घरायसी प्रयोजनका वस्तुको निकासी, पैठारी गर्दा महसुल पूर्णतः छुट हुनुपर्छ : मनिष झा

घरायसी प्रयोजनका वस्तुको निकासी, पैठारी गर्दा महसुल पूर्णतः छुट हुनुपर्छ : मनिष झा

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले घरायसी प्रयोजनका वस्तुको निकासी, पैठारी गर्दा महसुल पूर्णतः छुट दिनुपर्ने प्रस्ताव गरेका छन् । भन्सार सम्बन्धी ऐन संशोधन विधेयकमा उनले यस्तो व्यवस्था थप गर्नुपर्ने बताएका हुन् ।

हाल एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल लाग्ने व्यवस्था छ । यस्तो व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकहरूलाई समस्या परेको भन्दै सांसदहरूले संसद्मा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

यही बेला रास्वपाका सांसद झाले घरायसी प्रयोजनका वस्तुको निकासी र पैठारीमा महसुल पूर्णतः छुट दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विधेयकको दफा १८ मा सरकारले कुनै वस्तुको निकासी वा पैठारीमा लाग्ने भन्सार महसुल पूर्ण वा आशिंक छुट दिन सक्ने व्यवस्था छ । भन्सार महसुल छुट सम्बन्धी सूचना सरकारले राजपत्रमा प्रकाशन गर्नुपर्ने हुन्छ । यो सुविधा घरायसी प्रयोजनका वस्तुको निकासी र पैठारी गर्नेलाई दिइनुपर्ने प्रस्ताव सांसद झाले गरेका हुन् ।

सांसद झाले प्रस्ताव गरेका छन्, ‘नेपाल सरकारले सीमित मूल्य र वस्तु निर्धारित गरी घरायसी प्रयोजनको लागि वस्तुको निकासी र पैठारीमा लाग्ने महसुल पूर्ण रुपमा छुट दिन सक्नेछ ।’

Logo