फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेसँगै विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर बन्यो काठमाडौँ उपत्यका

फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेसँगै विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर बन्यो काठमाडौँ उपत्यका

काठमाडौं एक्सप्रेस

काठमाडौं, – काठमाडौँ विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेसँगै विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो।

लगातारको धुलोधुँवा र डढेलो कारण काठमाडौँ उपत्यकाको प्रदूषणको दर उच्च तहमा पुगेको हो।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले बिहान १० बजे काठमाडौँको प्रदूषणको दर १७७ मापन गरिएको छ। जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ।

यस्तै विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरमा दिल्ली रहेको छ। दिल्लीको प्रदूषण तह १९७ रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा ठूलो वर्षा हालसम्म नभएका कारण प्रदूषणको तह घट्न सकेको छैन।

मौमसविद् प्रतिभा मानन्धरका अनुसार आज दिनभर जसो काठमाडौँको मौसम बदली भइरहने छ। घाम छायाँ भइरहने हुँदा आज चर्को घाम लाग्ने सम्भावना नरहेको उनले बताइन्।

उनका अनुसार काठमाडौँको स्थानीय प्रदूषणका साथै देशका विभिन्न स्थानमा लागेको डढेलो र पश्चिमी वायुको प्रभावका कारण काठमाडौँको प्रदूषणको स्तर घट्न सकेको छैन।

उनले आजपनि काठमाडौँ उपत्यकाको मौसम बदली भई अपराह्न पछि छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेपनि ठूलो वर्षा नहुँदा प्रदूषणको दर घट्ने सम्भावना न्यून रहेको बताइन्।

काठमाडौँ उपत्यकाको प्रदूषणको स्तर अहिले पनि मानव स्वास्थ्यका लागि खतराको स्तरमै रहेकाले उनले सकभर घरबाट बाहिर ननिकस्कन र निकस्नै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि सुझाव दिइन्।

केही दिन अघि काठमाडौँमा परेको पानीले प्रदूषणको तह घटेपनि आज बिहानबाट फेरि काठमाडौँको प्रदूषणको तह बढेको छ।

Logo