९०% लक्ष्य पूरा गर्ने रणनीतिमा मन्त्री ज्वाला

९०% लक्ष्य पूरा गर्ने रणनीतिमा मन्त्री ज्वाला

काठमाडौं एक्सप्रेस

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बुधबार सडक विभागले ललितपुरकाे कुपोन्डोलमा आयोजना गरेको २ दिने आर्थिक वर्ष २०७९/८० को प्रगति समिक्षा गोष्ठी समापन कार्यक्रममा मनतव्य राख्नुहुँदै।तस्बिर: हरिराम भेटुवाल/ रासस

काठमाडौँ, ३२ साउन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्यसम्पादनलाई कर्मकाण्डी नभएर परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आयोजित कार्यसम्झौतासम्बन्धी कार्यक्रममा मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । “जबसम्म कार्यसम्पादन परिणाममुखी हुँदैन तबसम्म ९० प्रतिशत भौतिक प्रगति गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “नीतिगत र व्यक्तिगत समस्या भए आउनुहोस् छलफल गरौँ तर झारा टार्ने उद्देश्यले काम नगर्नुहोस् ।”

मन्त्री ज्वालाले सचिव केशव शर्मासँग तथा सचिव शर्माले विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभयो । कार्यसम्पादन सम्झौता गर्दै सचिव शर्माले राजनीतिक नेतृत्व सरल, सहज र परिणाममुखी भएकाले ९० प्रतिशतको लक्ष्य पूरा हुने बताउनुभयो । “काम गर्न कुनै प्रकारको बाधा छैन, हामी लक्ष्य भेट्टाउँछौँ”, सचिव शर्माले भन्नुभयो ।

यही साउन २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाबीच कार्यसम्पादन सम्झौता भएको थियो । प्रधानमन्त्रीसँगको सम्झौतापछि मन्त्री ज्वालाले सम्बन्धित पक्षसँग एक वर्षभित्र परिणाम ल्याउने गरी काम थाल्न सम्झौता गर्नुभएको हो ।

Logo