काठमाडौँ, – सरकारले दलित समुदायको लागि पहिलो पटक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमानले आज सङ्घीय संसद्को सुंयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै दलित समुदायको रोजगार सिर्जना गर्न “दलित विकास प्राधिकरण” स्थापनाका लागि रु २० करोड विनियोजन गरिएको बताएका छन् ।
दलित समुदायका लागि बजेट छुट्याइनु सकारात्मक भएको दलित अधिकारकर्मीहरुको प्रतिक्रिया छ । अधिकारकर्मी गणेश विकले दलित लक्षित बजेट उल्लेख गरिनु सकारात्मक कदम भएको बताएका छन् । उनले यो पर्याप्त भने नभएको प्रतिक्रिया दिए । विकले संविधानको मर्मअनुसार दलित अपेक्षित बजेट अझै आउन बाँकी रहेको बताए । “केही नहुनुभन्दा २० करोड पनि ठीकै हो”, उनले भने,“तर, यतिले मात्रै दलित समुदायको गहिरो घाउ निको पार्न सक्दैन ।”
आगामी आव २०८१÷८२ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न सशक्तीकरण कार्य गर्ने संरचना एकीकृत गरी दलित उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्थापन गरिने बताए । साथै दलित समुदायको रैथाने, सीप, ज्ञान र पेसाको आधुनिकीकरण गरी रोजगार सृजना, जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रु २० करोड विनियोजन गरिने उल्लेख गरेका छन् ।
अधिकारकर्मी धनकुमारी सुनारले घोषणा भएको बजेट राजनीतिकरण नभई कार्यक्रम सञ्चालन गर्न पाए लाभदायी हुने बताईन् । लेखक एवं अभियन्ता सुशील विकले बजेटले भूमिहीन दलितको कुरा समेट्न नसकेको धारणा राखिन् ।
प्रतिक्रिया