९ वर्षपछि औषधि व्यवसायी संघको नेतृत्व हस्तान्तरण गर्दै मृगेन्द्रमेहर श्रेष्ठ

९ वर्षपछि औषधि व्यवसायी संघको नेतृत्व हस्तान्तरण गर्दै मृगेन्द्रमेहर श्रेष्ठ


काठमाडौं– नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले ९ वर्षपछि संघको नेतृत्व हस्तान्तरण गर्दैछन् । उनले असोज ८ गते नवनिर्वाचित अध्यक्ष प्रकाशकुमार खण्डेलवाललाई नेतृत्व हस्तान्तरण गर्दैछन् ।

९ वर्ष सफल नेतृत्व दिएर श्रेष्ठले आफ्नो जिम्मेवारी निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष खण्डेलवाललाई हस्तान्तरण गर्नेछन् । श्रेष्ठको पहिलो कार्यकालमा खण्डेलवाल आयाततर्फको उपाध्यक्ष र दोस्रो कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए ।

वीरगन्जमा भदौ २२ र २३ गते भएको राष्ट्रिय महाधिवेशनमा श्रेष्ठले आफ्नो पक्षधरता खुलाएनन् । निवर्तमान अध्यक्षकारुपमा उनले तटस्थ भूमिका निर्वाह गरेर बिदा भएका छन् ।

तीन दशकदेखि औषधि व्यवसायी संघमा निरन्तर नेतृत्वमा रहेका श्रेष्ठले संघको सर्वोच्च पदमा दुई कार्यकाल बिताएका छन् । संघको विधान अनुसार एक कार्यकाल तीन वर्षको रहन्छ । तर, उनले भूकम्प, नाकाबन्दी र कोभिड महामारीका कारण थप तीन वर्ष नेतृत्व लिए । ‘समयमा नै निर्वाचन गरेर म नेतृत्व हस्तान्तरण गर्ने योजनामा थिएँ,’ उनी भन्छन्, ‘परिस्थितिले कार्यकाल लम्ब्याउनुपर्ने अवस्था रह्यो ।’

वीरगन्जमा भदौ २२ भएको राष्ट्रिय अधिवेशन उदघाटन कार्यक्रममा पनि श्रेष्ठले आफ्नो कार्यकालको समीक्षा गर्दै मूल्यांकन गर्ने जिम्मा आफ्ना देशभरका सदस्यलाई दिएका छन् ।

‘संघमा मेरो दोस्रो कार्यकाल पूरा हुँदै गर्दा म तीन वटा क्षणहरु सम्झन चाहन्छु । पहिलो कार्यकालमा मेरो नेतृत्वमा औषधि व्यवसायीहरुले महाभूकम्प र नाकाबन्दीको सामना गरेका थियौं भने दोस्रो कार्यकालको अधिकांश समय कोभिड महामारीविरुद्ध लड्नुपर्ने बाध्यात्मक परिस्थिति आयो,’ उनले उपराष्ट्रपतिको उपस्थितिमा भएको कार्यक्रममा वीरगन्जमा भनेका थिए, ‘महाभूकम्प, नाकाबन्दी र कोभिडविरुद्धको लडाइँमा साथ दिनुभएकोमा सबै व्यवसायीहरुलाई सम्झन चाहन्छु । कठीन परिस्थितिमा कालोबजारी हुनबाट व्यवसायलाई जोगाएर व्यवसायिक शीर उचो बनाउन सहयोग गर्नुभएकोमा आज देशभर रहनुभएका ३२ हजार व्यवसायी बधाईका पात्र हुनुभएको छ ।’ वार्षिक ६५ अर्ब कारोबार भइरहेको औषधि व्यवसायमा अहिले हजारौंले रोजगारी पाएका छन् ।

आफ्नो नेतृत्वमा भएका दुइटै राष्ट्रिय अधिवेशनमा उपराष्ट्रपतिलाई उभ्याएर संस्थाको उचाइ बढाउन श्रेष्ठले योगदान दिएका छन् । संघमा कुनै राष्ट्रिय अधिवेशन ज्येष्ठ सदस्यले उदघाटन गरेर पनि काम चलाइएको स्थिति थियो ।

