प्याब्सन कोशीद्वारा ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान–२०८३’ले पत्रकार भोजपुरे सम्मानित

प्याब्सन कोशीद्वारा ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान–२०८३’ले पत्रकार भोजपुरे सम्मानित

काठमाडौं एक्सप्रेस

विराटनगर। शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्‍याउँदै शैक्षिक पत्रकारिताको विकासमा योगदान पुर्‍याएको भन्दै
हसिना मिडिया प्रा.लिद्वारा सञ्चालित सुन्दरहरैँचा अपडेटका सञ्चालक तथा पत्रकार शिव भट्टराई भोजपुरे ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान–२०८३’ बाट सम्मानित भएका छन्।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन), कोशी प्रदेशले शुक्रबार विराटनगरस्थित घिमिरे परिषद् भवन, पुष्पलाल चोकमा आयोजित दुईदिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन समारोहमा कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनाको हातबाट भोजपुरेलाई सम्मान प्रदान गरेको हो। सम्मानपत्रमा शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्‍याउँदै शैक्षिक पत्रकारिताको विकास तथा शिक्षा क्षेत्रको सकारात्मक पहिचान निर्माणमा पुर्‍याएको योगदानको उच्च कदर गरिएको उल्लेख छ।

नेशनल प्याब्सन कोशी प्रदेशले भोजपुरेको निरन्तर सक्रियता, समर्पण तथा जिम्मेवार पत्रकारिता यात्राको प्रशंसा गर्दै सम्मानसहित उज्ज्वल एवं सफल भविष्यको शुभकामना व्यक्त गरेको छ। सम्मान ग्रहण गर्दै पत्रकार भोजपुरेले आफ्नो पत्रकारिता यात्रामा प्राप्त यस सम्मानलाई थप जिम्मेवारी र उत्साहका रूपमा लिएको बताए। उनले शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, विद्यालयका उपलब्धि, विद्यार्थी तथा शिक्षकका प्रतिभा र नवीन अभ्यासलाई प्राथमिकताका साथ समाजसमक्ष पुर्‍याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि तथ्यमा आधारित र जिम्मेवार शैक्षिक पत्रकारितालाई निरन्तरता दिने बताए।

उनले सम्मानका लागि नेशनल प्याब्सन कोशी प्रदेश परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विद्यालय, शिक्षक, विद्यार्थी तथा शैक्षिक अभियन्ताका सकारात्मक प्रयासलाई सञ्चारमाध्यममार्फत अझ प्रभावकारी रूपमा उजागर गर्ने प्रतिबद्धता व्यक्त गरे। यसै अवसरमा नेशनल प्याब्सन कोशी प्रदेशले संगठनात्मक गतिविधि तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने अन्य व्यक्तित्वलाई समेत सम्मान गरेको थियो। सम्मानित हुनेमा नेशनल प्याब्सन कोशी प्रदेशका सचिव सुरेन्द्र चौधरी, सुनसरी जिल्ला संयोजक खगेन्द्र केसी, जिल्ला सचिव भनीरुद्र चौधरी र जिल्ला सदस्य प्रमोद यादव रहेका छन्।

त्यसैगरी शैक्षिक क्षेत्रका विषयलाई पत्रकारितामार्फत उजागर गर्न योगदान पुर्‍याएको भन्दै पत्रकार योगेन्द्र योगी र लिलानाथ गच्छदारलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ। उक्त दुईदिने तालिममा निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखहरूको सहभागिता रहेको छ। विद्यालयको आर्थिक तथा प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा लेखा प्रणाली, कम्पनीसम्बन्धी प्रक्रिया, सामाजिक सुरक्षा कोष तथा विद्यालय सञ्चालनसँग सम्बन्धित कानुनी र प्रशासनिक विषयमा विज्ञहरूले सहजीकरण गरिरहेका छन्।

तालिम उद्घाटन गर्दै सामाजिक विकास मन्त्री गीता तिम्सिनाले निजी विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताउँदै विद्यालय सञ्चालनमा पारदर्शिता, संस्थागत सुशासन तथा कानुनी प्रक्रियाको पालना आवश्यक रहेकोमा जोड दिइन्। कार्यक्रममा नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनाल, केन्द्रीय सदस्य नारायण ढकाल, नेशनल प्याब्सन मोरङका अध्यक्ष इन्द्रनारायण शाहसहित प्रदेश तथा जिल्ला तहका पदाधिकारी, निजी विद्यालयका संस्थापक, प्रिन्सिपल, लेखा प्रमुख तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Logo