दलहरुबीच भएको सहमतिले खुसी छु : सभामुख

दलहरुबीच भएको सहमतिले खुसी छु : सभामुख

काठमाडौं एक्सप्रेस

काठमाडौं– सभामुख देवराज घिमिरेले झण्डै एक महिनादेखि अबरुद्ध संसद खुलाउन दलहरुबीच भएको सहमतिप्रति खुसी प्रकट गरेका छन् ।

सहमतिलगत्तै बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले सदन खोल्न आफूले पटक–पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग गरेको छलफलको स्मरण गरेका छन् । ‘प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग, प्रमुख सचेतकहरु र कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि हामीले धेरै पटक छलफल गरेका थियौं,’ उनले भने, ‘तर, संसदीय व्यवस्थामा दलहरु नै प्रमुख हुन् । आजको सहमतिले पनि सदन अवरोध पनि र खुलाउन पनि दलहरुबीच नै सहमति हुनुपर्ने कुराले प्रष्ट पारेको छ ।’

सभामुखले संसदीय गरिमालाई उचो राख्न सबैले प्रयत्न गर्नुपर्नेमा जोड दिँदै सांसदहरुबाट पनि सहयोगको अपेक्षा गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले दलहरुबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने र एक घण्टा ३० मिनेटको विशेष समयमा दलीय आधारमा सांसदहरुलाई बोल्न समय दिने निर्णय गरेको छ ।

Logo