ललितपुर- महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जयकृष्ण बोगटीले तीज विशेष कार्यक्रमका लागि छुट्याइएको बजेट कटौती गरी विपद् प्रभावितका लागि राष्ट्रिय विपद् कोषमा पठाउने निर्णय गरेका छन्। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा हालै आएको प्राकृतिक महाविपत्तिका कारण पूर्व निर्धारित कार्यक्रम रद्द गर्दै वडा समितिले सो रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
वडा समितिको भदौ ११ गते बसेको बैठकले सामाजिक विकास तर्फ तीज विशेष कार्यक्रमका लागि विनियोजित ३ लाख रुपैयाँ बजेट महालक्ष्मी नगरपालिकाको राहत कोष मार्फत विपद् प्रभावित क्षेत्रमा उपलब्ध गराउने निर्णय गरेको छ।
“रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा आएको महाविपत्तिको कारण पूर्व निर्धारित तीज विशेष कार्यक्रम सञ्चालन नगर्ने र सो कार्यक्रमको लागि विनियोजित बजेट महालक्ष्मी नगरपालिकाको राहत कोष मार्फत विपद् प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउने गरी राष्ट्रिय विपद् कोषमा जम्मा गरिदिने निर्णय गरिएको हो,” निर्णयबारे जानकारी दिँदै वडाध्यक्ष बोगटीले भने ।
वडा कार्यालयले बजेट व्यवस्थापन तथा आवश्यक कारबाहीका लागि महालक्ष्मी नगरकार्यपालिकाको कार्यालय, कमलपोखरी इमाडोललाई पत्र पठाएको जानकारी समेत दिएका छन् ।



प्रतिक्रिया