नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप भनिएको छैन : ज्ञवाली

नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप भनिएको छैन : ज्ञवाली

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी गरेका छन्।

नयाँ सत्ता समिकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनैपनि खालको वाह्य शक्तिको दौडधुप बिना नै नयाँ सत्ता समिकरण बनेको बताएका हुन्।

उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समिकरणलाई टिकाउने कुरा चुनौतिको रुपमा रहेको समेत स्वीकार गरे। उनले वाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए।

उपमहासचिव ज्ञवालीले भने, ‘गएको १ वर्षमा देशले धेरै नै मूल्य चुकायो। पछिल्लो समय नेकपा माओवादी केन्द्रले, प्रधानमन्त्री स्वयंले त्यो बोध गर्नुभयो कि अब यो बाटोबाट अगाडि बढ्न सकिँदैन भनेपछि हामीले गरेका केही सचेतन प्रयासहरु र उहाँहरु भित्र पनि अब नेपाली काँग्रेससँगको सहकार्य सुविधाजनक छैन । र यसले कुनैपनि परिणाम दिँदैन भन्ने भएपछि उहाँहरु पनि नयाँ सहकार्यमा जोडिन तयार हुनुभयो। अब विगतमा भन्दा तपाईहरुले देख्नुहुन्छ–यो सहकार्यका निम्ति कुनै वाह्य शक्तिहरुको दौडधुप भएको देखिएन । एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो ।

भन्नुको तात्पर्य चाहीँ यो स्वदेशकै पात्रहरुले, स्वदेशकै प्लेयरहरुले निर्माण गरेको एउटा सहकार्य हो। अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौति हामीसँग छ । किनभने देशको परिस्थिति धेरै नै गम्भिर छ ।

हामी हिजोसम्म प्रतिपक्षमा भएर अथवा अहिले हामीले नेतृत्व नगरिरहेको भएर त्यसो भनेको होइन कि यथार्थमै देशका सबै आयामहरु बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु यी सबैमा एउटा ठूलो संकट छ। यो संकट र यो निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई केन्द्रविन्दुमा राखेर हामी अगाडि बढिरहेका छौं।’

Logo