१४ औं राष्ट्रिय अधिवेशन आफ्नो व्यक्तिगत जीवनको पनि संयोगको रहेको उनको भनाइ छ । ‘२०७२ सालमा पहिलो कार्यकाल मधेस प्रदेशको सिरहाबाट मैले अध्यक्षको नेतृत्व सम्हालेको थिएँ । दोस्रो कार्यकालको पूरा पनि मधेस प्रदेशबाटै गरेको छु,’ उनी भन्छन् ।

औषधि व्यवसायीहरु श्रेष्ठलाई सफल अध्यक्षको रुपमा चित्रित गर्दछन् । उनको कार्यकालमा औषधि व्यवसायीका मुद्दाहरु वार्ताबाट समाधान भएका छन् भने व्यवसायीलाई कालोबजारीको ‘ट्याग’बाट मुक्त गराएका छन् । अर्को महत्त्वपूर्ण कुरा, श्रेष्ठले संघका लागि पूरापूर समय दिएका थिए । नेतृत्वले समय दिएकै कारण संघले राम्रो नतिजा प्राप्त गरेको व्यवसायीको बुझाइ छ ।

श्रेष्ठको नेतृत्वमा महाभूकम्प, नाकाबन्दी र कोभिड महामारीमा फ्रन्टलाइनर औषधि व्यवसायीले समाजमा सकारात्मक छाप छाडेका छन् । भूकम्प र नाकाबन्दीमा खाद्य तथा इन्धनमा कालोबजारी हुँदा पनि औषधि व्यवसायीलाई उनले जोगाएका थिए । कोभिडमा पनि श्रेष्ठले औषधि व्यवसायीलाई सुरक्षा सावधानी सहित मैदानमा उतारेका थिए ।

‘२०७१ सालमा सिरहाको लहान र २०७६ सालमा कास्कीको पोखरामा भएको राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि करिव ९ वर्षपछि मैले संस्थाको मूल नेतृत्व हस्तान्तरण गर्ने क्षणमा आएको छु,’ उनी भन्छन्, ‘आजको यस क्षणमा चार दशकदेखि औषधि व्यवसायमा क्रियाशील हुँदै आएको र तीन दशकदेखि औषधि व्यवसायी संघका कुनै न कुनै जिम्मेवारीमा रहेर काम गरेको स्मरण गरिरहेको छु ।’

नवनिर्वाचित कार्यसमिति ।

सामूहिकतामा विश्वास गर्ने भएकाले ९ वर्षमा आफूले गरेका सकारात्मक कार्य र सफलताहरु सिंगो टिमको रहेको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले आफ्नो कार्यकालमा संस्थागत सुधार, संरचनात्मक परिवर्तन र संस्थागत सुशासनको प्रयास गरेको बताउँछन् । ‘औषधि व्यवसायी संघ प्रदेश संरचनामा रुपान्तरण भएको छ भने महासंघमा लैजाने जग बसालेका छौं । आशा छ, नयाँ कार्यसमितिले महासंघमा रुपान्तरण गर्दै विभिन्न समूह र संस्था खडा गरेका व्यवसायीलाई एउटै छातामा ल्याउन सफल हुनेछ,’ उनी भन्छन् ।

औषधि व्यवसायी संघ प्रादेशित संरचनामा गएसँगै सबै प्रदेशमा प्रदेश समिति गठन गरेर अधिवेशन समेत भएका छन् भने ५४ जिल्लामा शाखा गठन भएका छन् ।
औषधि पसलको नवीकरण वार्षिकरुपमा गर्नुपर्ने व्यवस्थालाई श्रेष्ठको कार्यकालमा नै तीन–तीन वर्षमा नवीकरण गर्ने व्यवस्था कार्यान्वयन हुने क्रममा छ ।

रिफ्रेसर कोर्स सञ्चालनदेखि ओरिएन्टेसन कोर्ष तालिम उत्तीर्ण गरी प्राप्त प्रमाण–पत्रको आधारमा थोक पसल/फर्म दर्ता, औषधि व्यवसायी सहायक प्रशिक्षण तालिमलगायत श्रेष्ठको कार्यकालमा दूरगामी असर गर्ने कामले सफलता पाएका छन् ।

Logo