काठमाडौं,। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले आज (मंगलबार) बिहान ७ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
जसमा ललितपुरको बागमती गाउँपालिका—३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
बिपी राजमार्गको खुर्कोट—नेपालथोक—कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । साँझ ६ देखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । भने दिउँसोको समयमा परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ ।
रसुवाको उत्तरगया गाउँपालिका—५ खाल्टेमा बाढीका कारण त्रिशुली—मैलुङ्ग—स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
साथै जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि बाढीका कारण भदौ १० गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ ।



प्रतिक्रिया