सार्वजनिक सम्पत्तिको क्षति आन्दोलनकारीबाटै भराउनेसम्बन्धीको कार्यविधि स्वीकृत

सार्वजनिक सम्पत्तिको क्षति आन्दोलनकारीबाटै भराउनेसम्बन्धीको कार्यविधि स्वीकृत

काठमाडौं एक्सप्रेस

काठमाडौं, – आन्दोलन र विरोध प्रदर्शनका क्रममा हुने सार्वजनिक सम्पत्तिको क्षति आन्दोलनकारीबाटै भराउनेसम्बन्धीको कार्यविधि स्वीकृत भएको छ ।

कार्यविधि स्वीकृत भएसँगै अब हुने आन्दोलन र विरोध प्रदर्शनबाट कुनै सार्वजनिक सम्पत्तिमा क्षति पुगेमा आन्दोलन वा प्रदर्शनको आयोजकबाट असुल उपर हुनेछ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आइतबार सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि–२०८१’ स्वीकृत गरेका छन् ।

संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्वक रुपमा भेला हुने हकको उपभोगलाई थप सुव्यवस्थित गर्दै सरकारी सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा हुने हानी नोक्सानीलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यविधि बनाइएको प्रस्तावनामा उल्लेख छ ।

यसरी हुने क्षतिको यथार्थ लेखाजोखा र मूल्यांकन गरी त्यसको परिपूरण गर्न समेत आवश्यक भएको भन्दै सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली–२०६५, को नियम ९ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि जारी गरेको उल्लेख गरिएको छ ।

प्रदर्शन तथा आन्दोलनका क्रममा हुने सार्वजनिक सम्पत्ति क्षतिको मूल्यांकनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजत्वमा क्षति मूल्यांकन समिति गठन हुनेछ । उक्त समितिको मूल्यांकनका आधारमा आन्दोलनकारीबाट क्षतिपूर्ति भराइने कार्यविधिमा उल्लेख गरिएको छ ।

Logo