एकै दिन एक हजारभन्दा बढी युनिट रगत सङ्कलन

एकै दिन एक हजारभन्दा बढी युनिट रगत सङ्कलन

काठमाडौं एक्सप्रेस

काठमाडौँ,– सशस्त्र प्रहरी बल नेपालका इकाइमा एकै साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा आज एकै दिन एक हजार युनिटभन्दा बढी रगत सङ्कलन भएको छ ।

आफ्नो ‘२३औँ सशस्त्र प्रहरी दिवस २०८०’ को पूर्वसन्ध्यामा आज नेपाल एपीएफ अस्पताल बलम्बुको काठमाडौँको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय तथा बाहिनी मुख्यालय र मातहत इकाइमा आयोजना गरिएको रक्तदान कार्यक्रममा कूल एक हजार ८७ जनाले रक्तदान गरेका छन् ।

प्रधान कार्यालयअन्तर्गत एक सय १५ जना, नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी तथा मातहतबाट एक सय २०, २ नम्बर छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहत इकाईबाट दुई सय ४५, नम्बर ३ गढीमाईबाहिनी मुख्यालय मकवानपुर तथा मातहत इकाईहरुबाट एक सय ९८ जनाले रक्तदान गरेका सशस्त्र प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।

त्यस्तै नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की तथा मातहत इकाइबाट ७० जना, नंम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही तथा मातहत इकाइबाट एक सय ३१ जना, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत तथा मातहत इकाइबाट ३१, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली तथा मातहत इकाइबाट एक सय ११ जना र नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ तथा मातहत इकाइबाट २६ जनाले रक्तदान गरेका छन् ।

स्थापना दिवसका अवसर पारेर सशस्त्र प्रहरी र मातहतका युनिटले साताव्यापी मैत्रीपूर्ण खेल तथा विभिन्न कार्यक्रम जारी छ । सशस्त्र प्रहरीले भोलि विशेष समारोहबका बीच आफ्नो २३औँ स्थापना दिवस मनाउँदै छ ।

Logo