रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप, एक वर्षमा १३ हजार पर्यटक

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप, एक वर्षमा १३ हजार पर्यटक

काठमाडौं एक्सप्रेस

काठमाडौँ,। रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार धार्मिक पर्यटक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर भ्रमणमा पुगेका छन् ।अध्यागमन कार्यालय, रसुवागढीको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार एक वर्षमा १३ हजार ५ सय २३ पर्यटक कैलाश मानसरोवर गएका छन् ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७५ प्रतिशतले बढी हो । आ.व. २०८१र८२ मा ११ हजार ३ सय ८७ पर्यटक कैलाश मानसरोवर गएका थिए । हिन्दु, बौद्ध, जैन, बोन धर्म मान्नेका लागि कैलाश मानसरोवर महत्वपूर्ण तीर्थस्थल हो । हुम्लाको हिल्सा नाका हुँदै जान खर्चिलो भएकाले रसुवागढी नाकाको प्रयोग बढ्दो छ ।

ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल २०८३ असार २४ मा बगाएको थियो । चीनले बेलिब्रिज बनाएपछि पुसदेखि अध्यागमनले काम थालेको थियो । त्यसयता गत आर्थिक वर्षमा ७ महिनामात्र नाका सञ्चालनमा आएकोमा अघिल्लो आर्थिक वर्षभन्दा आवागमनमा वृद्धि भएको अध्यागमन कार्यालय, रसुवागढी प्रमुख यादव भण्डारीले बताए ।

एक वर्षमा ५३ हजार ७ सय ४२ जनाले चीन–नेपाल आउजाउ गर्न रसुवागढी नाका प्रयोग गरेका छन् । आर्थिक वर्ष २०८२/८३ मा २७ हजार २ सय ९३ पर्यटक नेपाल भित्रिएको र नेपालबाट २६ हजार ४ सय ४९ पर्यटक बाहिरिएको प्रमुख भण्डारीले बताए ।

पछिल्लो दुई वर्षको तुलना गर्दा यो नाकाको प्रयोग २०.७४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ४४ हजार ५ सय ९ जना पर्यटकले यो नाका प्रयोग गरेका थिए ।

कैलाश मानसरोवर भ्रमणकै कारण नेपाल र चीन जोड्ने यो नाका प्रयोग गर्नेमा भारतीयको संख्या धेरै छ । आर्थिक वर्ष २०८२/८३ मा २४ हजार २ सय ७८ भारतीय, १० हजार २ सय ५७ नेपाली, ६ हजार २७ चिनियाँ, ४ हजार २ सय १४ अमेरिकी, १ हजार ५ सय ३४ अष्ट्रेलियाली, ९ सय १७ रसियन, ९ सय ११ मलेसियन, ८ सय ८४ भुटानी, ८ सय १० बेलायती र ४ सय २० क्यानेडिन सीमा वारपार गरेको तथ्यांक छ ।

कैलाश मानसरोवरबाहेक पर्यटक यो नाका प्रयोग गरेर ल्हासा, एभरेष्ट बेस क्याम्प आधार शिविरको चिनियाँ क्षेत्र जान्छन् । गत आर्थिक वर्षमा यो नाका प्रयोग गरेर ल्हासा र आधार शिविर जानेको संख्या घटेको छ । गत वर्ष ६ सय २६ जना ल्हासा र २२ जना आधार शिविर गएको तथ्यांक छ ।

ल्हासा जानेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.२० प्रतिशतले र आधार शिविर जानेको संख्या ९२ प्रतिशतले घटेको छ । आ.व. २०८१/८२ मा १ हजार ९ सय ९ जना ल्हासा र २ सय ७६ जना आधार शिविर गएका थिए ।

Logo