विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्छु : सभामुख

विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्छु : सभामुख

काठमाडौं एक्सप्रेस

रामेछाप– सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्ने बताउनुभएको छ ।

रामेछापको गोकुलगंगास्थित गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई मंगलबार सम्बोधन गर्दै सभामुख घिमिरेले विधेयक पारित भएसँगै तीन तहको काम कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

‘शिक्षालाई समयअनुसार वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमुलक, रोजगारमूलक एवं जनमुखी बनाउन जरुरी छ,’ सभामुखले भन्नुभयो, ‘संसदमा विधाराधिन रहेको विद्यालय शिक्षा विधेयक पारित भएको अवस्थामा शैक्षिक गुणस्तर वृद्धि हुन सहयोग हुने अपेक्षा लिएको छु । विधेयक पारित गर्न म प्रयत्न गर्नेछु ।’

सभामुख घिमिरेले बदलिएको समय अनुसार शिक्षामा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षाले समाज रुपान्तरणको गति निर्धारण गर्ने भएकाले समाजको आवश्यकता अनुरुप व्यवहारिक, प्राविधिक र सर्वसुलभ शिक्षाका लागि नीतिहरु परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।

सभामुख घिमिरेले रामेछापको गोकुलगंगा क्षेत्र कृषि, पर्यटन र जनविद्युतको अपार सम्भावना रहेको क्षेत्र भएकाले राज्यले औद्योगिक विकास गर्न सक्ने धारणा राख्नुभयो ।

Logo