‘महालक्ष्मीमा स्वास्थ्य संस्थामा अभाव हुन नदिन डिजिटल माग प्रणाली’

‘महालक्ष्मीमा स्वास्थ्य संस्थामा अभाव हुन नदिन डिजिटल माग प्रणाली’

काठमाडौं एक्सप्रेस

ललितपुर महालक्ष्मी नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन डिजिटल माग प्रणाली लागू गरिने भएको छ। स्वास्थ्य संस्थाहरूले व्यहोर्दै आएको सामग्री, औषधि र भौतिक पूर्वाधारको समस्या सम्बोधन गर्दै नगरपालिकाले अनलाइनमार्फत माग भई आएका स्वास्थ्य सामग्री तथा पूर्वाधार तुरुन्त उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।

आइतबार आयोजित नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गानाले अनलाइन प्रणालीबाट माग भए अनुसारका सबै स्वास्थ्य सामग्री र औषधि तुरुन्त उपलब्ध गराउने प्रतिबद्धता जनाए। “तपाईंहरूले उठाउनुभएको अत्यावश्यक सामग्री, केमिकल ल्याब, कम्प्युटर-प्रिन्टर तथा औषधिको समस्याप्रति म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,” उनले भने, “तपाईंहरूलाई जे-जे सामानहरू चाहिन्छ, वडाको सिफारिससहित अनलाइन सिस्टमबाट माग गर्नुहोला। ती सामग्रीहरूको उपलब्धता गराउने काम नगरपालिकाको हो, त्यसमा हामी कुनै कमी हुन दिने छैनौँ।”

कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठले समीक्षा बैठकको औचित्यमाथि प्रकाश पार्दै भने, “एक वर्षभरि स्वास्थ्य शाखाहरूले गरेको काम जनप्रतिनिधिहरूले पनि थाहा पाउन् भन्ने हिसाबले यो समीक्षा वैठक राखिएको हो। भोलि विदेशीहरूसँग २५ बेडको हस्पिटल बनाउने कार्यक्रमको स्वीकृत भइसकेकाले ठाउँ व्यवस्थापनका लागि थप बैठक बस्दै छौँ।”

नगर उपप्रमुख लक्ष्मी महर्जनले स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गर्दै भनिन्, “महालक्ष्मी नगरपालिकामा जनप्रतिनिधि भएर आइसकेपछि हामीहरूले पनि स्वास्थ्य, शिक्षा र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर अघि बढाइरहेका छौँ।”

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले पालिकाको सेवाको प्रशंसा गर्दै भने, “हामी १ देखि १० सै नम्बर वडामा क्युरेटिभ सर्भिसका लागि समय-समयमा क्याम्पहरू लगिरहेका छौँ। क्युरेटिभ सर्भिसको पार्टमा एकदमै राम्रो छ, यहाँ बिरामीहरूले सेवा पाउन कठिनाइ भएको जस्तो मलाई लाग्दैन।”

कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष जयकृष्ण बोगटीले मेयर जनता कार्यक्रमको प्रभावकारिता दर्साउँदै भने, “मेयर जनता स्वास्थ्य कार्यक्रम असाध्यै फलदायी छ। हस्पिटलसम्म पुग्ने पहुँच नभएका धेरै जनताहरू अहिले वडामा आएर सेवा लिइरहनुभएको छ।”

वडा नम्बर ७ का वडाध्यक्ष बाबुराजा महर्जनले जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा जोड दिँदै भने, “हामी निर्वाचित भएर आइसकेपछि १ देखि १० सम्म अत्यन्त राम्रो काम भएको छ। स्वास्थ्यकर्मीको सहयोग बिना हाम्रो योजना सफल हुने थिएन, जनप्रतिनिधि र कर्मचारी हातेमालो गरेर अघि बढे समृद्ध बनाउन सकिन्छ।”

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले समीक्षाको उद्देश्य स्पष्ट पार्दै भने, “वर्षभरि गरेका काममा के राम्रो गर्‍यौँ, के गर्न चुकौँ र आगामी दिनमा के गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न जनप्रतिनिधि, कर्मचारी र जिल्ला जनस्वास्थ्य कार्यालयको उपस्थितिमा यो समीक्षा गरिएको हो।”

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले ‘मेयर जनता कार्यक्रम’ र ‘उपमेयर सुत्केरी कार्यक्रम’ले सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढाएको भन्दै आगामी दिनमा आवश्यक बजेट व्यवस्थापन गरेर स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा नगरपालिकाका १० वटै वडामा रहेका आकस्मिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, हेल्थ पोस्ट तथा सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूले वार्षिक क्रियाकलाप र प्रगति विवरण प्रस्तुत गरेका थिए। समीक्षामा स्वास्थ्यकर्मीहरूले बजेट, औषधि, कर्मचारी र भौतिक संरचना अभावका बीच पनि नियमित सेवा प्रदान गरिरहेको बताएका थिए।

Logo