कार्यसम्पादन मूल्याङ्कनमा ललितपुरका तीन नगरपालिकामध्ये महालक्ष्मी पहिलो

कार्यसम्पादन मूल्याङ्कनमा ललितपुरका तीन नगरपालिकामध्ये महालक्ष्मी पहिलो

काठमाडौं एक्सप्रेस

ललितपुर- कार्यसम्पादन मूल्याङ्कनमा ललितपुरका तीन नगरपालिकामध्ये महालक्ष्मी पहिलो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार महालक्ष्मीले ३०.१५ अंक प्राप्त गरी ललितपुरका तीन नगरपालिकामध्ये जिल्लाकै पहिलो बनेको हो ।

जिल्लाका ललितपुर महानगरपालिका, गोदावारी र महालक्ष्मी नगरपालिकामध्ये महालक्ष्मी पहिलो भएको हो ।

गोदावारी नगरपालिकाले २७.३० र ललितपुर महानगरले २५.१८ अंक पाएको छ ।

ललितपुरका तीन गाउँपालिकामा भने महाङ्काल ३८.४४ अङ्कसहित पहिलो भएको छ । कोन्ज्योसोम ३४.८२ र बागमती २६.०१ सहित अन्तिम भएको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा-८ को तुलनामा कक्षा-९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने आयोगको तथ्यांक महाशाखाका उपसचिव दिनेश भट्टराईले बताए । यो मूल्यांकन स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धा भएको उनको भनाइ छ ।

समग्र स्थानीय तहमा सन्धिखर्क पहिलो

कार्यसम्पादन मूल्यांकनमा समग्र स्थानीय तहमध्ये भने अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंक सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो भएका छन् ।

Logo