संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं एक्सप्रेस

काठमाडौं । प्रतिनिधि सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।

यसैगरी सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् । त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने छन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यही बर्खे अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने छ ।

विगतमा बजेट अधिवेशनमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमै छलफल पूरा भइसकेको छ ।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आजका लागि आह्वान गरेका थिए ।

निर्वाध सदन सञ्चालनका निम्ति सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग मंगलबार बैठक गरेका छन् ।

Logo