बाँसबारी जग्गा प्रकरण : चौधरी र थापालाई सरकारी वकिलको कार्यालय लगियो

बाँसबारी जग्गा प्रकरण : चौधरी र थापालाई सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं एक्सप्रेस

काठमाडौं, – बाँसबारीको सरकारी जग्गा हडपेर चौधरी ग्रुपको नाममा लगेको आरोपमा पक्राउ परेका अरूण चौधरी र अजितनारायण सिंह थापालाई म्याद थपका सरकारी वकिलको कार्यालय लगिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले हिरासतमा राख्न अनुमति लिन सरकारी वकिलको कार्यालय लगेको हो।

त्‍यहाँबाट उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीलाई आज बिहान काठमाडौँको लैनचौरबाट पक्राउ गरेको हो।

चौधरी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्। अरुण चौधरी व्यापारिक घराना चौधरी ग्रुप (सिजी) का अध्यक्ष रहेका नेपाली काँग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्।

चौधरीसँगै जग्गा हिनामिना गरेको आरोपमा अजितनारायणसिंह थापालाई पुतलीबाट पक्राउ गरिएको हो। थापा बाँसबारी छालाजुता कारखानाको तत्कालीन अध्यक्ष हुन्।

उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले नागरिक न्यूजलाई जानकारी दिए।

एमाले हुँदै काँग्रेसमा पसेर सांसद बनेका विनोद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप अन्तर्गतको ‘सिजी चाँदबाग रेसिडेन्सी प्रालि’ माथि बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हड्पेको आरोप छ।

यही मुद्दामा चौधरी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चौधरी ग्रुप माथि जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गरेर चाँदबाग स्कुल चलाइरहेको आरोप छ।

Logo