्वका कारण श्रेष्ठको सल्लाहकार नियुक्तिले संस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Logo