पत्रकार गीता अधिकारी चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानीत

पत्रकार गीता अधिकारी चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानीत

काठमाडौं एक्सप्रेस

मकवानपुर, – पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर बिहीबार एक विशेष समारोहबीच नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’बाट सम्मान गरेको हो । उक्त पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गरेका थिए ।

दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुन् । गीतकारसमेत रहेकि अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि बजारमा आएको छ । मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहेकी अधिकारी मिलाप राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक र हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत हुन् ।

सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार–२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरिएको थियो । मकवानपुरमा रहेर अधिकारी लामो समयदेखि छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय हुन् । हेटौंडाबाट कान्तिपुर टेलिभिजनका लागि पत्रकारिता गरिरहेकि अधिकारी चलचित्र पत्रकार संघ मकवानपुर शाखाका संस्थापक सहसचिव पनि हुन् ।

यस्तै, संघले प्रदान गर्ने कलाकर्मी सम्मान २०८१ गायक तथा कलाकार कोशिस क्षेत्री र कलाकार ध्रुव न्यौपानेलाई प्रदान गरिएको छ । मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेकाहरूलाई यस विधामा सम्मान गर्दै आइरहेको संघका अध्यक्ष कपिल खड्काले जानकारी दिए ।

सोही अवसरमा चलचित्र पत्रकार संघ नेपालको हेटौंडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशाला कार्यक्रमलाई साथ सहयोग गरेका मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसा–पत्र प्रदान गरिएको छ । संघका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख आतिथ्यता थिए ।

Logo